सुनको सिरानी हालेर नुनको खोजीमा पश्चिम म्याग्दी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । बहुमूल्य प्राकृतिक खजानाहरुलाई गर्भमा लुकाएर धौलागिरि हिमालको काखमा थचक्कै बसेको छ पश्चिम म्याग्दी ।

धवलागिरि, मंगला र मालिका गाउँपालिका भित्रसमेटिएको पश्चिम म्याग्दीको विविधतामय भूगोलमा समृद्धिका अनेकौं सम्भावनाहरु रहेका छन् । तर यहाँका यी सम्भावनाहरुले भिल्लाका देशमा मणीको नियति भोगिरहेका छन् ।

पश्चिम म्याग्दीका तीन गाउँपालिकाका ५३ हजार भन्दा बढी जनता यहाँका स्रोत,साधन,सम्पदा र सम्भावनाहरुको समुचित उपयोग नहुँदा वा गर्ने अवस्था वन्न नसक्दा सुनको सिरानी (आफ्नै ठाउँमा रहेका आयआर्जनका अथाह सम्भावना) हालेर नुनको खोजीमा संसारका विभिन्न मुलुकहरुमा पुग्न वाध्य छन् ।

म्याग्दीका ६ वटा स्थानीयतहहरु मध्ये धवलागिरी गाउँपालिका दुर्गम र विकट मानिन्छ । धवलागिरि गाउँपालिका साविकको गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविसलाई मिलाएर बनाइएको हो ।

पर्याप्त मात्रामा जडिबुटीको सम्भावना रहेको यस गाउँपालिकाको ४ नम्बर वडा मुदीमा संसारको सातौं अग्लो चुचुरो (८,१६७ मि.) धौलागिरी हिमाल पर्दछ । जडिबुटी उत्खनन् तथा प्रशोधन, तातोपानीका कुण्ड, बन्यजन्तु जनावरको अवलोकन, तालतलैया, झरना, मनोरम हिमश्रृङ्खला र कृषि तथा पशुपालनलगायत धवलागिरि गाउँपालिकाको प्रमुख सम्भावना हुन् ।

यहाँका वासिन्दाहरुको मात्रै होइन समग्र म्याग्दी जिल्ला र गण्डकी प्रदेशको आयमासमेत धनात्मक सावित हुने अथाह सम्पदाहरु यहाँ रहेका छन् । राज्यको झन्झटिलो नीति र सरोकारवालाहरुको उदासिनताका कारण ती सम्पदाहरुबाट स्थानीयले खासै लाभ भने लिन सकिरहेका छैनन् ।

भनिन्छ ‘सुनको सिरानी हालेर नुनको खोजिमा भौतिरिन्छन् धवलागिरिवासी ।’ भनाइमा आंशिक सत्यता रहेको छ । औषधी उत्पादन र आयुर्वेदिक क्षेत्रमा महत्वपूर्ण कच्चा पदार्थ मानिने जडिबुटी पश्चिम म्याग्दीमा पाइन्छन् ।

ADVERTISEMENT

बजारमा उच्च मागभएका कैयौं जडिबुटीका प्रजातीहरु पनि मालिका र धवलागिरि गाउँपालिकाका जंगलहरुमा रहेका छन् । यस्ता जडिबुटीहरु न्यून मात्रामा संकलन हुनेगरेको छ ।

म्याग्दी जिल्लाका न्यून आय र मानव विकास सूचांक पनि न्यून भएका स्थानहरु पनि यसै गाउँपालिकामा रहेका छन् । बेरोजगारीको अवस्था पनि अन्य गाउँपालिकामा भन्दा धवलागिरि गाउँपालिकामा बढी नै रहेको देखिएको छ । त्यसैले यस गाउँपालिकाले अविलम्व आफ्नो भूगोल र हावापानी अनुकूल भएको उत्पादनलाई विशेष स्थान दिन जरुरी रहेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताएका छन् । उनीहरुका अनुसार यस्ता उत्पादनहरु मध्ये जडिबुटी एक अत्यन्तै महत्वपूर्ण उत्पादन हो ।

जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका नि.प्रमुख चन्द्रमणी सापकोटाका अनुसार सतुवा खेती, टिमुर खेती, सिल्टीमुर खेती,चांवो खेती, विष विषमा खेती, खिरौला खेती, कटुको खेती,सुगन्धवाल खेती, अतिस खेती,निरविष खेती, दाँतेओखर खेती लगाएतका अन्न जडिबुटीहरु व्यावसायिक प्रयोजनका लागि यहाँ गर्न सकिन्छ। धवलागिरि क्षेत्रमा व्यावसायिक खेतीका लागि उपयुक्त जडिबुटीका प्रजातीहरुको व्यावसायिक खेती गर्न सक्ने हो भने म्याग्दी जिल्ला मात्रै होइन गण्डकी प्रदेश नै समृद्ध बन्न सक्ने सापकोटाको भनाइ छ ।

त्यसैगरी उच्च बजार माग भएका र यस गाउँपालिकामा प्रशस्त मात्रामा पाइने कैयौं सुगन्धित जडिबुटीहरुको सुगन्धित तेल उत्पादन गरी विक्री गर्न सकिन्छ ।“तितेपातीको तेल,वन गुलावको तेल,धसिंग्रेको तेल, धुपी,सुगन्धवाल,सानो चिमालोका सुगन्धित तेल उत्पादन गरी उच्च मूल्यमा विक्री गर्न सकिने प्रशन्त सम्भावनाहरु यहाँ रहेका छन्” सापकोटाले भन्नुभयो ।

सापकोटाकाअनुसार जंगली फलफूलबाट सिजनल वाइन उत्पादन गर्न सकिने सम्भावना पनि यहाँ रहेको छ । त्यसका लागि चुत्रो, जमानेमान्द्रो, जंगली अंगुर आदी जडिबुटीलाई प्रशोधन गरी प्राकृतिक मदिरा उत्पादन गर्न सकिन्छ । यी जडिबुटीको खेती तथा प्रशोधन कार्यले गाउँपालिकाको आन्तरिक आम्दानी ह्वात्तै बढाउनुका साथै प्रशस्त मात्रामा रोजगारी र्जिना पनि गर्न सकिने सम्भावना रहेको छ । जडिबुटी मार्फत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पनि ठूलो सघाउ पुग्ने सापकोटाले बताउनुभयो ।

त्यसैगरी धवलागिरि गाउँपालिका १ गुर्जाको पहरामा बहुमूल्य कार्ज स्टोनको खानी रहेको छ । उत्खनन्को अभावमा हिरा, मोति, सुन, चाँदीका गहनामा प्रयोग गरिने त्यो पत्थर त्यतिकै खेर गइरहेको उद्योग वाणिज्य संघ म्याग्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज