काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको १६औँ टाटा इभी नाडा अटो शो २०२४ मा पन्च इभीको बिक्री सुरु गरिएको हो ।
टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रहेको छ । उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउण्ड क्लियरेन्ससाथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुर्ई भिन्न ब्याट्री प्याक रहेका छन् । साथै गाडीमा ९०-डिग्रीको कोणमा खुल्ने ढोका, तीन सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।
नेपालका विभिन्न भूभागमा गरेको परीक्षणअनुसार गाडीले दुई सय ७० देखि दुई सय ९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा एक लाख ६० हजार किलोमिटर वा आठ वर्षसम्मको वारेन्टी रहेको छ । टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले भन्नुभयो, ‘नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलतापछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुसी छौँ । भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ र हामी पन्च इभीले धेरैभन्दा धेरै नेपाली ग्राहकको पनि मन जित्ने कुरामा पूर्ण विश्वस्त छौँ ।’
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो, ‘टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौँ । लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभीसँगै नेपाली बजारमा फेरि यही स्थान कायम गर्नेमा हामी विश्वस्त छौँ ।’
कम्पनीका अनुसार नेपालभरि टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ स्टेसन, एक सय ५० भन्दा बढी एसी फास्ट चार्जिङ, एक सय ५० भन्दा बढी एसी स्लो चार्जिङ नेटवर्क छ । त्यस्तै १६ इभी डेडिकेटेड सेवा सञ्जाल र २२ बिक्री केन्द्र रहेका छन् । यसैबीच बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरि सयभन्दा बढी टाटा पन्च इभी बुकिङ भएको कम्पनीले जनाएको छ ।
कम्पनीले केही दिनअघिबाट टाटा पन्च इभीको प्रि-बुकिङ सुरु गरेको थियो । नाडामा गाडी बुकिङ गर्ने ग्राहकले सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङ पनि पाउने कम्पनीले जनाएको छ ।






