काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूको सहभागिताबिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताउनुभएको छ । सत्तारूढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रस्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरूको सहभागिताबिना सम्भव नरहेको दाबी गर्नुभएको हो । आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरूको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पार्नुभयो ।
आफ्नो पार्टीको सहभागिताबिना संविधान संशोधन सम्भव होला भन्ने कुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो । ‘यो जुन हिसाबले संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ । के हो के ? बुझ्न सकिएको छैन’ उहाँले भन्नुभयोे, ‘हाम्रो सहभागिताबिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ । त्यो सम्भव छैन । हाम्रो संख्याले पनि दिँदैन म भन्छु तपाईंहरूलाई । हाम्रो संख्या र त्यसमा सहभागी नभएकाहरूको संख्याले यो संविधान संशोधन गर्न दिँदैन ।’
उहाँले संविधान संशोधन गर्ने सत्तारूढ कांग्रेस-एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहो¥याउनुभयो । उहाँले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो ।
नेपालमा दुई पार्टी सिष्टम आउने सम्भावना नै छैन : खनाल
प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिष्टम आउने सम्भावना नरहेको बताउनुभएको छ । कांग्रेस-एमाले नेतृत्वको सत्तारूढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनले उनीहरूले नेपालमा दुई पार्टी सिष्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गर्नुभएको हो । खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिष्टम ल्याउने कुरा कल्पनामा मात्रै सीमित हुने दाबीसमेत गरे । उहाँले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरूले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताउनुभयो । दुई ठूलो पार्टीले आफूहरूको सहयोगबिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने उहाँले बताउनुभयो ।
दुई महिनापछि पायो केन्द्रीय समितिले पूर्णता
महाधिवेशन सकेको करिब दुई महिनापछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । असार १६ देखि २० सम्म काठमाडौंमा भएको महाधिवेशनले अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भुसाललाई छान्दै केन्द्रीय समिति भने अधुरो छाडेको थियो । महाधिवेशनले सम्मानित नेता झलनाथ खनालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसयता केन्द्रीय समितिलाई पूर्णता दिन समाजवादीलाई झण्डै दुई महिना लाग्यो । यस्तोमा समाजवादीले आइतबार मात्रै यसअघि थप गरिएका २५१ केन्द्रीय सदस्यलाई शपथ गराएको हो । यससँगै समाजवादीको केन्द्रीय समिति ३४४ सदस्यीय भएको छ । महाधिवेशन भएको एक महिनापछि साउन १८ मा मात्रै ३४४ सदस्यीय केन्द्रीय कमिटी टुंगो गरेको थियो । त्यसबेला थपिएका २५१ जनालाई आइतबार शपथ खुवाइएको हो पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने भएको छ ।







Breaking news with related posts