
काठमाडौं । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना हुने भएको छ । युवालाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपद्वारा सशक्त बनाउन एक आदर्श प्लेटफर्मका रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको दाबी छ ।
युनिभर्सल कलेज र फोनेक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले बताउनुभयो । विद्यार्थीलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यम प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तन ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालालाई फराकिलो युवा स्रोतसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताइएको छ ।
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने बताइएको छ ।
आयोजकका अनुसार कार्यक्रममा गीत, संगीत, हास्यव्यंग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्नेछन् । कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताउनुभयो ।
कार्यक्रममा केवाइसी-२०२४ युथ आइकनबाट सुशान्त खत्रीलाई सम्मान गरिने भएको छ । त्यसैगरी अभिनेता राजेश हमाल, टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी, कथाकार साइग्रेस पोखरेल, डिजिटल सामग्री निर्माता पराक्रम राणा, र्यापर समीर घिसिङ, डान्सर, अभिनेता र कोरियोग्राफर सुशान्त खत्री, गायिका र गीतकार प्रजिना लामिछाने, मोडल तथा युट्युबर रियाशा दाहाल, हास्य कलाकार सुमन कोइराला, गायक र गीतकार स्वप्निल शर्मालगायतको प्रस्तुति रहनेछ । २०७६ देखि आयोजना हुँदै आएको यो पाँचौँ संस्करण हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच