काठमाडौं । सहकारी संस्थाको अर्बौं बचत हिनामिना सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समितिले धमाधम आरोपितको बयान लिइरहेको छ । आरोपितसँग बयान लिने काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकसँग बयान लिने काम लगभग सकिएको समिति सभापति सूर्य थापाले बताउनुभयो । उहाँका अनुसार समितिले नक्खु कारागारमा रहेका आरोपितसँग पनि बयान लिइसकेको छ । समितिले कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर सोधपुछ गरेको थियो ।
यस्तै, पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठलगायत आठवटा सहकारी संस्थासँग सम्बद्ध मधुसूदन पाठकसँग सोधपुछ गरेको उहाँले बताउनुभयो । समितिले धरान उपमहानगरपालिकाको नियमनमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि सोधपुछ गरेको छ । सोधपुछ सकिएसँगै अब प्रतिवेदन लेखनमा लाग्ने थापाको भनाइ छ ।
समितिले यसअघि माओवादी कार्यकर्ता दीपेशकुमार पुनसँग सोधपुछ गरेको थियो । शुक्रबार पुनसँग सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । समिति सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव पुनलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको थियो ।
प्रतिनिधि सभाले जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानविन गर्न संसदीय छानविन समिति गठन गरेको थियो । एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठित सात सदस्यीय छानविन समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्रप्रसाद बडू, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ । समितिलाई भदौ १५ गते सम्मको म्याद दिइएको छ ।
रास्वपाका सहमहामन्त्री आचार्यसँग सोधपुछ
संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यसँग सोधपुछ गरेको छ । समितिले आइतबार आचार्यसँग सोधपुछ गरेको हो । सिंहदरबारस्थित समितिको सभाकक्षमा आचार्यसँग सोधपुछ गरिएको समिति सचिवालयले जनाएको छ । सहमहामन्त्री आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप छ । साथै उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा दायर भएको अभियोगपत्रमा समेत उल्लेख गरिएको छ । अभियोग पत्रको कैफियतमा ‘संस्थाको बचत सदस्य उल्लेख गरी विपिनकुमार आचार्यको नाममा कुनै प्रकृया पूरा नगरी ऋण लगानी गरेको भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने सुनिता पुन’ भन्ने उल्लेख छ । अभियोग पत्रमा उल्लेख भएअनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको एनआइसी एसिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ । उनीबाट सहकारीलाई सावाँ ब्याज केही पनि प्राप्त नभएको आरोपपत्रमा उल्लेख छ । रास्वपाको सहमहामन्त्री आचार्य रवि लामिछानेसँगै ग्यालेक्सी टेलिभिजनमा काम गर्नुहुन्थ्यो । सरकारी ठगीमै जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई केही दिनभित्रै बोलाएर बयान लिने समितिको तयारी छ । लामिछानेलाई भदौ ६ वा ७ गतेसम्म बयानमा बोलाउने तयारी रहेको समितिकी सदस्य सांसद न्यौपानेले जानकारी दिनुभयो ।
थप एकजना फरार प्रतिवादी पक्राउ
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जोडिएका थप एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ बस्ने ४८ वर्षीय अनुज नकर्मी पक्राउ परेका हुन् । पर्साको वीरगञ्ज महानगरपालिका–१४ शिलपुर घर भएका अनुज पोखरा बस्दै आएका थिए । उनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
सुरुमा १९ जना प्रतिवादी बनाइएकोमा पछि सफ्टवयेर बरामद गरेर अनुसन्धान गर्दा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अनुज पक्राउ परेसँगै सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । हालसम्म सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व-सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आइटी प्रमुख भविश्वर अर्याललाई प्रहरीले पक्राउ गरेकोे छ । उनीहरू पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरलगायत ३८ जना फरार सूचीमा रहेका छन् । पोखरा महानगरपालिकाले वित्तीय विश्लेषणसहित तयार पारेको तीन हजार ४१९ पृष्ठको लामो प्रतिवेदन प्रतिवेदनमा १८ हजार सात सय बचतकर्ताको बचत अपचलन भएको खुलाइएको छ । सहकारीको ऋणी संख्या ४३३ रहेको उल्लेख छ । एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ सहकारीमा बचत हिनामिना भएको प्रतिवेदनममा उल्लेख गरिएको हो । प्रतिवेदन अध्ययनकै क्रममा रहेको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले एक अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा