काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको चौधरी ग्रुपले जनाएको छ ।
करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सिजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्ने दाबीसाथ सर्वोच्च गएको थियो । तर, सर्वोच्चले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको चौधरी ग्रुपले जनाएको छ ।
यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातिप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइजस्तै देखिने र्यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको चौधरीको ग्रुपको दाबी छ । यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको बताइएको छ ।







Breaking news with related posts