काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर निष्कासनको पर्खाइमा रहेको रिलायन्स स्पिनिङ मिल्सले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि ‘क्लिन चिट’ पाएको बताइएको छ । वित्तीय विवरणमा कुनै कैफियत नभएको भन्ने धितोपत्र बोर्डको पत्रका आधारमा सिआइबीले रिलायन्सलाई क्लिन चिट दिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार धितोपत्र बोर्डले साउन २४ गते पठाएको जवाफमा चित्त बुझाउँदै सिआइबीले रिलायन्स स्पिनिङविरुद्ध परेको उजुरी तामेलीमा राखिएकोबारे धितोपत्र बोर्डलाई साउन ३२ गते पत्र पठाएको थियो र बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने गरी प्रमाणसहित जवाफ प्राप्त भएकाले उक्त मुद्दालाई तामेलीमा राखिएको सिआइबीले पठाएको पत्रमा उल्लेख छ । बोर्डले प्रश्नको प्रतिउत्तरमा साउन २४ गते सिआइबीलाई ४८ पृष्ठ लामो जवाफ पठाएको थियो । वित्तीय विवरण कसुरपूर्ण रहेको भन्दै उजुरी परेपछि सिआइबीले बोर्डलाई जवाफ दिन लिखित निर्देशन दिएको थियो ।
कम्पनीलाई बुक बिल्डिङ प्रणालीमार्फत् आइपिओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय विवरणअनुसार कहीँ कतै कमजोरी नभएको भन्दै बोर्डले कम्पनीमाथि थप अनुसन्धान आवश्यक नरहेको भन्दै सिआइबीलाई लिखित जवाफ पठाएको थियो ।
बोर्डले सिआइबीलाई लेखेको पत्रमा भनिएको छ, ‘धितोपत्रसम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ र बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसिएट्सले रिलायन्सको २०८०/८१ को प्रथम त्रैमासको प्रतिसेयर आम्दानी ०.९६ पैसा र २०८०/८१ को प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक-पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सिआइबीले थप अनुसन्धान गरिरहन आवश्यकसमेत देखिँदैन ।’ कम्पनीका अनुसार अदालतमा परेको उजुरीबारे पनि अदालतले अन्तरिम आदेश नदिएर यसअघि नै रिलायन्सलाई आइपिओ निष्कासनको बाटो खुला गरिदिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता