काठमाडौं । नेपाली शिक्षा परिषद्ले आफ्नो ७४औं वार्षिकोत्सवको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५१ हजारसहित ‘गोपाल पाँडे असीम पुरस्कार २०८१’ अर्पण गरेको छ । यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि एक लाखसहित ‘लेबाल त्रिरत्न पुरस्कार २०८१’ अर्पण गरेको छ । दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कुटनीतीज्ञ प्रा.डा.जयराज आचार्यले विशेष समारोहमा अर्पण गर्नु भएको हो ।
कार्यक्रममा पुरस्कृत कवि प्रद्युम्न जोशीको बारे कवि एवं पत्रकार ठाकुर बेलवासेले र विद्यानाथ कोइरालाको बारे पूर्वप्रधानाध्यापक रमेशप्रसाद गौतमले बोल्नु भएको थियो । नेपाली शिक्षा परिषदकी अध्यक्ष सर्जक रमा शर्माको सभापतित्वमा आयोजित सोही कार्यक्रममा विद्यार्थी मन्दीप श्रेष्ठलाई नगद राशि पाँच हजारसहित ‘गोपाल पाँडे असीम उत्कृष्ट नेपाली पुरस्कार’ प्रदान गरिएको थियो । विद्यार्थी मन्दीप भानु माध्यमिक विद्यालय, दरबार हाइस्कुलमा ई.ई.परीक्षा २०८० मा सर्वोत्कृष्ट हुनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्राडा.जयराज आचार्य, अध्यक्ष रमा शर्मा, पुरस्कृतहरू विद्यानाथ कोइराला र प्रद्युम्न जोशी, वरिष्ठ कवि रमेश खरेललगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । संस्थाका कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा कवि विजय न्यौपानेले श्रद्धाञ्जलि कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकारहरू श्याम प्रधान, जयदेव भट्टराई, शैलेन्दुप्रकाश नेपाल, भाग्यशाली अधिकारी, त्रिभुवनचन्द वाग्ले, सुशील पन्त, बमबहादुर थापा जिताली, जगदीश्वर पोखरेल, सन्तु श्रेष्ठ, गंगा लिगललगायतको उपस्थिति थियो ।






