‘भुज्’ धातुमा ‘ल्युट्’ प्रत्यय लागेर भोजन शब्दको निर्माण हुन्छ (वाचस्पत्यम्) । ‘भोज्यरूपा च प्रकृतिर्यया भोजनमुच्यते’ अर्थात् जुन भोज्यरूपको प्रकृति छ, जो खानका निम्ति योग्य छ त्यो भोजन हो । भोजन हरेक प्राणीका निम्ति अनिवार्य रहन्छ । भोजनले नै जीवमा शक्ति प्राप्त हुन्छ सोही शक्तिबाट नै जीवन चल्ने गर्दछ । प्रकृतिमा हरेक प्रकारका भोजनको व्यवस्था पाइन्छ । एक जीव नै अर्को जीवको जीवन बनेको कुरा ‘जीवो जीवति जीवनम्’ भन्ने उपनिषदीय वाक्यबाट पनि जान्न सकिन्छ । स्वस्थ मानव जीवनका निम्ति भोजन आवश्यक भए पनि कस्ता भोजनले कस्तो ऊर्जा प्राप्त हुन्छ भन्ने बारेमा भोजनसम्बन्धी पौरस्त्य शास्त्रमा विशद् विवेचना गरिएको छ ।
भोजन के कसरी गर्नुपर्दछ ? भोजन गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ, कुन समयमा कस्तो भोजन उपयुक्त हुन्छ आदि भोजनसँग सम्बद्ध यावत् विषयवस्तुका वारेमा शास्त्रीय चिन्तन यो यो आलेखमा रहनेछ । स्नान नगरी भोजन गर्नुहुँदैन भनी बताइएको छ । ‘विना स्नानेन यो भुङ्क्ते स मलाशी न संशयः ।’ (वाधूलस्मृति, ७५-७६) स्नान नगरी खाएको भोजन विष्टा बराबर हुन्छ । ‘अस्नायी च मलै भुङ्क्ते अजपी पूयशोणितम् ।’ (पद्मपुराण, सृष्टि.५१।७४) गायत्री जप नगरी खाना खानुहुँदैन भनी बताइएको छ ।
पूर्व फर्किएर भोजन गर्नाले आयुमा वृद्धि हुन्छ, दक्षिण दिशा फर्किएर खानाले प्रेतत्व प्राप्ति हुन्छ, पश्चिम फर्किर खानाले रोग बढ्छ भने उत्तर फर्किर खनाले आयु र धनको प्राप्ति हुन्छ भनी बताइएको छ ।
यसै गरी अन्नलाई संस्कार गरिएको हुनुपर्दछ भनी बताइएको छ । संस्कारहीन (केलाई धोइ पखाली नगरेको अन्नको) भोजन गर्नु हुँदैन । यसका साथै बालक, वृद्धलाई खुवाएरमात्र आफूले भोजन गर्नुपर्दछ । भोजनपूर्व दान गर्नु पनि भनिएको छ : ‘अस्नाताशी मलं भुङ्ते अजापी पूयशोणितम् । अहुत्वा च कृमीन्भुङ्ते अदत्वा विषभेजानम् ।।’ (स्कन्दपुराण, प्रभासखण्ड, २०७।३५) यसै गरी ऊखु, पानी, दूध, कन्दमूल, पान, फल र औषधि स्नान नगरी पनि सेवन गर्न सकिन्छ । ‘इक्षुरापः पयो मूलं ताम्बूलं फलमौषधम् । भक्षयित्वाद्रपि कर्तव्याः स्नानदानादिका क्रियाः ।।’ (चाणक्यनीति, ८।२) ।
भोजन गर्नुपूर्व हात पाउ धुने एवं मुख कुला गर्नुपर्दछ :
‘हस्तपदौ मुखे चैव पञ्चाद्र्रो भोजनं चरेत् ।
पञ्चाद्र्रकस्तु भुञ्जानः शतं वर्षाणि जीवति ।।’
(पद्मपराण, सृष्टि.५१।८८) यसरी हातमुख धोई भोजन गर्ने सय वर्षसम्म बाँच्छन् वा आयु लामो हुन्छ (सुश्रुत संहिता, चिकित्साखण्ड, २४।९८) । भिजेका हातखुट्टासहित भोजन गर्नु तर शयन नगर्नु भनी बताइएको छ :
‘आद्र्रपादस्तु भुञ्जित नाद्र्रपादस्तु संविशेत् ।
आद्र्रपादस्तु भुञ्जाने दीर्घमायुरवाप्नुयात् ।।’ (मनुस्मृति, ४।७६, अत्रिस्मृति, ५।२५-२६) यसरी हातखुट्टा धोई मुख कुला गरी खाना खानाले र सुखा हातखुट्टासहित शयन गर्नाले दीर्घ आयु वा लामो आयु प्राप्त हुन्छ । अँध्यारोमा भोजन नगर्नू भनिएको छ :
‘शयनं चाद्र्रापादेन शुष्कपादेन भोजनम् ।
नान्धकारे च शयनं भोजनं नैव कारयेत् ।।’ (पद्मपुराण, सृष्टि. ५१।१२४) उज्यालो स्थानमा बसेर भोजन गर्नु नै श्रेयस्कर हुने शास्त्रको वचन पाइन्छ । जसले मनुष्यको शरीर स्वस्थ रहने गर्दछ । दिनमा दुईपटक भोजन गर्नु श्रेयस्कर हुन्छ भनी बताइएकोछ :
‘सायं प्रातर्मनुष्याणामशनं वेदनिर्मितम् ।
नान्तरा भोजनं दृष्टमुपवासी तथा भवेत् ।।’ (महाभारत, शन्तिपर्व, १९३।१०) यसरी दिनमा दुई पटक भोजन गर्ने व्यक्तिले उपवास गरे बराबरको फल प्राप्त गर्दछन् भनी बताइएको छ । दिनमा पहिलो पटक गरिएको भोजन देव भाग हो ।
दोस्रो पटक गरिएको भोज मनुष्य भाग हो, तेस्रो पटक गरिएको भोजन प्रेत वा दैत्यको भाग र चौथो पटक गरिएको भोजन राक्षस भाग हो भनी बताइएको छ :
‘देवानामेकभुक्तं तु द्विभुक्तं स्यान्नरस्य च ।
त्रिभुक्तं प्रेतदैत्यस्य चतुर्थं कौणपस्य तु ।।’ (पद्मपुराण । सृष्टि, ५१।१२९) सन्ध्या वा साँझको बेलामा पनि भोजन नगर्नू भनिएको छ ः ‘न सन्ध्यायां भुञ्जित’ (वसिष्ठस्मृति, १२।३३) विशेषतः प्रातः मध्य र रात्रिका तीत सन्ध्या हुन्छ । सूर्योदय हुनुपहिले र पछि, मध्याहृन हुनुपहिले र पछि र सूर्यास्त हुनुपूर्व र पर तीन घडी (१ घण्टा १२ मिनेट) को समयलाई सन्ध्या भनिएको छ : ‘सन्ध्या त्रिनाडीप्रमितार्कबिम्बादद्र्धोदितास्तादध ऊध्र्वमत्र ।’ (मुहूर्तचिन्तामणि, सङ्क्रान्तिप्रकरण, श्लो.७) यस्तो समयमा शयन एवं भोजन गर्न निषेध गरिएको छ । सन्ध्यको समय जपादि पुण्य कर्म गर्नका निम्ति उत्तम रहन्छ ।
गृहस्थीले भोजन गर्नुपूर्व पहिले देवता, ऋषि, मनुष्य, (अतिथि), पितृ र घरका स्थानीय देवताको पूजा गर्नुपर्दछ । अभ्यागत वा पाहुनालाई सर्वप्रथम भोजन गराएपछि मात्र आफूले भोजन लिनुपर्दछ । ‘देवानृषीन् मनुष्यांंश्च पितृृन् गृहृयाश्च देवताः । पूजयित्वा ततः पश्चाद् गृहस्थो भोक्तुमर्हति ।।’ (महाभारत, शान्तिपर्व, ३६।३४-३५) गृहस्थीले स्वगृहस्थ धर्म निर्वाहपूर्वक भोजन गर्नुपर्दछ भनिएको छ । भोजन सधैँ पूर्व वा उत्तर फर्किएर गर्नुपर्दछ । ‘प्राङ्मुखान्नभुञ्जीत ।’ (वसिष्ठस्मृति, १२।१५) ‘प्राङ्मुखोदङ्मुखो वापि’ (लघुहारीतस्मृति, ४।६५) यसरी दक्षिण र पश्चिम फर्किएर भोजन नगर्नू भनिएको छ : ‘प्राङ्मुखोदङ्मुखो वापि चैवान्यमना नरः ।’ (विष्णुपुराण, ३।११।८०) ।
पूर्व फर्किएर भोजन गर्नाले आयुमा वृद्धि हुन्छ, दक्षिण दिशा फर्किएर खानाले प्रेतत्व प्राप्ति हुन्छ, पश्चिम फर्किर खानाले रोग बढ्छ भने उत्तर फर्किर खनाले आयु र धनको प्राप्ति हुन्छ भनी बताइएको छ : ‘प्राच्यां नरो लभेदायुर्याभ्यां प्रेतत्वमश्नुते । वारुणे च भवेद्रोगी आयुर्वित्तं तथोत्तरे ।।’ (पद्मपुराण, सृष्टि. ५१।१२८) यसरी गरिने भोजन भीडभाडमा पनि गर्नुहुँदैन भनी बताइएको छ । एकान्तमा शान्त वातावरण भोजनका निम्ति उत्तम हुन्छ : ‘आहारनिर्हारविहारयोगाः सुसंवृता धर्मविदा तु कार्या ।’ (वसिष्ठस्मृति, ६।९) कुर्याद्विहारमाहारं निर्हारं विजने सदा । (शुक्रनीति, ३।११२) यसरी आहार र विहारमा एकान्त श्रेयस्मक रहन्छ ।
एउटामात्र वस्त्र लगाएर र पूरै शरीर ढाकोर पनि भोजन गर्न निषेध गरिएको छ : ‘नान्नमद्यादेकवासा’ (मनुस्मृति, ४।४५) खाना खाँदा शिर खुला रहनुपर्दछ भनिएको छ । जसले शिर ढाकेर खान्छन्, दक्षिण दिशातिर फर्केर खान्छन्, जुत्ता लगाएर खान्छन्, जसले खुट्टा नधोई खान्छन् यस्तो भोजन आसुर हुन्छ भनी बताइएको छ : ‘शिरो वेष्ट्य तु यो भुङ्ते दक्षिणभिमुखस्तु यः । वामपादकरः स्थित्वा तद् वै रक्षांशि भुञ्जते ।।’ (पाराशरास्मृति, १।५९) खानेकुरा काखमा राखेर पनि खानु हुँदैन भनिएको छ । ‘नोत्सङ्गे भक्षयेद् भक्ष्यम्’ (कूर्मपुराण, उ. १६।६३) । फुटेको थालमा वा भाँडाबाट भोज गर्नुहुँदैन : ‘न भिन्नभाण्डे भुञ्जीत’ (मनुस्मृति, ४।६५) ।
यसै गरी ओछ्यानमा बसेर पनि खाना नखानू भनिएको छ : ‘शयनस्थो न भुञ्जीत न पाणिस्थं न चासने ।।’ (मनुस्मृति, ४।४७) यसैगरी ओछ्यानमा बसेर पानी पनि नपिउनु भनिएको छ । बस्ने आसनमा थाली राखेर पनि भोजन गर्नु हँदैन । ‘शयनस्थो न चाश्नीयान्न पिबेच्च जलं द्विजः ।।’ (स्कन्दपुराण, ब्रहृम.धर्मा.६।७३) ठीक मध्यरात्रिमा, ठीक मध्याहृनमा, अजीर्ण भएको समयमा, भिजेका लुगा लगाएको अवस्थामा, अर्काको आसनमा बसेर, सुतेर, उठेर, टुटे फुटेका भाँडामा, भूमिमा र हातमा राखेर भोजन गर्नु हुँदैन : ‘नार्धरात्रे न मध्याहृने नाजीर्णे नाद्र्रवस्त्रधृक् । न च भिन्नासनगतो न शयनः स्थितोद्रपि वा । न भिन्नभाजने चैव न भूम्यां न च पाणिषु ।।’ (कूर्मपुराण, उ.१९।२०-२१)
खुला आकाशमुनि, मन्दिरमा पनि भोजन गर्नुहुँदैन । यसैगरी सवारीमा बसेर, जुत्ता लगाइलगाई, रुँदै र हाँस्दै पनि भोजन गर्नुहुँदैन भनी बताइएको छ : ‘नान्धकारे न चाकाशे न च देवालयादिषु । नैकवस्त्रस्तु भुञ्जीत न यानशयनस्थितः । न पादुका निर्गतोद्रथ न हसन् विलपन्नपि ।।’ (कूर्मपुराण, उ.१९।२२-२३) ग्रहण लागेको समयमा पनि भोजन नगर्नू भनिएको छ । ‘यो भुङक्ते ज्ञानहीनश्च ग्रहणे चन्द्रसूर्ययोः । आरुन्तुदं सा यात्येवाद्रप्यन्नमानाब्दमेव च । ततो भवेन्मानवश्चाद्रप्युदरे रोगपीडितः । गुल्मयुक्तश्च काणश्च दन्तहीनस्ततः शुचिः ।।’ (देवीभागवत, ९।३५।११-१३) ग्रहणमा भोजन गर्नेको फल अरुन्दन्तु नरकको भोगका साथै कान एवं दाँतको रोग हुन्छ भनी बताइएको छ ।
खानाको आलोचना गरेर खाए बल र वीर्य नष्ट हुन्छ भनी कूर्मपुराणमा बताइएको छ । भोजन गर्ने समयमा काम, क्रोध आदिलाई पनि त्याग्नुपर्दछ भनिएको छ । खाएर छोडेको अन्न पुनः खानु हुँदैन । यसरी जुठो खानेले चान्द्रायणको व्रत बस्नुपर्दछ भनिएको छ ।
जुठो अन्न कसैलाई भोजनका निम्ति दिनु हुँदैन र स्वयंले पनि खानु हँदैन । खाना ठिक्क खानु पर्दछ । जुठो मुख लिएर हिँड्नु पनि हुँदैन भनिएको छ : ‘नोच्छिष्टं कस्यचिद्दद्यान्नाद्याच्चैव तथान्तरा । न चैवात्यशनं कुर्यान्न चोच्छिष्टः क्वचिद् व्रजेत् ।।’ (मनुस्मृति, २।५६) थाकेको अवस्थामा विश्रम नगरी भोजन गर्नुहुँदैन । थकित अवस्थामा भोजन गर्नाले रोग बढ्छ भनिएको छ : ‘श्रमार्तस्य पानं भोजनं च ज्वराय छर्दये वा ।। (नीतिवाक्यामृतम् २५।४८) ।
यसै गरी दिसापिसाब लागिरहेको बेलामा पनि भोजन गर्नुहुँदैन : ‘न मूत्रोच्चारपीडितः ।’ (सुश्रुतसंहिता, चिकित्सा, २४।९८) आफूलाई माया नगर्ने व्यक्तिले दिएको भोजन पनि नखानु भनिएको छ । अपवित्र र भोकले पीडित सहयोगीले दिएको भोजन पनि गर्नुहुँदैन : ‘नाभक्ताशिष्टशुचिक्षुधितपरिचरो’ (चरकसंहिता, सूत्र ८।२०) बसेर नै भोजन गर्नुपर्दछ । हिँड्दै डुल्दै भोजन नगर्नू भनिएको छ । ‘खादान्न गच्छेत्’ (शुक्रनीति) एउटै थालमा धेरै जनाले नखानू पनि भनिएको छ । यसै गरी वर, पीपल, आँक, कुम्भी (क्यामुनो वा काफल), तिदुका पातमा पनि भोजन नगर्नू भनिएको छ । (बृहत्पाराशरस्मृति, ७।१२३) ।
भोजनका निम्ति काँसको थाल कचौरा उत्तम मानिएको छ । गृहस्थका निम्ति काँसका थालमा खानाले आयु, बुद्धि, यश, बल वृद्धि हुन्छ भनी बताइएको छ : ‘एक एव तु यो भुङ्ते विमले कांस्यभोजने । चत्वारि तस्य वर्धन्ते आयुः प्रज्ञा यशो बलम् ।।’ (ब्रहृमोक्त याज्ञवल्क्यसंहिता, २।१६१) आइतबारका दिन भने काँसको थालीमा नखानू भनिएको छ : ‘...कांस्यपात्रे च भोजनम् । आद्र्रर्कं रक्तशाकं च रवौ च परिवर्जयेत् ।।’ (ब्रहृमवैवर्तपुराण, श्रप्कृष्णखण्ड, ७५।६१) खाना तातो भयो भनी फू गरी फुकेर पनि खानुहुँदैन भनिएको छ । बायाँ हातले पनि भोजन गर्नुहुँदैन । ‘वामहस्तेन यो भुङ्क्ते पयः पिवति वा द्विजः ।
सुरापानेन तत्तुल्यं मनुः स्वायम्भुवोद्रव्रवीत ।’ (अत्रिस्मृति, ५।६-७) । अर्थात् बायाँ हातले दुध पिए पनि त्यो मदिरा पिए बराबर हुन्छ र यसैले दाहिने हातले नै खानुपर्दछ भनिएको छ : ‘भुञ्जानां तु सव्येन’ (महाहभारत, द्रोणपर्व, ७३।३८) झगडा भइरहेको छ भने पनि भोजन नगर्नू भनिएको छ । यसैगरी खाएको समयमा नबोल्नु पनि भनिएको छ : ‘आपोशाने वाचमने आद्रव्येषु च द्विजः । शब्दं न कारयेद्विप्रस्तं कुर्वन्नारकी भवेत् ।।’ (नारदपुराण, पूर्व, २७।८०) यसैगरी पस्किएको खानको निन्दा पनि गर्नुहुँदैन भनिएको छ । खानालाई हेरेर हर्षित एवं प्रशन्न हुनुपर्दछ भनिएको छ । सत्कारपूर्वक खाएको अन्नले बल तथा तेजको वृद्धि हुन्छ ।
खानाको आलोचना गरेर खाए बल र वीर्य नष्ट हुन्छ भनी कूर्मपुराण (उ.१२।६१) मा बताइएको छ । भोजन गर्ने समयमा काम क्रोध आदिलाई पनि त्याग्नु पर्दछ भनिएको छ । खाएर छोडेको अन्न पुनः खानु हुँदैन । यसरी जुठो खानेले चान्द्रायणको व्रत बस्नुपर्दछ भनिएको छ । पाच्य खाना खानुपर्दछ । रसयुक्त खाना पनि उचित मानिएको छ । सफा, स्वच्छ, हेर्दा पनि सुन्दर लाग्ने खाना खानु उपयुक्त हुने शास्त्रको वचन पाइन्छ । सात्विक खानामा जोड दिनु स्वास्थ्यका निम्ति हितकारी रहने कुरा पनि शास्त्रमा उल्लेख छ । खानाको अन्त्यमा दही नखानु भनिएको छ । यसैगरी रात्रिको समयमा भरपेट खाना नखानू पनि भनिएको छ । यी सबै व्यवस्था एक वयस्क व्यक्तिका निम्ति गरिएको हो ।
भोजन जीवको बाँच्ने आधारशक्ति हो । जसको अभावमा जीवको अस्तित्व रहँन सक्दैन । स्वस्थ जीवनका निम्ति भोजन अनिवार्य रहन्छ । मानवका निम्ति भोजनका विभिन्न व्यवस्था शास्त्रमा निर्देश पाइन्छ । स्वास्थ आहाराले स्वस्थ जीवन प्रदान गर्ने भएकाले पनि खानपानमा पनि विशेष विचार गर्न सके स्वास्थ्य राम्रो हुने शास्त्रीय धारण पाइन्छ । मानव कल्याणका निम्ति उचित भोजनको व्यवस्था शास्त्रमा उल्लेख पाइन्छ । स्वस्थ जीवनका निम्ति शास्त्रोक्त भोजन गर्नु शुभ रहने देखिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts