ढाका । बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ । ‘बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आहृवानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।
राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । ‘बैठकमा प्रोफेसर डा.मोहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको छ’, साहाबुद्दिनको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले जनतालाई राजनीतिक संकटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो संकटलाई पार गर्न अन्तरिम सरकारको द्रुत गठन आवश्यक छ ।’ बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेशन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनुहुनेछ ।
इस्लामले पत्रकारलाई बताएअनुसार साहाबुद्दिनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाउनुभएको छ । इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक ‘फलदायी’ भएको बताउनुभयो । हाल युरोपमा रहनुभएका युनुसले मंगलबार आफू अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताउनुभएको थियो ।
‘यदि बंगलादेशमा मेरो देश र साहसी जनताका लागि जिम्मेवारी आवश्यक छ भने म यो लिनेछु ।’ विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आहृवान गरेपछि उहाँले एक विज्ञप्तिमार्फत ‘स्वतन्त्र निर्वाचन’ को पनि आहृवान गर्नुभएको छ ।
आज स्वदेश फर्किँदै
बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस आज (बिहीबार) स्वदेश फर्किनुहुने भएको छ । बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव आएपछि माइक्रोफाइनान्सका संस्थापक युनुसलाई उहाँ आज ढाका फर्कने कार्यक्रम रहेको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल युरोपमा रहनुभएका ८४ वर्षीय युनुस आज दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उहाँको कार्यालयले जानकारी गराएको हो । बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको थियो । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आहृवानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको थियो ।
हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह
बंगलादेशको वर्तमान राजनीतिक अवस्थालाई सम्बोधन गर्न बंगलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए)का अध्यक्ष एएम महबुब उद्दीन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गर्नुभएको छ ।
एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौंको मृत्युका लागि उहाँहरू जिम्मेवार रहेको र उहाँहरूलाई बंगलादेश फिर्ता गरिनुपर्नेमा जोड दिनुभयो ।
बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बंगलादेशमा संकटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्नुभएको छ भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीको रिहाइको माग गर्नुभएको छ ।
बंगलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकारविरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बन्नुभएको थियो । यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद् विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न निर्देशन दिनुभएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements