गत १५ गतेको अंकबाट क्रमश:
अर्को एक वर्षको अवधिमा मुकुन्द र दिप्तिका मित्रमण्डलीको जीवनमा ठूलो उथलपुथल भयो । दिव्याले घ्वाँके छोरा जन्माई । नीना विवाह गरेर अमेरिका पुगी । प्राज्ञसँग विवाह गरेकी रम्भा पि.एच.डी.अध्ययन गर्न गएका श्रीमानसँग क्यानाडा पुगी । सबैभन्दा अविस्मरणीय र अप्रिय घटना भने कञ्चनको जिन्दगीमा घट्यो ।
संयोग भनौं या उसको चाहनानुसार भनौ, कञ्चनको विवाह सुन खान पल्किएको एउटा गतिछाडा सरकारी साँढेसँग भयो । उसले बैंकको नोकरी छोडी । विवाह भएको करिब आठ महिनापछि एक दिन श्रीमान्को अकाउन्टबाट ठूलो धनराशी निकाल्न बैंकमा पुगेकी थिई कञ्चन । त्यो दिन बैंकमा ग्राहकको अत्यधिक भिड थियो । क्यास काउन्टरका स्टाफलाई थप मद्दत गर्न काउन्टरमा दिप्ति पनि बसेकी थिई । त्यस्तैमा हातमा चेक लिएर अगाडि उभिन आइपुगेकी थिई कञ्चन । त्यो दिन कञ्चनले हीराको हार लगाएकी थिई । काउन्टरमा बसेकी दिप्तिको आँखा कञ्चनले साट्न दिएको पच्चीस लाखको चेकमा पर्नुको साटो उसको गलाको हारमा गएर अड्किए ।
निकै बेरसम्म कञ्चनले लगाएको हारलाई नियालेकी दिप्तिको मुखबाट स्त्रीसुलभ इष्र्याबस अनायास नै एउटा बाक्य निस्कियो– ‘सरकारी जागिरेकी श्रीमती अरे ! हीराको हार लगाएर बाहिर निस्किनु हुन्छ ? के भन्छन् मान्छेले ? यसरी गहनाको प्रदर्शन गर्दै हिँड्न थालिस् भने तेरो श्रीमान् कुनै दिन अख्तियारको फन्दामा फस्न बेरलाग्दैन नि !’ भन्दै क्यास गन्नमा लागी ।
एम.कम.को सर्टिफिकेटको आधारमा अष्ट्रेलिया जाने कुनै सम्भावना नदेखेको मुकुन्दले मनैमनमा सोच्ने गथ्र्याे ‘उच्च लाब्धांकसहित एम.बि.ए.उत्तीर्ण गरेकी दिप्तिको सर्टिफिकेटको आधारमा उच्च शिक्षाका लागि एप्लाई गर्न सकिन्छ । र, भिसाको ग्यारेन्टी पनि छ । अष्ट्रेलियामा दुई वर्ष आफूले श्रम गरेर दिप्तिलाई म्यानेजमेन्टको डिग्री दिलाउन सकें भने त्यसपछिका दिनहरूमा त डलर बर्सिन थाल्छ । अनि त के को कमी ? जिन्दगी मालामाल बन्नेछ !
क्यास निकालेर कञ्चनको हातमा दिँदै सोधी–‘के गर्छेस् यति धेरै रुपैयाँ ?’ क्षणभर अगाडिमात्र जागिरेकी श्रीमती भनेर होच्याउन प्रयास गर्ने दिप्तिको मुख बुजो लगाउने उद्देश्यले भनी– ‘स्विजरल्याण्ड जाने डलर साट्न राष्ट्रबैंक जानुछ ।’
त्यो घटनाको तीन महिना पनि नबित्दै कञ्चनको श्रीमानलाई अकूत सम्पति आर्जनको मुद्दामा दश वर्षको जेल सजाय भयो । गैरकानुनी ढंगले कमाएको सम्पत्तिले बनाएका काठमाडौंका दुईटा घर, गाडी, ब्याक ब्यालेन्स, नगद र जिन्सी सबै सरकारी ढुकुटीमा जम्मा हुन पुग्यो । मतियार ठहरिएकी कञ्चन भने तारिखमा छुटी । कञ्चनसंग घटेको घटनाको जानकारी पाउँदा दिप्तिको इष्र्यालु मनले ‘खुच्चिंग’ भन्दै खुशीयाली मनायो ।
शनिबारको छुट्टीको दिन थियो । मर्निंग न्यूजको हेडलाइन बनेको कञ्चनसम्बद्ध घटनाले मुकुन्दको मन खिन्न भयो । टिभी बन्द गरेर सोचमग्न मुद्रामा निकै बेरसम्म चुपचाप बसिरहृयो । सान्त्वना दिनेबाहेक अरू के नै गर्न सकिन्छ र ¤ भन्दै घरबाट बाहिर निस्किएको उसलाई छटपटी भइरहेको थियो ।
‘कता जाउँ ? दिप्तिकोमा ?’
‘भयो, हिजोमात्र त अफिसमा भेट भएको हो, आजै के जानु ?’
कता जाउँ भन्ने निर्णय गर्न नसकेर छटपटीमा बस चडेको मुकुन्द दिप्तिको घरनजिकको स्टपमा पुगेर ओर्लियो । मनको मिजास झन् बिग्रिएलाजस्तो भयो । उसलाई एकाएक सुर्तीको तलतल लाग्न थाल्यो । नजिकको पान पसलमा पुगेर सुर्ती किन्यो र त्यसमा चुन मोल्यो । केही बेरसम्म हत्केलामा घुस्सा लगाएर टकटक्याउँदै चुन–सुर्तीको धुलो उडायो । मोलेको सुर्तीलाई मुखमा हुर्यायेर पिच्च भुइँमा थुक्यो ।
त्यस्तैमा देखापरि हातमा तरकारीको झोला झुण्ड्याएर ऊ भएतिरै आउँंदै गरेकी दिप्ति ।
आकर्षणको मोह पनि कस्तो–कस्तो ! उधुम मच्चाएर उर्लिँदो दिप्तिको यौबन देख्दा क्षणभर अगाडि छटपटिँदै गरेको मुकुन्दको मन एकाएक शान्त भयो । ‘फक्रिएको फूलको थुंगाजस्तो सुन्दर रंगरूप, एउटा जवान पुरुषलाई पागल बनाउन के मात्रै छैन ऊसँग ? टपक्कै टिपौं परेको मोरीको रूप र यौवन कति मनमोहक’ भन्दै घुटुक्क थुक निल्यो ।
छेउमा आइपुगेकी दिप्तिले– ‘छ्या हौ ! खैनी खाएर जता पायो त्यतै थुक्ने, कस्तो व्यहोरा सक्किएको मान्छे होला ?’ भन्दै आँखा तरेर हेरी ।
‘यति सादा र सात्विक चिज, विचरा यो खैनीले तिम्रो के बिझाइँ गरेको छ र गाली गर्छ्यौ ?’ भन्दै दाँत निच्यायो मुकुन्दले ।
‘नराम्रो चिजलाई राम्रो नाम दिँदैमा त्यसको गुण–धर्म बदलिने हो कि क्या हो ? खराब कुरा सधैं खराब नै हुन्छ । आफ्नो बिग्रिएको मतिलाई घुमाइफिराइ सही हो भन्न कस्तो लाज नलागेको होला !’ भन्दै मकैका घोगामा लागेका सेता दाना जस्ता दाँत चम्काउँदै घरतिर लागी ।
ऊसँग विवाहको प्रस्ताव नै गरौला भन्ने कुराको त सोचसम्म थिएन मेरो मनमा । हेर छोरा, जुन सम्बन्धमा स्वार्थ लुकेको हुन्छ, त्यस्तो सम्बन्ध चिरस्थाई हुँदैन । दिप्तिलाई मैले नजिकबाट नियालेकी छु । आफ्नो इच्छापूर्तिको कुरालाई लिएर अत्यधिक महत्वाकांक्षी छे त्यो केटी । उसले तिमीलाई अष्ट्रेलिया जाने सिँडी बनाउन खोजेकीमात्र हो । त्यसको उलामालमा नलाग ।
दिप्तिलाई खुशी पार्ने प्रयासमा पछ्याउँदै गएको मुकुन्द उसलाई घरसम्म पु¥याएर पुनः पान पसलमा फर्कियो । एक बिडा पान मुखमा हालेर चपाउँदै पैदल घरतिर लागेको उसको आँखा अगाडि घुमिरहृयो दिप्तिको सुन्दर र चञ्चले हाँसोयुक्त मुहार ।
मुकुन्दको सहायक बनेर आएकी थिई दिप्ति । बैंकमा काम गर्ने अरू युवतीभन्दा भिन्न थिई ऊ । फरासिलो स्वभाव भएकी दिप्ति, विषयवस्तु जुनसुकै किन नहोस् सहकर्मीहरूसँग खुलेर बहस गर्न संकोच मान्दिनथी । दिप्तिको हँसमुख अनुहार र ठट्यौली स्वभावको मुग्ध कण्ठले प्रशंसा गर्ने मुकुन्द छोटो अवधिमा नै उसको फ्यान बन्यो ।
दिप्तिलाई भित्री मनदेखि नै प्रेम गर्न थालेको थियो मुकुन्द । दिप्तिले पनि नाइँ भनेकी थिइन । तर, वैवाहिक सम्बन्ध जोड्ने कुरामा भने दिप्तिले एउटा सर्त राखेकी थिई । त्यो शर्त थियो उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने । त्यो सर्त छिट्टो पूरा गर्न, ‘जोत्न अल्छी मान्ने गोरुको पुच्छर निमोठ्ने हली’ जसरी उसको पछि–पछि लागेकी हुन्थी । मुकुन्दलाई पनि दिप्तिको प्रस्ताव नराम्रो लागेको होइन ।
आफ्नो एम.कम.को सर्टिफिकेटको आधारमा अष्ट्रेलिया जाने कुनै सम्भावना नदेखेको मुकुन्दले मनैमनमा सोच्ने गथ्र्याे ‘उच्च लाब्धांकसहित एम.बि.ए.उत्तीर्ण गरेकी दिप्तिको सर्टिफिकेटको आधारमा उच्च शिक्षाका लागि एप्लाई गर्न सकिन्छ । र, भिसाको ग्यारेन्टी पनि छ । अष्ट्रेलियामा दुई वर्ष आफूले श्रम गरेर दिप्तिलाई म्यानेजमेन्टको डिग्री दिलाउन सकें भने त्यसपछिका दिनहरूमा त डलर बर्सिन थाल्छ । अनि त के को कमी ? जिन्दगी मालामाल बन्नेछ ! तर, अष्ट्रेलिया जानका लागि लाग्ने ठुलो धनराशीको जोहो गर्ने पो कसरी हो ?’ रंगिन सपनामा रंगमगिँदै हिँड्ने मुकुन्दको सपना प्रत्येक पटक त्यहीं पुगेर टुंगिने गथ्र्याे ।
रम्भा आफ्नो प्राज्ञ श्रीमानसँग क्यानाडा गएको खबर सुनेको दिनदेखि दिप्तिलाई छटपटी हुन थालेको थियो । आफ्ना बाबुको हैसियत अष्ट्रेलिया जाने खर्चको जोहो गर्न नसक्ने भएका कारण दिप्तिले मुकुन्दलाई अष्ट्रेलिया जाने कुरामा दबाब बढाउँदै गई । मुकुन्दले दिप्तिको प्रस्ताव बाबुआमा समक्ष्य एक–दुईपटक राखेको भए पनि उनीहरूले ठाडो कान लगाएका थिएनन् ।
सत्तरी वर्ष नाघेका मुकुन्दका बाबु दिव्यराज रिटायर्ड सरकारी जागिरे हुन् । काठमाडौंमा एउटा तीनतले घर थियो उनको । दुई तला भाडामा लगाएका थिए । तेस्रो तलामा बुढाबुढी र मुकुन्द बस्ने गर्थे ।

एक दिन दिव्यराजले भने ‘हेर मुकुन्द, यसअगाडि पनि मैले धेरैपटक सम्झाएँ, तैंले सुनिनस् । विवाह भन्ने कुरा उमेरमै गर्नुपर्छ । तीस वर्षको हुन लागिस्, अब विवाह गर् छोरा ।’
बाबुको कुरा सुन्दा, आफ्नो कुरा राख्ने उचित समय यही हो भन्ने ठानेको मुकुन्दले, ‘विवाहका लागि केटी त तयार छ । तर, एउटा कुराले अड्किएको छ बुबा’ भन्दै बाबुको अनुहारमा हे¥यो ।
‘के कुराले रोकियो भन् न त ?’
‘मेरो विवाह, अष्ट्रेलिया जान पाउने भएमात्र हुन्छ नत्र हुँदैन ।’
‘यो कस्तो सर्त हो ?’ भन्दै झस्किएका बुढाबुढीले एकअर्कोलाई हेराहेर गरे ।
दिव्यराजले भने ‘साधन सपन्नताको सपना देखेरमात्र जीवन सुखी हुँदैन छोरा । जीवन भनेको सम्बन्धको संसार हो । जीवन सुखी र खुशी पारिवारिक सुसम्बन्धले मात्र हुन्छ । बस्ने बास छ, खाने गाँस छ । हातमा एम.कम.को डिग्री छ । महिनाको सत्तरी हजार कमाइ हुने अधिकृतको जागिरलाई सानु भन्न मिल्दैन । थप उन्नति गर्नका लागि देशभित्रै अवसर नभएको पनि होइन । अनि किन जानु प¥यो अष्ट्रेलिया ? के अष्ट्रेलियामा बोटबाट रुपैयाँ टिप्न पाइन्छ र ? त्यहाँ पनि त श्रम नै गर्नुपर्छ । त्योभन्दा ठूलो कुरा हो त्यहाँ जान लाग्ने तीस लाख रुपैयाँको जोहो कसरी गर्ने ?’
मुकुन्दले अनायास नै, ‘यो घर बैंकमा धितो राखे भै’हाल्यो नि ।’ भन्दा केही बोल्न नसकेका दिव्यराजले आफ्नी श्रीमती गंगाको अनुहारमा हेरे ।
गंगाले सम्झाउने प्रयास गर्दै भनिन् ‘यो घर बाबुको जिन्दगीभरिको कमाइ हो छोरा । यही घरको भाडा, बुबाको पेन्सन र तिम्रो जागिरको कमाइले घर खर्च चल्दैछ । आफू बस्ने यही घर धितो राख्दा, समयमा ऋण तिर्न नसकेर लिलाम भयो भने यो बुढेसकालमा हाम्रो के हालत होला, भन त छोरा ?’
‘हुन्छमात्रै भन्नुस न, ऋण त म तिरिहाल्छु नि ! तपाईंहरूले नाइँ भन्नुभयो भने न म अष्ट्रेलिया जान पाउँछु न त दिप्तिले मसँग विवाह गर्छे’ भन्दै निन्याउरो अनुहार लगायो ।
दिप्तिको नाम सुन्दा केही कुरा सम्झिए जसरी झस्किएकी आमाले भनिन् ‘कुन दिप्तिको कुरा गरेको छोरा ? कहीँ मानध्वजकी छोरी त होइन ?’
‘हो आमा उही हो ।’
‘दिप्तिले तिमीलाई उल्क्याउँदैछ भन्ने कुराको शंका त मलाई लागेको थियो । तर ऊसँग विवाहको प्रस्ताव नै गरौला भन्ने कुराको त सोचसम्म थिएन मेरो मनमा । हेर छोरा, जुन सम्बन्धमा स्वार्थ लुकेको हुन्छ, त्यस्तो सम्बन्ध चिरस्थाई हुँदैन । दिप्तिलाई मैले नजिकबाट नियालेकी छु । आफ्नो इच्छापूर्तिको कुरालाई लिएर अत्यधिक महत्वाकांक्षी छे त्यो केटी । उसले तिमीलाई अष्ट्रेलिया जाने सिँडी बनाउन खोजेकीमात्र हो । त्यसको उलामालमा नलाग । भनेको मान छोरा, ऊसँग वैवाहिक सम्बन्ध जोड्ने कुरा नगर । तिम्रो भविष्य सुखी हुँदैन ।’
बाबुआमाले दिएका अर्ति–उपदेश कुन पुस्ताका छोराछोरीले सुन्न चाहेका हुन्छन् र मुकुन्दले सुनोस् !
- क्रमश:







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts