विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । दुई दलले बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने उहाँले चेतावनी दिनुभयो । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरूले ठान्नु दुर्भाग्यपूर्ण हुन्छ भनेर बुझ्दा राम्रो हुन्छ ।’
तर, आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको उहाँले प्रष्ट पार्नुभयो । अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउन संविधान संशोधन भए आफूहरूको पूर्ण समर्थन रहने उहाँको भनाइ थियो । ‘संविधान संशोधनमार्फत जनताले प्राप्त गरेको समावेशी, समानुपातिकको अधिकार कटौती भएमा सडकमा गएर प्रतिवाद गर्नेछौं,’ उहाँले भन्नुभयो ।
उहाँले पूर्ण समानुपातिक प्रणाली नेपालजस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा उपयुक्त हुने विचार व्यक्त गर्नुभयोे । प्रचण्डले भन्नुभयोे, ‘पार्टीको मान्यता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने अहिले पनि कायम रहेको छ ।’
अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको उहाँको जिकिर थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने कुरामा उहाँको जोड थियोे । उहाँले सरकार दलाल, बिचौलिया, उद्योग व्यवसायीहरूलाई राज्यको राजस्व छुट दिने पक्षमा गएको आरोप लगाउँदै सरकारले छुट दिए आफूले सो विषयमा बोल्ने बताउनुभयो ।
उहाँले उद्यमीहरूसँग विद्युत्को बाँकी रहेको राज्यको अर्बौं रकम छुट दिने चलखेल नगर्न सरकारलाई आग्रह गर्नुभयोे । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र लेखा समितिमा यस सम्बन्धमा आफ्ना सांसदहरूले सशक्त रूपमा कुरा राखेको पनि जानकारी दिनुभयो । लेखा समितिको सभापति विगतदेखि प्रतिपक्षीलाई दिने परम्परा रहेको उल्लेख गर्दै उहाँले माओवादी अहिले प्रमुख प्रतिपक्षी भएकाले सभापति दिनुपर्छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले दलाल, बिचौलिया, तथाकथित उद्योग व्यवसायीहरूलाई राज्यको राजस्व छुट दिने पक्षमा गएको छ । सरकारले यो दुःस्साहस नगरोस्, राज्यको अर्बौं सम्पत्तिलाई छुट दिने किसिमले चलखेल नगरोस् । मलाई सबै थाहा छ, मैले बोल्छु नै एकदिन । सरकार बिल्कुल गलत बाटोमा छ । सरकार नै बिचौलियाले बनाइदिएको छ । त्यसैले सरकारले उनीहरूको सेवा त गर्ने नै भयो । हामीलाई लेखा समितिको सभापति दिनु नै पर्छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिओस् । सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने त्यो दुर्भाग्य हुन्छ ।’
अध्यक्ष प्रचण्डले पुराना गल्ती सम्झिँदै पार्टी निर्माणको अभियानमा जुट्ने बताउनुभएको छ । आगामी निर्वाचनमा एक्लै लड्नेगरी पार्टी संगठन निर्माणमा उहाँले जोड दिनुभएको हो । ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु । म मात्रै होइन पदाधिकारी र तपाईंहरू पनि प्रदूषित हुनु भएको छ,’ उहाँले भन्नुभयो । ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रणसमेत गर्नुभयो । उहाँले पार्टीका स्थापित ‘एजेण्डा’ लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिंगो पार्टी लाग्नुपर्ने बताउनुभयो ।
यस्तै, मंगलबार पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई सम्बोधन गरेपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने प्रण गर्नुभएको छ । उहाँले सबै तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीका स्थापित ‘एजेण्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिंगो पार्टी लागिपर्ने उहाँको भनाइ थियो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा