दाङ । दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको करिब एक वर्षपछि डिपिआर स्वीकृतका लागि भारत पठाइएको छ । चारलेन सडक बिस्तारका लागि नयाँ डिपिआर तयार भएपछि स्वीकृतका लागि परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमार्फत भारत सरकारसमक्ष पठाएको हो ।
सडक सुधार तथा विकास आयोजनाले तयार गरेको नयाँ डिपिआरको फाइल भारतीय एक्जिम बैंकबाट स्वीकृत प्राप्तका लागि परराष्ट्र मन्त्रालयले भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाएको सडक सुधार तथा विकास आयोजनाका प्रोजेक्ट कोर्डिनेटर अर्जुनप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार भारतीय दुतावासले डिपिआरको फाइल भारत सरकारमार्फत एक्जिम बैंकलाई पठाउने र एक्जिम बैंकले हेरेर स्वीकृत गरेपछि घोराही–तुलसीपुर चारलेन सडक ठेक्का प्रक्रियामा जानेछ । अर्याललले ठेक्का तोडिएको एक वर्षपछि सडक विभाग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै साउनको पहिलो साता स्वीकृतिका लागि भारत पठाउने काम भएको बताउनुभयो ।
नयाँ डिपिआरअनुसार घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखोवा सम्मको २९ किलोमिटर सडक चारलेन बन्नेछ । त्यसैगरी, सडक निर्माणका लागि नेपालका निर्माण कम्पनीले पनि ठेक्का प्रक्रियामा सहभागी हुन पाउनेछन् । घोराही–तुलसीपुर चारलेन सडक विस्तारको काम लामो समयसम्म अलपत्र परेपछि सरकारले गतवर्ष भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो । उहाँले भन्नुभयो, ‘यो नेपाल र भारत सरकारबीचको कुरा हो । हामीले डिपिआर तयार गरेर पठाउने काम गरेका छौँ । कति समयमा स्वीकृत भएर आउँछ त्यो भन्न मिल्दैन । तर, परराष्ट्र मन्त्रालयले चासो दिएर लाग्यो भने चाँडै स्वीकृत हुनसक्छ ।’
ठेक्का सम्झौता रद्द गरेपछि घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौसम्म पूरै सडक चारलेन बनाउनका लागि नयाँ डिपिआर बनाउँदा समय लागेको प्रोजेक्ट कोर्डिनेटर अर्यालले बताउनुभएको छ ।
लामो समयपछि ठेक्का प्रक्रिया अघि बढाउनका लागि डिपिआरको फाइल स्वीकृतिका लागि अघि बढेको भन्दै अर्यालले भन्नुभयो, ‘पहिले घोराही–तुलसीपुर सडक कतै चारलेन र कतै दुईलेन बन्ने गरी डिपिआर बनेको थियो । अहिले त्यसलाई परिमार्जन गरेर पूरै सडक चारलेन बनाउने गरी डिपिआर तयार गरेर स्वीकृतिका लागि पठाएका छौँ ।’
यसअघि घोराही तुलसीपुर सडकखण्डअन्तर्गत कतै चारलेन र कतै दुईलेन सडक बनाउने गरी अघि बढाइएको थियो । त्यसलाई अहिले परिमार्जन गरेर नयाँ डिपिआर निर्माण गरिएको हो । डिपिआर नयाँ बन्दा लागत स्टिमेटसमेत बढ्ने भएकाले लगानीकर्ताको स्वीकृतिका लागि डिपिआर पठाइएको सडक सुधार तथा विकास योजना कार्यालय दाङका प्रमुख सिनियर डिभिजन इञ्जिनियर विवशबाबु सदादेवले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख सदादेवका अनुसार लगानीकर्ताले नयाँ डिपिआर स्वीकृत गरेको अवस्थामा अबको दुई/तीन महिनामै ठेक्का लाग्ने बताउँदै भन्नुभयो, ‘चारलेन सडक विस्तारका लागि नयाँ डिपिआर तयार भइसकेको छ, भारतबाट स्वीकृत भएमा ठेक्का प्रक्रिया अघि बढ्नेछ । स्वीकृत नभएको खण्डमा केही परिमार्जन गर्दा केही समय फर्किनुपर्ने हुन सक्छ ।’
घोराही–तुलसीपुर चारलेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । ३० महिना भित्रमा काम सक्ने गरी भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता भएको थियो । तर, चौथोपटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेन । सुरुमा २०७८ साल जेठ ६ गतेभित्र काम सक्नुपर्ने सहमति थियो तर त्यो अवधिमा ६ प्रतिशत मात्र काम भएको थियो ।
त्यसपछि २०७८ साल साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक र २०७८ साल पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर, फेरि पनि काम अघि बढ्न नसकेपछि तेस्रोपटक २०७९ साल वैशाख २९ गते सक्नेगरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । त्यसपछि चौथो पटकका लागि २०८० साल असारसम्म स्वतः म्याद थप गरिएकामा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएकाले सरकारले २०८० जेठ महिनामा ठेक्का रद्द गरेको थियो ।
भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार ३०१ अमेरिकी डलर (नेपालीमा एक अर्ब २३ करोड) मा निर्माण गर्न भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले ठेक्का पाएको थियो । जीर्ण बनेको सडक मर्मत गरेर सञ्चालन गरे पनि लामो समयसम्म ठेक्का प्रक्रियाको काम अघि नबढ्दा पुनः सडक जीर्ण बन्न थालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच