काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबारसम्म १४५ जनाको निधन भएको छ । मौसमजन्य विपदका कारण गत जेठ २८ गतेदेखि बुधबारसम्म १४५ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २४, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २४, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १४५ जनाको निधन भएको हो ।
साथै काठमाडौं उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १७४ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँचजना गरी जम्मा ७३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ ।
बाढीको कारण १८४ घर डुबानमा परेका छन् । यस्तै, २४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ६७२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ६३ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीले जनाएको छ । मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन् । बाढी, नदी कटान, डुबान र पहिरोका कारण जनजीवन प्रभावित हुने गरेको छ ।
उपत्यकाका विभिन्न स्थान डुबानमा
अविरल वर्षाका कारण मंगलबार राति काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परे । ती स्थानबाट डुबानमा परेकालाई प्रहरीले उद्धार गरेको थियो । मंगलबार राति परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका हुन् । बागमती, विष्णुमती, हनुमन्ते, धोबीखोला, नक्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको थियो ।
बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरू जलमग्न भएका थिए भने नदी किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् । काठमाडौंको बल्खुमा बाढीले बगाएर एकजनाको मृत्युसमेत भयो । काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खु खोलामा एकजनाको शव भेटिएको जानकारी दिनुभयो । बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण काठमाडौंको बागमती नदी किनार क्षेत्र टेकु, युएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र डुबानमा परेका थिए । त्यसैगरी, धोबीखोला क्षेत्र आसपासका घरहरूमा पनि बाढी पसको थियो । अनामनगर क्षेत्रमा बाढी पस्दा बुधबार बिहानसम्मै सडक आवागमनमा समस्या भएको थियो ।
काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार बेलुका बल्खु तरकारी बजार, कुलेश्वर क्षेत्र, सुकुमबासी बस्ती डुबानमा परेका थिए । भक्तपुरको मध्यपुरथिमी नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्र पनि बाढीबाट डुबानमा परेका थिए । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटार सम्मका ७० भन्दा बढी घर डुबानमा परेका थिए ।
ललितपुरका विभिन्न स्थान पनि डुबानमा परे । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार मंगलबार रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका-९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भयो । ललितपुर महानगरपालिका-२ सानेपा, वडा नं ९ शंखमूल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसको थियो । काठमाडौं महानगरपालिका महानगर प्रहरी बल÷विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले बाढीबाट प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने काम भएको बताउनुभयो ।
सतर्कता अपनाउन आग्रह
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार राति भारी वर्षा हुँदा बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नक्खु, बल्खु खोला लगायतमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले पनि बाढीको डुबान र जोखिम पर्ने क्षेत्रमा सचेत रहन आग्रह गरेको जानकारी दिनुभयो ।






