काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ भएको छ । नेपाल विद्युत् प्राधिकरणकोे सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको छ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । रघुगंगा गाउँपालिका-४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नम्बर ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको उहाँले बताउनुभयो ।
रघुुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अँधेरीखोलाको अडिट नम्बर २ जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमा संयुक्त रूपमा ‘स्विच’ थिचेर विस्फोट गराई ‘ब्रेक थ्रु’ गरेका हुन् ।
अडिट १ बाट आठ सय ७५ र अडिट २ बाट एक हजार चार सय ५८ मिटर सुरुङ निर्माण भएको छ । गत फागुनमै जोडिएको तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिट सुरुङलाई लाइनिङ (प्लास्टर) गर्ने काम भइरहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकोमा खुसी व्यक्त गर्दै आयोजना निर्माणमा सहजीकरण एवं समन्वय गरेको बताउनुभयो । रघुगंगा गाउँपालिका-३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेटदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो । सुरुङ ब्रेक थ्रु भएकोमा प्राधिकरण, प्रवद्र्धक, निर्माण कम्पनी, परामर्शदाता तथा जनप्रतिनिधिको सहयोगमा सुरुङ ब्रेक थ्रुसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७६ असार ८ गते पिप्लेस्थित अडिट नम्बर ३ बाट सुरुङ निर्माण थालेको थियो । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) बमोजिम राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० सालमा सम्पन्न हुनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएको सो जलविद्युत् आयोजनालाई आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । सिभिल ठेकेदार जेपीका आयोजना प्रमुख हरिश अग्रवालले अब एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको बताउनुभएको छ ।
प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षारोपण
नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवका अवसरमा देशभरका कार्यालयमार्फत् मंगलबार वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवाअन्तर्गतका विद्युत् उत्पादन गृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् । कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका प्राधिकरणले जनाएको छ ।
जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजना निर्माण गर्दा रुख काट्नेमात्र नभई रुख बिरुवा संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत् वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षारोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दिपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षारोपण कार्यको सुरुवात गर्नुभएको थियो । विद्युत् नियम आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतनबहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीले बिरुवा रोपण गरेका हुन् । अब्बा, आँप, सुन्तला, हलुवावेद, वेलपत्रलगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएको बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता