सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाउनुभएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले आक्रमण, अपहरण र हत्याको अभियोगमा दोषी ठहरिएका १०० भन्दा बढी अध्यागमन बन्दीलाई अदालतको आदेशपछि रिहा गर्न बाध्य भएको र यसका लागि विवादमा मुछिएका मन्त्रीलाई हटाउने दबाबमा परेको हो ।
अल्बानीजले गृहमन्त्री क्लेयर ओ निल र अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सलाई हटाएर उनीहरूलाई नयाँ जिम्मेवारीमा स्थानान्तरण गर्न लाग्नुभएको हो । प्रधानमन्त्री अल्बानिजले दुवै मन्त्रालयको जिम्मेवारीमा अनुभवी सरकारी समस्या समाधानकर्ता टोनी बर्कलाई अघि सार्नुभएको छ । रिहा गरिएका केही बन्दीलाई थप अपराधको आरोप लागेपछि लेबर पार्टीको सरकार बदनाम भएको थियो ।
पुरानो नीति अनुसार अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेका आप्रवासीहरूलाई कानुनी रूपमा अन्यत्र निर्वासित गर्न नसकेमा उनीहरूलाई अनिश्चितकालका लागि थुनामा राख्न सकिन्थ्यो । कतै नजाने र रिहाइको कुनै आशा नभएकाले धेरै जना वर्षौदेखि अस्ट्रेलियाली कारागारमा थुनिएका थिए । तर, नोभेम्बरमा उच्च अदालतको एक फैसलाले यो ‘गैरकानुनी’ भएको ठहर गर्दै २० वर्ष पुरानो द्विदलीय नीतिलाई उल्ट्याएको थियो र करिब १५० जनालाई रिहा गर्न बाध्य बनाएको थियो ।
रिहा भएकामध्ये ७० जनाभन्दा बढीलाई आक्रमण र अन्य हिंसात्मक अपराधमा दोषी ठहर भएपछि भिसा दिन अस्वीकार गरिएको थियो भने सात जनालाई हत्या वा हत्याप्रयासको अभियोगमा दोषी ठहर गरिएको थियो । अस्ट्रेलियाले सन् १९९२ देखि बिना भिसाका नागरिकलाई अनिवार्य हिरासतमा राख्न सुरु गरेको थियो । ह्युमन राइट्स वाचको तथ्यांकअनुसार अस्ट्रेलियामा अध्यागमन सम्बन्धी विवादमा थुनामा परेका कैदीलाई औसत ७०८ दिन हिरासतमा राखिएको छ र एक सय २० भन्दा बढी व्यक्ति पाँच वर्षदेखि हिरासतमा छन् ।
भियतनाम, कम्बोडिया र चीनबाट डुंगाबाट ठूलो संख्यामा मानिसहरू आउने क्रम बढेपछि यसकोे प्रतिक्रियास्वरूप अष्ट्रेलियाले नयाँ कठोर सीमा नीति बनाएको थियो । तर, संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले यो नीतिलाई ‘स्वेच्छाचारी’ र ‘दण्डात्मक’ भनेको छ भने शरणार्थी पक्षधर अधिकार समूहले यसको आलोचना गरेका थिए । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts