बगदाद । इराकले आइतबार टर्कीबाट नयाँ विद्युत् लाइनमार्फत उसको उत्तरी प्रान्तमा विद्युत् ल्याउने बताएको छ । दीर्घकालीन विद्युत् कटौतीलाई कम गर्न मुलुकको ऊर्जा स्रोतहरूमा विविधता ल्याउने लक्ष्य रहेको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री कार्यालयको विज्ञप्तिअनुसार ११५ किलोमिटर लाइन मोसुलको पश्चिम किसिक विद्युत् संयन्त्रसँग जोडिएको छ र टर्कीले इराकको उत्तरी प्रान्तहरू निनवेह, सलाह अल-दिन र किर्कुकमा तीन सय मेगावाट विद्युत् उपलब्ध गराउनेछ ।
प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले नयाँ लाइन इराकलाई छिमेकी मुलुकहरूसँग जोड्ने ‘रणनीतिक’ कदम भएको बताउनुभयो । विद्युत् मन्त्रालयका प्रवक्ता अहमद मौसाले लाइन आइतबारदेखि सञ्जालनमा आएको जानकारी दिनुभयो ।
दशकौंको युद्धले इराकको पूर्वाधारलाई दयनीय अवस्थामा छाडेको छ । भीषण गर्मीमा तापक्रम प्रायः ५० डिग्री सेल्सियससम्म पुग्दा विद्युत् कटौतीले अवस्था अझ खराब हुन्छ । कतिपय घरमा प्रतिदिन केही घण्टाका लागि मात्र विद्युत् हुन्छ र खर्च गर्न सक्नेहरूले फ्रिज र एयर कन्डिसनर चलाउन निजी जेनेरेटरको प्रयोग गर्दछन् ।
विशाल तेल भण्डारका बाबजुद इराक आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भर छ । इराक ऊर्जा आयातका लागि विशेषगरी छिमेकी इरानमा निर्भर छ तर इरानले नियमितरूपमा आपूर्ति कटौती गर्दछ ।
प्रधानमन्त्री सुदानीले बारम्बार विद्युत् कटौतीलाई कम गर्न इराकले ऊर्जा स्रोतहरूमा विविधता ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । इरानी ग्यासमा आफ्नो निर्भरतालाई कम गर्न बगदादले खाडी मुलुकहरूसँग आयातलगायत धेरै सम्भावनाको खोजी गरिरहेको छ । मार्चमा जोर्डनबाट इराकको दक्षिण-पश्चिममा अल-रुतबासम्म विद्युत् ल्याउनका लागि ३४० किलोमिटर विद्युत् प्रसारण लाइनको सञ्चालन सुरु भएको छ । रासस/एएफपी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता