✍️ मनोहर कार्की
नेपालको राजनीतिका शिखर व्यक्तित्व बी.पी. कोइरालाको आदर्श र मूल्यको राजनीति चीरकाल पर्यन्त स्मरणीय रहनेछन् । उहाँका वैचारिकता र उदार समाजवादी विचारधाराका सारले आयामिकता बोकेका छन् । बी.पी वैचारिकता र नेतृत्वका सवालमा राष्ट्रवादी समाजवादी चिन्तकका रूपमा स्थापित नाम हो । विश्व राजनीतिक परिवेशलाई अत्यन्त शुष्मतम् र गहिराइमा पुगेर विश्लेषण गर्नसक्ने र सान्दर्भिकता नेपालको भू-राजनीतिक पहिचानसहित उपयोग गर्ने खुबी भएका नेतामा बीपीलाई लिन सकिन्छ । नवऔपनिवेशिक तथा सैन्यशक्तिको आडमा राजनीतिक र वित्तिय प्रभुत्ववाद कायम गर्ने होडबाजी चलेको विश्व शीतयुद्धको समयमा सन्तुलित असंलग्न परराष्ट्रनीति अवलम्बन गरी नेपालको हितमा उपयोग गर्न सकियो ।
बी.पी कोइरालाले विसं २००७ सालको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन तथा तत्पश्चात १०४ वर्षीय जहाँनिया तथा निरंकुश राणाशासनको अन्य गरी प्रजातन्त्रको स्थापना भएपछिका दिनहरूमा नवस्थापित प्रजातन्त्रको संस्थागत विकासमा निभाउनु भएको नेतृत्वदायी भूमिका नेपालको राजनीतिक इतिहासमा विशेष महत्व राख्दछ । २०१७ सालको शाही कू पश्चातको अत्यन्त विषम परिस्थितिविच भारत निर्वासनका काल तथा २०३३ साल पौषमा राष्ट्रिय मेलमिलाप तथा एकताका नीति लिएर बी.पी कोइरालालगायत नेकाका शीर्ष नेताहरूको नेपाल आगमन तत्पश्चातका राजनीतिक जटिल मोड पार भयो । र विसं २०३६ सालको विद्यार्थी आन्दोलनको उभारले ल्याएको ऐतिहासिक जनमत संग्रहको राजनीतिक घटनाक्रमलाई मिहिन विश्लेषण गर्ने हो भने बीपीले नितान्त मूल्य र आदर्शको राजनीतिलाई केन्द्रमा राख्नु भएको दृष्टान्त पाइन्छ । प्रजातन्त्र स्थापना पछिका २००७ देखि २०१५ साल सम्मको संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गरी नेपाली कांग्रेस पार्टीको नेतृत्वमा बहुदलीय प्रतिस्पर्धा अनुसारको पहिलो संसदीय चुनावमा पार्टीलाई दुईतिहाइ बहुमतका साथ विजयी गराएर पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्नुभयो । मूलतः प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिको संस्थागत विकास र उन्नयनका लागि बी.पी कोइराला आफ्नो लौकिक जीवनको अन्तिम समयसम्म पनि दृढनिश्चयी, निर्भीक तथा निष्ठाका साथ लाग्नुभयो । तर, आजको समसामयिक राजनीतिमा कता-कता मूल्य र राजनीतिक संस्कारको खडेरी पर्न गएको छ । जसलाई निक्र्यौल्ने र छिचोल्न पथमा भए गरेका कमी कमजोरीलाई केलाउन सकिनुपर्दछ ।
मूलतः प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिको संस्थागत विकास र उन्नयनका लागि बी.पी कोइराला आफ्नो लौकिक जीवनको अन्तिम समयसम्म पनि दृढनिश्चयी, निर्भीक तथा निष्ठाका साथ लाग्नुभयो । तर, आजको समसामयिक राजनीतिमा कता-कता मूल्य र राजनीतिक संस्कारको खडेरी पर्न गएको छ ।
राष्ट्रिय मेलमिलाप नीतिको कुशल व्याख्याता र उपयोगको सोपानलाई जोड दिँदै राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएपछि यसको सान्दर्भीकताका सन्दर्भमा एक अपिल प्रकाशित गर्नुभयो । जसका भावना र मर्म संवेदशील र मुलुकको हितमा छ । यसै अपिलमा उल्लेख भए अनुसार-‘प्रजातन्त्रको प्राप्ती र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपाली कांग्रेसले लिनु परेकोछ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौं भने हामी एक पक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौं । र यदि हामीले प्रजातन्त्र प्राप्तिमामात्र जोड दियौं भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन् । त्यत्तिमात्र होइन, यस्तो एक पक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौं । त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा ग¥यौं भने १६ वर्षको खोक्रोे राष्ट्रियताको नाराबाजीमा लाग्छौं र अधिनायकवादको पक्षधर हुनपुग्छौं ।
यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन् । त्यसो हुनाले हामीले यो कुरा पनि बुझ्नु परेकोछ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एकअर्कामा आधारित तत्व हुन् ।’
यसै राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता आज पनि त्यत्तिकै रुझान् र ओजपूर्ण रही आएको छ । हालको नेका तथा नेकपा एमालेसहितको गठबन्धन सरकार जसको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरी आउनु भएकोछ, यस सरकारले राष्टिय एकता, शुसाशन तथा दिगो विकासका लक्ष्यतर्फ प्राथमिकता दिएर कार्य सम्पादन हुनसकोस् ।
उहाँमा अन्तरनिहित बहुआयामिक प्रतिभाको सोपानको अलग पाटोको प्रतिनिधित्व साहित्यिक व्यक्तित्व र आख्यान साहित्यमा अलग धारका अग्रज श्रष्टाका रूपमा नेपाली साहित्याकाशमा उच्चमूल्यांकन गरिन्छ । निकै हदसम्म उहाँका कालजयी सिर्जनाहरूमा सुम्निमा, तीनघुम्ती, मोदिआइन, हिटलर र यहुदी, नरेन्द्रदाई, बाबु-आमा र छोरालगायत औपन्यासिक कृृति तथा जेलजर्नललगायत आत्मवृत्तान्तले नेपाली साहित्यको श्रीवृद्धि तथा बैचारिक मान्यताको सैद्धान्तिकरणमा आयाम थपेकैछ । उहाँले भन्नु भएझैं ‘म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ’ भन्ने आत्मपरक विश्लेषणका समीक्षात्मक विश्लेषणको गहिरो र मिहिन पुष्टाई कुतिका भाव, मान्यता र सारले उद्बोध गरेकै छन् र न्याय पनि गरेकाछन् । समग्र कृतिको मिमांस विश्लेषणका सारमा राजनीतिक वैचारिकताको आत्मबोध, यौनमनोविज्ञानको विश्लेषण तथा सामाजिक रूपान्तरण र मनो0सामाजिक सांस्कृतिक द्वन्द्वलाई साहित्यिक बैचारिक धरातलमा सटिक प्रस्तुति गरेको पाइन्छ ।
जीवन र जगतका मूल्य र मान्यतालाई राजनीतिक विचार र साहित्यिक पक्षबाट उजागर गर्न सक्ने विलक्षणता बी.पी कोइरालामा उहाँका राजनीतिक विचार तथा सिद्धान्त र साहित्यिक सिर्जनाका प्रतिबिम्ब वग्रेल्ती देखिन्छन् । उहाँका साहित्यिक कृतिहरूले निकै हदसम्म त्यस परिवेश र समयका साहित्यिकधारलाई निकैहदसम्म निषेध गरेर फरक र भौतिकवादी समाज र मानवीय मनोविज्ञानका भित्रीपाटालाई स्वप्निल समाजको बिम्ब र सामाजिक सांस्कृतिक द्वन्द्वात्मक पक्षलाई तीनघुम्तीकी इन्द्रमाया र सुम्निमाका किराती समुदायकी सुम्निमा तथा ब्राहृमण समुदायका सोमदत्त बीचको प्रेम र तिनका उत्कण्ठालाई निकै हदसम्म न्याय गरेको देखिन्छ । अनि वैचारिक र सामाजिक अराजकतावादीधारको छनकको प्रतिबिम्बका यथेष्ठ गुञ्जायस सोपान गर्न सकिन्छ उहाँका साहित्यिक कृतिहरूबाट ।
बीपीलाई अग्रज समाजवादी चिन्तक तथा पथपर्दशकका रुपमा राजनीतिकबृत्तमा लिइन्छ । नेपालमा प्रजातान्त्रिक समाजवादको अभ्युत्थानमा बीपीको नेतृत्वदायी भूमिका दक्षिण एशिया तथा सिंगो एशियाका लागि मार्गदर्शक हुन सकेकोछ । जसले गर्दा उर्हाँलाई समसामयिक विश्व राजनीति र दक्षिण एशियाको अग्रज प्रजातान्त्रिक समाजवादी नेता र जननायकको रूपमा चिनायो । भारतका तात्कालिक नेता जयप्रकाश नारायण तथा राममनोहर लोहियाजस्ता समाजवादी चिन्तकको सामिप्यता र राजनीतिक उठवसले बीपीमा नेपाल जस्तो भू-राजनीतिक परिवेशको मुलुकको स्थिरता, राजनीतिक विचारको सम्प्रेषण तथा छिमेक तथा अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई कसरी चीरस्थायी र मुलुकको हितमा प्रवर्धन गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्ने र कार्यान्वयनतर्फ दिशाबोध गरेको पाइन्छ । जसलाई आजका राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले न्यून अनुसरण गरेको पाइन्छ ।
लोकतान्त्रिक समाजवादको सारभूत पक्ष वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयामलाई महत्व दिएर तेस्रो विश्वका गरिब तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र आर्थिक-सामाजिक रूपान्तरणका लागि नवीन विचारधाराका रूपमा काम गर्यो ।
बी.पी कोइरालाको नेतृत्वको सरकारले कुशल परराष्ट्र नीति अवलम्बन गरेको पाइन्छ । उहाँको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रूपमा लियो । जसको फलस्वरूप नेपालले दुई ठूला छिमेकी भारत तथा चीनलगायत विश्वका सबै मित्रराष्ट्रहरूसँग यसै नीतिका आधारमा कूटनीतिक सम्बन्ध स्थापना र विस्तार गर्न सकियो । इजराइलको मान्यता तथा राष्ट्रसंघमा नेपालको क्रियाशीलतामा घनिभूत दिनसकियो । सगरमाथाको आधिकारिकताका सन्दर्भमा उठान भएको राष्ट्रिय हित प्रवर्धनका सवालमा चीनसँग दरो रूझान्का साथ सगरमाथा नेपालको भएको तथ्यलाई उहाँले आफ्नो चीन भ्रमणमा समयमा राख्नुभयो र त्यसलाई चीनको सरकारले सहजरूपमा लियो र यससम्बन्धी समझदारी कायम भयो ।
प्रजातान्त्रिक समाजवादले आफ्नो वैचारिक आधार खडा गर्ने क्रममा धेरै आरोह/अवरोह पार गर्दै आएको छ । पाश्चात्य चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुिक्त र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा हितको संरक्षण हुनसक्ने वैचारिक आधार प्रस्तुत गरे, जसमा माक्र्स र एंगेल्सले आफ्नो कम्युनिष्ट विचार र माक्र्सवादी चिन्तनका वैचारिक बहस चलाएका थिए । लोकतान्त्रिक समाजवादको सारभूत पक्ष वर्ग समन्वय तथा उदार आर्थिक विकासका आयामलाई महत्व दिएर तेस्रो विश्वका गरिब तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र आर्थिक-सामाजिक रूपान्तरणका लागि नवीन विचारधाराका रूपमा काम ग¥यो । यस दिशामा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले मुलुकको आर्थिक उत्थान, सामाजिक रूपान्तरणका लागि योगदान दिई आएको छ । जसलाई कसैले नजरअन्दाज गर्न सकिँदैन् ।
जननिर्वाचित बी.पी कोइरालाको सरकारले समाजवादी चिन्तन र नीति अनुसारको राज्य व्यवस्था सञ्चालन र विकासलाई अघि बढायो । आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका कामले नयाँ बिहानीको सुरुवात गर्न सकेको थियो । तर हठात् बीपीको लोकप्रिय जनउत्तरदायी सरकार राजा महेन्द्रको उच्चमहत्वाकांक्षा र शक्तिआर्जन तथा प्रत्यक्ष प्रयोग गर्ने मनसायप्रेरित भई विसं २०१७ साल पुस १ को गैरप्रजातान्त्रिक शाहीकदमका कारण अवसान गरियो । फलस्वरूप दलविहीन चरित्रको निर्दलीय पञ्चायतको नाममा देश पुनः राजनीतिक स्वतन्त्रता शून्यतातर्फ उन्मुखभयो । बीपीको आदर्श र विचारधारा सिंगो पञ्चायती व्यवस्थाको नाममा निश्तेच तथा तेजोवध गरियो । करिब तीन दशकसम्म विकास र स्वतन्त्र राजनीतिक चिन्तनधारालाई कुन्ठित गर्ने कार्य भयो । नेपाली कांग्रेसको नेतृत्व तथा जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको अगुवाइमा तात्कालीक संयुक्त वाममोर्चाको सहकार्यमा विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात् देशमा फेरि बहुदलीय व्यवस्थाको पुनस्र्थापना सफल भयो ।
लोकतन्त्रका मूल्य, प्रेस स्वतन्त्रता तथा मानवाधिकारको पूर्णः प्रत्याभूति दिने संवैधानिक व्यवस्था, बहुदलीय समाज तथा राष्ट्रिय मेलमिलापको नीति कार्यान्वयनको दिशामा उहाँले पुर्याउनु भएको योगदान नेपालको राजनीतिक इतिहासमा सधैं चीरस्मरणीय रहनेछ । विकास र राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक समाजवादी आर्थिक नीतिको सान्दर्भिकले सार्थकता पाउनुपर्दछ । वर्तमान केपी ओली नेतृत्वको गठबन्धन सरकारले समाजवादउन्मुख आर्थिक विकासको खाका अघि बढाएको सन्दर्भमा नेपालको समृद्धि र विकासको अचुक अस्त्र गरिबी, असमानता तथा विकासमा अर्जुनदृष्टि पुग्नुपर्दछ । जनताको आर्थिक विकास तथा सामाजिक रूपान्तरणमा लोकतान्त्रिक सरकारले के कति काम गर्न सक्छ आत्मालोचना र मुल्यांकनमा रहनेछ । (लेखक मानवशास्त्री तथा अधिवक्ता हुनुहुन्छ ।)






