✍️ देवीलाल चौलागाईं
एक् मन् चित्त लगाइ चाकरी गर्यां खुसी भया छन् हरि ।
मन्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भरनाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरू गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।
बिन्ती डिठ्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
यो कविता अंश हामीमध्ये धेरैले सुनेकै हुनुपर्छ । प्रशासनिक ढिलासुस्ती, हैरानी र सरकारी कामकाजमा भोलि भोलि भन्ने जस्ता प्रवृत्तिहरूको प्रसंग आउँदा धेरैले यहि कवितालाई स्मरण गर्ने र यसै कवितालाई उद्दरण गर्ने गरेको पाइन्छ । हाम्रो सरकारी कामकाज र सेवा प्रवाह कस्तो छ ? र यसका का बारेमा आम बुझाइ के छ ? भन्ने कुरा पनि यसले देखाउँछ । तर यो कविता हिजो आज वा यो शताब्दीमा समेत लेखिएको भने होइन । यो कविता आजभन्दा करिब एक सय सत्तरी वर्षअघि आदिकवि भानुभक्त आचार्यले लेखेका हुन् ।
यसको पृष्ठभूमिलाई हेर्ने हो भने राणा शासनको सुरुवाती समय १९१० को आसपास पहोलोपटक मुलुकी ऐन जारी भएसँगै भानुभक्त आचार्य जग्गा विवाद र सरकारी बाँकी हरहिसाबको जाँचबुझका लागि कुमारी चोकमा करिब पाँच/६ महिना थुनीन पुगे । सोही समयमा न्याय सम्पादनमा भइरहेको ढिलाइ, लापरबाही र आफुले खेप्नुपरेको दुःख र पीडालाई उनले कवितामा उतारेका थिए ।
अहिले पनि न्याय सम्पादन, सार्वजनिक सेवा प्रवाहसहित समग्र सुशासनको अवस्था डेढ÷दुइ शताब्दी पहिले आदिकविले भनेजस्तो ‘बिन्ती डिठ्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली, बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि’ हुनु विडम्बनाको विषय बनेको छ ।
भानुभक्त आचार्यका पिता धनञ्जय आचार्य पाल्पाको तहसिल अड्डामा खरिदार थिए र उनको निधनपछि सोही स्थानमा भानुभक्त आचार्य नियुक्त भए भन्ने भनाइ छ । धनञ्जय आचार्य जागिरे अवस्थामा बिरामी परे र उनलाई काशी लगियो । पछि त्यहीं उनको निधन भयो । सेवामै रहँदासमेत पितालाई सरकारी कामकाजमा सघाइरहेका भानुभक्तलाई पिताको निधनपछि १९०७ सालतिर उनलाई खरिदार पदमा नियुक्त गरियो । तर दुई वर्ष नपुग्दै उनीमाथि आरोप लगाइयो र उजुरीका कारण उनको जागिर खोसिन पुग्यो । जागिर खोसिएनमात्र करिब पाँच÷६ महिना झ्यालखानाको समेत सामना गर्नु पर्यो, भानुभक्त आचार्यले ।
आफूले जागिर खाँदा स्याहाश्रेस्ता गल्ती गरे वा आफ्नो बाबुको पालाको स्याहाश्रेस्ता फरफारक गर्न उनी कुमारीचोकको निगरानीमा परे भन्नेमा मतैक्य भने छैन । यसमा फरक–फरक मत छन् । यदि बाबुको स्याहाश्रेस्ता फरफारकका कारण थुनामा परेका थिए भने थुनाबाट छुटेपछि सो विषयमा भानुभक्तले कहिँकतै भन्न सक्थे, लेख्न सक्थे वा कमाण्डर इन चिफ कृष्णबहादुर राणाको हजुरमा जाहेर गर्दा यो कुरा राख्न पनि सक्थे भन्ने राय वा तर्क छ । जेहोस् कुमारोचोकभित्र उनले आफ्नो कवितामा भने जस्तै लामखुट्टे, उपियाँ र उडुसको रमिता हेरी बस्नुपर्ने अवस्था भने आइपुग्यो ।
थुनामा उनलाई कडाइ भने थिएन । दिनभर बाहिर डुल्न, घुम्न, भेटघाट गर्न, लेख्न, पढ्न सबै पाउँथे । तर, राति भने कुमारीचोकमा आउनै पथ्र्याे । अन्यत्र सुत्न भने पाउँदैन थिए । भानुभक्तले त्यो समयको भरपुर सदुपयोग गरे । झ्यालखानाको बसाइ उनका निम्ति साहित्य सिर्जनाको बसाइ बन्यो । थुनामा पर्नुअघि नै रामायण सुरु गरिसकेका उनले त्यहीं बसेर अयोध्याकाण्ड, अरण्यकाण्ड, किश्किन्धाकाण्ड र सुन्दरकाण्ड तयार पारे । थुनाबाट छुटकारा पाएपछि युद्धकाण्ड, उत्तरकाण्ड र बालकाण्ड लेखे । उनका सिर्जनामा शक्ति थियो । मानिसको हृदयलाई छुन सक्थ्यो उनका रचनाले । थुनाभित्रै भानुभक्तले रचना गरेको अनुनयसहितको यो कविताले उनलाई थुनामुक्तसमेत गराएको थियो । थुनामुक्त गराउने उनको मर्मस्पर्शी रचना यस्तो थियो ।
चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको ।
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ।।
क्यारू आज पर्यां म ता विपत्मा एक्लो ञाहाँ छूं फगत् ।
कुन् पाठ्ले व्रतबन्ध पार्गरु मफेर्मान्छू अंध्यारो जगत् ।।
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिनू माइको ।
बालख्मा पनि वेद पढीकन सुसार्गर्नू गुरु गाइको ।।
यस्तो मुख्य बखत् छ यो अरू छ कुन् काम् पारलाई दिन्या ।
धेरै बिन्ति कती गरुँ चरणमा एकै कुराले छिन्या ।।
ख्यामित् आज हजुर्हरू पृथ्वीमा मालिक् छंदामा पनी ।
ब्राहृमणको व्रतबन्ध अड्कन तयार्देख्या र मालिक् भनी ।।
जाहीरात ग¥यां प्रभू हजुरमा जो मर्जि होला भनी ।
कंढैसित् भनि मर्जि हुंछ त भन्या क्यारू सहन्छू पनी ।।
छोराको व्रतबन्धको कुरो राखी भानुभक्त आचार्यले विन्तीपत्र चढाएपछि सरकार खुशी भई कुमारीचोकबाट भानुभक्तलाई ‘फारग् पत्र’ प्राप्त भयो र आफ्ना छोरा रमानाथको व्रतबन्धका लागि उनी निस्किए । मोतीराम भट्टले यसबारे चर्चा गरेका छन् ।
भानुभक्त आचार्य जीवन पर्यन्त नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लागिरहे । नेपाली साहित्यको क्षेत्रमा आदिकविको रूपमा परिचित भानुभक्तले नेपाली समाजमा सर्वाधिक लोकप्रिय रामायण जस्तो सर्वोत्कृष्ट कृति छोडेर गएका छन् । उनका अन्य दर्जनौं कृतिहरू प्रकाशित छन् । बधु शिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तर जस्ता काव्य कृतिहरू प्रकाशित छन् । त्यस्तै कान्तिपुरी नगरी, बालाजी वर्णन, भोलि भोलि जस्ता थुप्रै फुटकर कविताहरू पनि प्रकाशित छन् । उनका कविता कृतिहरूमा भाषा, साहित्य, दर्शन, धर्म, संस्कृति, परम्परा, राष्ट्र भक्ति, भातृत्व, कर्तव्य र नैतिकता जस्ता मानव जीवनका महत्वपूर्ण विषयहरूलाई अत्यन्त मिहिन, सरल र मर्मस्पर्सी ढंगले उठाएको पाइन्छ । मानव जातिलाई सुयोग्य बनाउन उनका कृतिहरूले आभिप्रेरित गरिरहेका हुन्छन् । जसले उनलाई विभूतिको हकदार बनायो र उनी नेपालको राष्ट्रिय विभूति समेत बने ।
यस आलेखको आरम्भमा प्रस्तुत गरिएको कविता हरफ र त्यसको रचना गर्भ अर्थात् भानुभक्तको थुना यात्राको प्रसंगपछि फेरि यो आलेखमा चर्चा गर्न खोजिएको मूल विषय ‘भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोलि’ तर्फ नै लागौं । विडम्बना त के छ भने जहानिया राणा शासनको अन्त्य, पंचायती व्यवस्थाको अन्त्य, बहुदलीय प्रजातन्त्रको अन्त्य र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको यो करिब डेढ/दुइ शताब्दीमा थुप्रै शासन व्यवस्था बदलिए पनि शासन शैली र संस्कार बदलिन नसक्नु दुर्भाग्यपूर्ण रहेको छ ।
अहिले पनि न्याय सम्पादन, सार्वजनिक सेवा प्रवाह सहित समग्र सुशासनको अवस्था डेढ/दुई शताब्दी पहिले आदिकविले भनेजस्तो ‘बिन्ती डिठ्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली, बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि’ हुनु विडम्बनाको विषय बनेको छ । यो अवस्थामा परिवर्तन कहिले आउने ? जनतामा व्यापक निराशा छ । कुनै सेवा लिन सरकारी निकायमा पुगेको सेवाग्राही फर्किँदा खुशी र सन्तोष भएर हैन खिन्न र आक्रोशित भएर फर्किने गरेको देखिन्छ । यसमा सुधार अपरिहार्य छ । यसले नेपालको सार्वजनिक प्रशासनमाथि ठूलो प्रश्न चिहृन खडा गरेको छ । बेलैमा सोच्न जरुरी छ ।
नेपालको सार्वजनिक प्रशासनलाई मर्यादित, सम्मानित र जनताको भरोसा योग्य बनाउन आवश्यक छ । करिब डेढ/दुई सय वर्ष पहिले आदिकविले भनेजस्तो ‘की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ∕ भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली !’ भनेर फेरि भोलिको पुस्ताले भन्न नपरोस् । सबैलाई चेतना भया ! devchaulagain@gmail.com







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts