काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– सबैमा सम्मान, सबैलाई धन्यवाद ।
नवनियुक्त प्रधानमन्त्री ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले गत शुक्रबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको सपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता