काठमाडौं । देशकै सबैभन्दा ठूलो र धेरैलाई रोजगारी प्रदान गर्दै आएको निर्यातजन्य उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सेयर जारी गर्ने भएको छ । प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार नौ सय ६० कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् एक लाख १५ हजार पाँच सय ९६ कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीका अनुसार न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरबाट भर्न सक्नेछन् । रिलायन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को चैतसम्मको अपरिष्कृत वित्तीय विवरण लेखापरीक्षणबाट प्रमाणित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुलबापतको रकम ७३ करोड ३६ लाख ८४ हजार तीन सय ३५ रुपैयाँ घटाएर नेटवर्थ गणना गरिएको हो । छ सय करोडभन्दाको धागो निर्यात गर्दै आएको रिलायन्सले विदेशी उद्योगसँग प्रतिस्पर्धा गर्दै आएको छ भने चार हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीले करिब १५ सय कर्मचारी र कामदारलाई उद्योग कम्पाउण्डभित्रै आवास सुविधा प्रदान गरेको छ भने महिला कामदारका लागि बालस्याहार केन्द्रसमेत व्यवस्था गरेको छ । साथै फार्मेसी र डाक्टर सुविधा, विभिन्न खेलकुद सुविधासमेत उपलव्ध छन् । तथापि प्राधिकरणले नियमित विद्युत् आपूर्ति नगर्दा विगतमा तीन सिफ्ट निरन्तर सञ्चालन हुने कम्पनीमा कार्यरत चार हजार श्रमिक रोजगारीबाटै वञ्चित भएको कम्पनीले जनाएको छ ।
दुहबी ग्रिडबाट पटक-पटक भिसिवी ट्रिप, खनार ग्रिडमा पटक-पटक टाइम ब्रेकर ट्रिप, दैनिकजसो सिस्टम फेल र पावर ट्रिपिङ, गत वर्ष २०८० माघदेखि २०८१ जेठसम्म दैनिक आठदेखि १२ घण्टा अघोषित लोडसेडिङलगायतका कारण कम्पनीले क्षमताअनुसार उत्पादन गर्न नसकेको जनाएको छ । विविध समस्या र चुनौतीका बाबजुद पनि कम्पनी दुई सय २५ करोडमाथिको सञ्चित मुनाफा कमाउन सफल भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सन् १९९४ मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले धागो उत्पादन गरी स्वदेशका कपडा उद्योगका साथै विदेशमा समेत निर्यात गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता