
काठमाडौं । हुन त विपत्ति बाजा बजाएर आउँदैन । अधिकांश विपत्तिका घटना रोक्न सकिँदैन पनि । भवितव्यका रूपमा आउने बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपका घटना रोक्न कठिन पनि हुन्छ । तर, मानवजन्य क्रियाकलापले अहिले दर्जनौँ विपत्तिका घटना निम्ताइरहेको छ । हरेक बर्खामा नेपाली समाजको एउटा दुःखद नियति नै बनेको छ पहाड र हिमालमा बाढीपहिरो र तराईमा डुबान । यति मात्रै होइन वर्षेनि अकालमा सयौँले ज्यान गुमाइरहेका छन् । मानवीय मात्रै होइन विपद्का घटनाले वर्र्षेनि अर्बौंको क्षति गर्ने गरेको छ ।
लामो खडेरीपछि सुरु भएको मनसुनले फेरि उत्पात मच्चाउन थालिसकेको छ । कोशी प्रदेशदेखि आउन थालेको बाढीपहिरो र जनधनको क्षति क्रमशः पश्चिमसम्म फैलिन थालेको छ । यो अझै बढ्दै जाने निश्चित छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पहाडमा ठाउँ-ठाउँमा बाढी र पहिरोले उत्पात मच्चाएको छ । दर्जनौँ सडकहरू अवरुद्ध भएका छन् । कैयौँ सडकमा पहिरो गएको छ । केही पुल बगाएको छ । नदीको जल सतहले खतराको सीमा नाघ्न थालेका छन् । लगातारको झरीले पहाडमा बाढी पहिरोको कहर छ भने तराई जलमग्न बनेको छ । नदी किनारका बस्ती र खेतबारीमा कटान सुरु भएको छ । तराईका ठाउँ ठाउँ बाढीले डुबानमा परेका छन् । दुई दिनको वर्षाले काठमाडौं उपत्यकासहित तराईमा व्यापक डुबान भएको हो । केही घर डुबाएको छ । केही घर पहिरोले बगाएको छ । बाढीले घर डुबाएपछि कैयौँ नागरिक विस्थापित भएका छन् ।
एक दिनको झरीले उपत्यका अस्तव्यस्त
शुक्रबार रातिदेखि शनिबार दिनभर परेको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन नराम्ररी प्रभावित भएको छ । लगातारको झरीले उपत्यकाका विभिन्न खोला र नदी किनारका बस्तीमा बाढी पसेको हो । नदी किनारका बजारदेखि आवासीय क्षेत्रसम्म बाढी पसेको हो । पसलमा पानी पस्दा धनमाल क्षति भएको छ भने मानिसहरूलाई आवतजावतमा समेत कठिनाइ भएको छ । च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयदेखि टेकु आवास क्षेत्र हुँदै बल्खु तरकारी बजार यतिखेर बाढीको चपेटामा परेको हो । उपत्यकाका दुई प्रमुख नदी बागमती र विष्णुमती किनारका बस्तीभित्र बाढी पसेको छ । दक्षिण-पूर्वतिर बालकुमारी, च्यासल हुँदै थापाथलीसम्म बाढीको ताण्डव छ । बाढीग्रस्त भक्तपुरको हनुमन्ते खोलासमेत मिसिएपछि उर्लिएको बागमती नदीले बालकुमारीदेखि थापाथली सम्मको नदी किनार क्षेत्र डुबानमा पारेको हो । उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोला आसपासमा बाढी पसेको हो ।
काठमाडौंमा मात्रै होइन उपत्यकाबाहिर पनि लगातारको वर्षासँगैको बाढी पहिरोले ठूलो क्षति गरेको छ । शनिबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज विकको निधन भएको हो । उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । स्याङ्जाको विरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । विरुवा गाउँपालिका-६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।
पहिरोमा परी विरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । पर्वतमा पहिरोले दुईजना पुरिएका छन् । फलेवास नगरपालिका-१ कार्कीनेटामा पहिरो जाँदा दुईजना बेपत्ता भएका हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । यता, दोलखाको गौरीशंकर गाउँपालिका-९ मा बाढीले वर्ष ६३ की जाङ्मु शेर्पालाई बेपत्ता बनाएको छ । प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता हुनुभएको हो । दाङको राजपुर गाउँपालिका-२ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका-३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएको प्रहरीले जनाएको छ ।
कर्णालीमा पाँच दिनदेखि हवाई सेवा ठप्प, सडक पनि अवरुद्ध
अविरल वर्षासँगै मौसममा खराबी आएपछि कर्णालीका विमानस्थलमा पाँच दिनदेखि हवाईजहाज बस्न सकेका छैनन् । कर्णालीको मुगु, जुम्ला, डोल्पा र हुम्लाको विमानस्थलमा पाँच दिनदेखि जहाज नचलेको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । कार्यालयका अनुसार १८ गतेबाट जुम्लादेखि हवाई सेवा ठप्प छ । मुगुमा पनि हवाई सेवा बन्द भएको छ । निरन्तर पानी पर्न थालेपछि हिमाली जिल्ला मुगुका लागि बाँकेको नेपालगञ्जबाट हुने उडान हुन सकेको छैन । लगातारको वर्षाले नेपालगञ्जबाट हवाई उडान नभएको कार्यालयले जनाएको छ । हुम्लामा पनि वर्षाले हवाई सेवा अवरुद्ध छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।
हवाई सेवा मात्रै होइन सडक मार्गसमेत अवरुद्ध छन् । भारी वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । कर्णाली राजमार्गसमेत अवरुद्ध भएपछि मुगुबासीलाई आउजाउ गर्न सास्ती भएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडक खण्डको हुम्ला र कालिकोट दैलेखको सिमाना दहीखोला नजिक गगनेखोलामा माथिबाट ठुल्ठूला ढुंगासहित पहिरो खसेर सडक अवरुद्ध भएको हो । सुर्खेत नेपालगञ्जबाट मुगुतर्फ आउने र मुगुदेखि सुर्खेत नेपालगञ्ज जाने सवारी साधन अवरुद्ध भएका छन् । वर्षाले शुक्रबार देहुल्म र गगनेखोलामा माथिबाट ठुल्ठूला ढुंगासहित भीषण पहिरो खसेर सडक भएपछि मुगु जाने सवारी साधन पनि बीच बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।
पहिरोले दर्जनौँ सडक बन्द, यात्रुहरू बाटोमै रोकिए
शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर तीन दर्जन बढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोधसम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण तीन दर्जन बढी सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो । काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ । पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको हो । स्याङ्जा–वालिङ सडकको भीरकोट-४ छाङ्छाङ्दी नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ-१ कालीमाटीमा पनि सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
पहिरोले बिपी राजमार्ग पनि अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । मध्यमहाडी राजमार्गअन्तर्गत रहेको गोलञ्जोर गाउँपालिका-६ अकरेभीर र फिक्कल गाउँपालिका-२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले सडक अवरुद्ध भएको थियो । सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै, भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर-५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी-फाखेल-मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यसैगरी, कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण शनिबार बिहानैदेखि सडक अवरुद्ध छ ।
ललितपुरको बागमती गाउँपालिका-३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका-४ हावाडाँडा सडक माथिबाट शनिबार बिहान पहिरो आउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले डाइभर्सन बगाएको हो । सो ठाउँमा आवतजावत ठप्प छ ।
मेलम्चीको हेडवक्र्स पुग्ने एउटा मात्रै पुल जोखिममा
लगातारको वर्षापछि सिन्धुपाल्चोक हेलम्बुस्थित चनौटे बजारमा रहेको बेलिब्रिज जोखिममा परेको छ । हेलम्बुको वडा नम्बर २ र ७ जोड्ने एक मात्रै पुल जोखिममा परेपछि त्यसलाई जोगाउन छेउछाउमा ठुल्ठूला ढुंगा हालिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन हृयोल्मोले जानकारी दिनुभयो । २०७८ साउन १६ को भलबाढीले यहाँको पुल बगाएको २०७८ मै सेनाले बेलिब्रिज बगाएको हो । बाढीले क्षति पु¥याएमा मेलम्चीको हेडवक्र्ससँगको पहुँच टुट्नेछ । त्यति मात्रै होइन मेलम्चीको दुईटा, पाँच पोखरीको दुईटा र हेलम्बुको तीनवटा वडाबीच सम्पर्कविच्छेद हुने अध्यक्ष ह्योल्मोले बताउनुभयो ।
गण्डक ब्यारेजका सबै ढोका खोलियो
त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमानजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ । गण्डकमा पानीको सतह दुई लाख ६० हजार क्युसेक लिटर भन्दामाथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका दुईवटा नहर र भारतमा हुनसक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो । पानीको सतह खतराको सीमानजिक पुगेका कारण ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जनाएको छ । तीन दिनदेखिको लगातारको वर्षाले गण्डकमा नदीको सतह एक्कासि बढेपछि भारतले आफ्नो सुरक्षाको लागि ढोका खोलेको हो । गण्डकमा पानीको सतह लगातार बढिरहेको छ । नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बाँध बाँधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे दुई लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतको एकाधिकार छ ।
६४० मेगावाट बिजुली उत्पादन बन्द
अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन् । प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण हिजो साँझदेखि बन्द छ । यस्तै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’, १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत् आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् । प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ । केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिखु एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली ६ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।
जोखिम भएका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा शनिबार भएको आपत्कालीन बैठकमा उहाँले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कतासाथ राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ता कपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गर्नुभयो । ‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ’, गृहमन्त्री लामिछानेले भन्नुभयो,’ ‘हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।’ पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिनुभयो । बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारी लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच