दिक् भनेको दिशा हो । देश भनेको स्थान विशेष र काल भनेको समय विशेष हो । हाम्रा दैनन्दिनी व्यवहारमा यी तीनैवटा कुरा विशेष महत्वका रहने गर्दछन् । ज्योतिषशास्त्रमा पनि यिनै कुरालाई विशेष रूपमा व्याख्या गरिएको छ । व्यवहार चलाउनका निम्ति पनि यी कुरालाले विशेष प्रभाव पार्ने गर्दछन् । दिशा साधन र तत् आधारमा धार्मिका कार्य सम्पादनका शास्त्रीय व्यवस्था पाइन्छन् । यसैगरी स्थान अनुसार पनि हरेक विषयवस्तुमा केही भिन्नता रहने गर्दछ । यसैगरी समयले पनि व्यक्ति र वस्तुमा भिन्नता ल्याउने गर्दछ ।
दिक् अर्थात् दिशाका कारण पनि स्थानीय भेद रहन सक्छन् । समय मापनमा दिशा अनुसार देशान्तर धन वा ऋण गर्नुपर्ने हुन्छ । जस्तो कि देशान्तर साधनमा पूर्व भए धन र पश्चिम भए ऋण समयसंस्कार गर्नुपर्दछ । यसरी निर्धारण हुने दिशा कुनै एक स्थानलाई आधार मानी तय गरिएको हुन्छ । जस्तो कि ग्रीनबीचलाई हाल समय निर्धारणको आधार बिन्दु मानिएको छ । ग्रीनबीच हुँदै दुई ध्रुवमा गएको रेखादेशमा शून्य देशान्तर हुन्छ । ‘यत्रोदितास्ते किल तत्र पूर्व’ (सिद्धान्तशिरोमणि) अर्थात् जहाँबाट सूर्य उदाउँछन् त्यही पूर्व दिशा हो । यसैगरी ध्रुवतारा देखिने स्थान कित उत्तरी कि त दक्षिाणी दिशाका बिन्दु हुन्छन् । नक्षत्र वेध गरेर पनि दिशा पत्ता लगाउन सकिन्छ । एक दिशा पत्ता लगाएपछि ध्रुवमत्स्य (कम्पासको सहायताले) अन्य दिशा पत्ता लगाउन सकिन्छ । पूर्वको विपरीत पश्चिम हुन्छ ।
पौरस्त्य वाङ्मयमा लङ्का, उज्जैन हुँदै ध्रुवमा गएको रेखालाई आधार वा शून्य देशान्तर मानिएको छ । दिशा कुनै स्थानलाई सापेक्ष मानेर तय गरिएको हुन्छ । काठमाडौँका लागि पोखरा पश्चिम हो भने दाङका लागि पोखरा पूर्वमा पर्ने गर्दछ । दिशा निर्धारणका स्थायी सिद्धान्त हुँदैनन् ।
यसैगरी दायाँतर्फ दक्षिण र बायाँतर्फ उत्तर हुने गर्दछ । दिशा दश छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय (पूर्व र दक्षिणको कोण), नैर्ऋत्य (दक्षिण र पश्चिमको कोण), वायव्य (पश्चिम र उत्तरको कोण), ईशान (उत्तर र पूर्वको कोण, ऊध्र्व (माथि) र अध (तल) यसरी दश दिशाको निर्धारण शास्त्रमा गरिएको छ । हरेक दिशाको विशेष महत्व रहन्छ । सन्ध्याबन्धन सूर्याभिमुख भएर गर्ने विधान छ । यसैगरी धार्मिक कार्य अनुसार दिशाको निर्धारण गरिएको छ । देवकार्य पूर्व वा उत्तर फर्किएर सम्पादन गरिन्छ । पितृकार्य दक्षिण फर्किएर सम्पादन गर्ने व्यवस्था रहेको छ । यसैगरी हरेक धार्मिका कार्य सम्पादन गर्नुपूर्व दिशाका अधिपति देवताको पूजा एवं स्मरण गर्ने विधान छ । यसैले पनि दिशा हाम्रा दैनदिन्दी व्यवहारमा आवश्यक पर्ने गर्दछन् ।
व्यवहार सम्पादनका निम्ति पनि दिशाको आवश्यकता पर्ने गर्दछ । कुनै स्थानलाई बताउनु पर्दा यहाँबाट पूर्व त्यसपछि दक्षिण अनि उत्तर आदि भनी दिशा निर्देश गरी व्यवहारका कार्य सम्पादन गरिन्छ । यो मानिएको एकाइ हो । ग्रनबीच हुँदै गएको रेखालाई नै शून्य रेखादेश पनि मानिएको हो । पौरस्त्य वाङ्मयमा लङ्का, उज्जैन हुँदै ध्रुवमा गएको रेखालाई आधार वा शून्य देशान्तर मानिएको छ । दिशा कुनै स्थानलाई सापेक्ष मानेर तय गरिएको हुन्छ । काठमाडौँका लागि पोखरा पश्चिम हो भने दाङका लागि पोखरा पूर्वमा पर्ने गर्दछ । दिशा निर्धारणका स्थायी सिद्धान्त हुँदैनन् । कुनै स्थानलाई आधार मानेरमात्र दिशाको परिकल्पना हुन्छ र सोही आधारमा व्यवहारमा पनि प्रयोग गरिन्छ ।
वास्तुशास्त्रमा पनि दिशाको विशेष महिमा बताइएको छ । दिशाकै आधार गृहऊर्जाका स्रोतको पहिचान गरिन्छ । सोही आधारमा वस्तुको शुभाशुभत्व विचार हुनेभएकाले पनि वास्तुशास्त्रमा दिशाको आवश्यकता पर्ने गर्दछ । सूर्यको छायाँलाई हेरेर पनि दिशा साधन गर्न सकिन्छ । प्रातः कालमा सूर्यको छायाँ सिधा पश्चिम दिशामा जान्छ । पश्चिमको विपरीत पूर्वहुन्छ । पूर्वको दायाँ दक्षिण र बायाँ उत्तर पत्ता लगाउन सकिन्छ । यो पूर्व-पश्चिम आदि भन्ने विचित्रको व्यवस्था भए पनि व्यवहार सिद्धिका निम्ति महत्वपूर्ण रहन्छ । स्थनीय विशेषता ज्ञानमा पनि दिशा सूचक रहनसक्छ ।
देश भनेको स्थान विशेष हो । भूगोलका स्थान अनुसारका भिन्नता हुन्छ । हरेक स्थानका आआफ्ना विशेषता हुन्छन् । यही स्थानलाई प्रतिनिधित्व गर्न अक्षांश र देशान्तरको प्रयोग गरिन्छ । स्थानको वास्तविक बिन्दु अक्षांश र देशान्तबाट जान्न सकिन्छ । स्थान अनुसार हरेक कुरामा भिन्नता रहने गर्दछन् । स्थानीय भेद भिन्न रहन्छन् । भाषा, संस्कृति सभ्यता, चालचलन, रीति रिवाज, भेषभूषा आदि हरेक कुरामा स्थानले भिन्नता ल्याउने गर्दछ । केही न केही आञ्चलिक प्रभाव परेकै हुन्छ । हामीले पनि यसको प्रत्यक्ष अनुभव गर्न सक्दछौँ । झापामा जुन नेपाली बोलिन्छ सिन्धुलिमा त्योभन्दा भिन्न हुन्छ । सिन्धुलीमा जुन नेपाली बोलिन्छ त्यो भन्दा बुटवल गुल्मी अर्घखाँचीमा भिन्न हुन्छ । गुल्मी अर्घाखाँचीमा भन्दा सुदूरपश्चिममा बोलीने भाषामा भिन्नता रहेको प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।
मानव व्यवहारमा दिक् दिशा, देश स्थान र काल अर्थात् समयले विशेष प्रभाव पार्ने गर्दछन् । दिशा अनुसार व्यवहारमा भिन्नता रहनु स्वभाविक हो । दिशाको व्यवस्था कुनै एक आधार बिन्दुलाई लिएर निर्धारण भएको हुन्छ । व्यवहार सिद्धिका निम्ति दिशाको निर्धारण भएका छन् ।
यसैगरी तराईमा लगाउने कपडा, पाहाडमा लगाउने कपडा र हिमालमा लगाउने कपडामा पनि भिन्नता रहने गर्दछ । किनकि उक्त स्थानमा कुन खालको कपडा उपयुक्त हुन्छ भन्ने कुरा उक्त स्थानले तयः गरिरहेको हुन्छ । तराईमा लगाइने पातला कपडा लगाएर हिमाली क्षेत्रमा बाँच्न सकिँदैन । यसैगरी हिमाली क्षेत्रका कपडा तराईमा पनि उपयुक्त हुँदैनन् । यसरी भिन्नता रहनुको मुख्या कारण स्थान हो । स्थान अनुसार मौसममा भिन्नता रहन्छ । सोही आधारमा तत् स्थानमा रहने व्यक्तिले पनि प्रकृति अनुकूल बन्नुपर्ने हुन्छ । यसबाट भिन्नता देखिन थाल्छन् ।
मूल पद्धति एउटै रहे पनि गरिने कार्यका भेद स्थानले निर्धारण हुन्छन् । एउटै वैदिक पद्धतिका कर्ममा कतै दुना टपरी अनिवार्य हुन्छन् त कतै दुना टपराको आवश्यकता नै पर्दैन । जुन स्थानमा जे कुरा प्राप्य भो त्यही कुरा स्वीकार गरियो । सालका पात नहुने स्थानमा पनि धार्मिक कार्य सम्पाद गरिएको नै हुन्छ । माटाका भाँडा वा अन्य वस्तुको प्रयोग गरेर पनि उक्त कार्य सम्पादन गर्ने गरेको पाइन्छ । कतै केराका पातमा पनि पूजादि कार्य सम्पादन हुने गर्दछन् । जुन स्थानमा जे जसरी व्यवहार चलाइएको छ त्यो त्यही अनुरूपको हुने गर्दछ । यसरी स्थानले पनि व्यक्ति र वस्तुमा केही भिन्नता ल्याउने गर्दछ ।
काल भनेको समय हो । समयको भिन्नताले पनि व्यक्ति र वस्तु पृथक् हुनसक्छन् । गतिशील समयसँगै व्यक्ति वस्तु, स्थान र समाजमा पनि भिन्नता हुने गर्दछ । हरेक व्यक्तिको बाल्यकालको सोचाइ, किशोर अवस्थामा रहने विचार, युवा अवस्था हुने धाराणा र वृद्धावस्थाको चिन्तन भिन्नै हुने गर्दछ । यो व्यक्तिको समयगत भिन्नता हो । समयले व्यक्तिमा हेर्ने दृष्टिकोण भिन्न बनाउन सक्छ । यसै गरी समग्र समयले पनि तत्जन्य प्रभावमा भिन्न्ता ल्याउने गर्दछ । युगनुसारको धर्म हुन्छ भनी शास्त्रमा उल्लेख नै पाइन्छ । वर्तमान कलियुगको हो कलिमा सत्य २५ प्रतिशत मात्र रहन्छ ।
यसैले आज सत्यवादीको संख्या कम रहेको छ । सधैं यस्तो रहँदैन । समयको प्रवाहसँगै हरेक कुरामा भिन्नता आउने गर्दछ । हिजोको समय र अजको समयमा नै भिन्नता छ भने युग महायुगमा भिन्नता रहँदैन भन्न सकिँदैन । समयले व्यक्तिमा, स्थानमा र समग्र युगमा नै विशेष प्रभाव पारेको हुन्छ । यसैले शास्त्रमा युगनुसारका कथा वर्णन पाइन्छन् । युग अनुसारका धर्मको व्यवस्था पाइन्छन् ।
मानव व्यवहारमा दिक् दिशा, देश स्थान र काल अर्थात् समयले विशेष प्रभाव पार्ने गर्दछन् । दिशा अनुसार व्यवहारमा भिन्नता रहनु स्वभाविक हो । दिशाको व्यवस्था कुनै एक आधार बिन्दुलाई लिएर निर्धारण भएको हुन्छ । व्यवहार सिद्धिका निम्ति दिशाको निर्धारण भएका छन् । यसैगरी स्थानअनुसार व्यक्ति, वस्तु, चालचलन, भेषभूषा, रहनसहनमा पनि भिन्नता हुने गर्दछ । आञ्चलिक प्रभाव स्थानले बनाएको हुन्छ । यसैगरी समयले पनि व्यक्ति र वस्तुमा भिन्नता ल्याउने गर्दछ । गतिशील समयको प्रवाहसँगै व्यक्ति र वस्तुमा पनि परिवर्तनका नयाँ पालुवा पलाइरहेका हुन्छन् । यसैले व्यक्ति, वस्तु र स्थानको मूल्याङ्कनमा दिक् देश र काललाई विचार गर्नु उपयुक्त हुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts