काठमाडौं । लाइफ कम्प्युटरले छैटौँ सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसइई दिएर बसेका विद्यार्थीको सहभागितामा गर्दै आएको वेबसाइट कम्पिटिसन–६ का विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा हुने संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो ।
आइटी ट्रेनिङको क्षेत्रमा क्रियाशील संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई आइटी क्षेत्रतर्फ लाग्न प्रेरणा दिँदै आएको पोखरेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आइटी हबका रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ । संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रित छन् । वेबसाइट कम्पिटिसन’ पनि यसकै प्रयास हो ।’ स्थापनाकालदेखि नै आइटी क्षेत्रको सुधारका लागि विभिन्न काम गर्दै आएको र पुस्तालाई सूचना प्रविधि क्षेत्रमा अब्बल बनाउन विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यता आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उहाँले बताउनुभयो । पोखरेलले भन्नुभयो, ‘सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को हो ।’ यस वर्ष देशभरका ११ सय दुई प्रतियोगीले प्रतिस्पर्धामा भाग लिएको बताइएको छ ।
प्रतियोगीहरूलाई जेठ अन्तिमसम्मका लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाएको बताइएको छ । ती प्रोजेक्टमध्ये उत्कृष्ट २० छनोट गरिएको छ । उत्कृष्ट २० जनाका वेबसाइट परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आइटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छान्ने प्रक्रिया रहेको कम्पनीले जनाएको छ । अध्यक्ष पोखरेलले भन्नुभयो, ‘मूल्यांकनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आइटी टिमको अब्जरभेसन, प्रिजेन्टेसनलगायत समेटिन्छ । हाम्रो संस्थाको उद्देश्य आइटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाशा संस्थाले बोकेको छ ।’
आयोजकका अनुसार पहिलो सिजनमा चार सय २७ सहभागी भएका थिए भने दोस्रो सिजनमा सात सय, तेस्रो सिजनमा १२ सय ७५, चौथो सिजनमा आठ सय ४०, पाँचौंमा नौ सय ७५ र छैटौँमा ११ सय दुई जना प्रतिस्पर्धामा सहभागी छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा