काठमाडौं । खाद्य तथा कृषि क्षेत्रमा चुनौती सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । खाद्य प्रणाली रूपान्तरणको खाँचो औँल्याउँदै उनीहरूले संयुक्त राष्ट्रसंघ, सरकार तथा गैरसरकारी निकाय, मिडियाकर्मीलगायत सबैले खाद्य स्वच्छता र खाद्य सुरक्षाका सवालमा गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका हुन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)द्वारा संयुक्तरूपमा आयोजित खाद्य तथा कृषि रूपान्तरणमा पत्रकारिता अर्थात् ‘क्यापासिटेटिङ जर्नालिस्ट फर एग्रिफुड सिस्टम ट्रान्सफर्मेसन’ कार्यशालामा वक्ता तथा प्रस्तुतकर्ताले नेपालमा खाद्य तथा कृषि सञ्चार प्रवद्र्धन विषय टड्कारो बनेको बताए ।
एफएओका भुटान र नेपालका प्रमुख केन शिमिजुले कृषि तथा खाद्य क्षेत्रमा विभिन्न किसिमका चुनौती सामना गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले एफएओ नेपालले पहिलोपटक पत्रकारहरूसँग साक्षात्कार गरेको उल्लेख गर्दै कृषि पत्रकारिता गरिरहेका पत्रकार तथा सञ्चारमाध्यमकोे उच्च प्रशंसासमेत गर्नुभयो । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारले कलम चलाउने विषय प्रशस्त रहेको र एफएओले पनि कृषि सञ्चारलाई प्राथमिकतामा राखेको शिमिजुको भनाइ थियो । उहाँले सामाजिक सञ्जालले फाइदा भइरहे पनि डिपफेक जस्ता नराम्रा गतिविधि चुनौतीका रूपमा आइरहेको भन्दै पत्रकारले यसतर्फ सचेत भएर लाग्नुपर्ने बताउनुभयो ।
नेपालमा दिगो खाद्य व्यवस्था तथा दिगो कृषि, हिमाल, वातावरण, कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौती, वातावरणीय परिवर्तनलगायत विषय उठान गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । कृषि समाचार बिकाउको मात्रै विषय नभएकाले पनि कृषि सञ्चारकर्मी अन्यभन्दा भिन्न र जिम्मेवार हुनुपर्ने शिमिजुको भनाइ थियो ।
कृषिको भविष्य निकै राम्रो रहेकाले युवाहरूले यसका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘म युवा पुस्तालाई आग्रह गर्न चाहन्छु, कृषि तथा खाद्य क्षेत्रमा काम गर्नुस् ।’ नेपालका लागि हिमालय क्षेत्र जोगाउनु अत्यन्तै महत्वपूर्ण हुने भन्दै त्यसका लागि एफएओ नेपालले काम गरिरहेको बताउनुभयो । शिमिजुले फुड एण्ड न्युट्रेसन सेक्युरिटी इन्हृयान्समेन्ट प्रोजेक्ट विभिन्न आठ जिल्लालाई समेटेर अघि बढाइएको भन्दै परियोजनाका लागि २० मिलियन अमेरिकी डलर बजेट रहेको जानकारी दिनुभयो । पाँचवर्षे परियोजनाले पर्यावरण जोगाउने, कृषि उत्पादन जोगाउनेलगायतका काम गर्नेछ । जसबाट ५५ हजार नागरिकले लाभ पाउने बताइएको छ ।
कार्यशाला प्रशिक्षक क्यानडाको युनिभर्सिटी अफ ओटवाका प्रोफेसर डा. भानुभक्त आचार्यले पत्रकारिताको वर्तमान अवस्था र चुनौतीबारे विश्लेषणात्मक प्रस्तुति दिँदै सञ्चार माध्यमले सूचना नभई समाचार दिनुपर्ने बताउनुभयो । अहिले कृषिसम्बन्धी अध्ययन अनुसन्धान तथा र एग्रिकल्चर एड्भोकेसीलाई सञ्चार माध्यमले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
आचार्यले अहिले कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौतीबारे बढी समाचार बनाउनुपर्ने सुझाव दिँदै पछिल्लो समय कृषि ऋण लिएर अन्यत्र खर्च गर्ने प्रवृति बढ्दो रहेकाले त्यसविरुद्ध कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबारे रिसर्च गर्नुस्, कृषकका नाममा बिचौलिया हावी भएर कृषि ऋण अपचलन गरिरहेका छन् ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले खाद्य स्वच्छता बढाउन लगानी बढाउनुपर्ने बताउनुभयो । आयातित खाद्यवस्तु नियन्त्रणका लागि आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको र ऐनमै यसलाई समावेश गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा अनाजका अध्यक्ष किरण आचार्यले कृषि पत्रकारितामा ध्यान दिनुपर्ने कुरासहितको प्रस्तुतीकरण दिनुभएको थियो भने समापन कार्यक्रमका सभापति एवं एफएओ नेपालका सहयोग प्रतिनिधि डा. विनोद शाहले एफएओले कृषि र वातावरणलाई सँगै राखेर दिगो विकास हुने कार्यक्रम अघि बढाइरहेको बताउनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts