जसपा बनेको दुई वर्षमै ‘तीन टुक्रा’, औपचारिक विभाजनका लागि काठमाडौंमा बाबुराम र वीरगञ्जमा उपेन्द्र पक्षको बैठक

Read Time = 10 mins

डिबी शर्मा/हिटा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजन हुने भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि जसपा फेरि विभाजन हुने भएको हो । विभाजनको पूर्व-सन्ध्यामा जसपाका दुवै पक्षले विस्तारित बैठक बोलाएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक आजदेखि (बुधबार) वीरगञ्जमा बस्दै छ । दुवै पक्षका यी दुई बैठकबाट जसपा औपचारिक रूपमा विभाजित हुनेछ । दुवै पक्षले आफूले बोलाएको बैठक आधिकारिक भएको दाबी गरेका छन् । अध्यक्षद्वय यादव र भट्टराईले यसअघि नै समझदारीमै अलग्गिने सहमति गरेका थिए ।
बाबुराम पक्षका दुई विकल्प : फेरि वैकल्पिक शक्ति बनाउने कि विचार मिल्नेसँग एकता ?

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा पुनर्गठन अनिवार्य र अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । मंगलबार आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा बहुमत रहे वा नरहे पनि पार्टी पुनर्गठन गर्नुपर्ने औँल्याउनुभयो । ‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुवै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ । पुनर्गठन कसरी गर्ने, ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको हो,’ उहाँले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यो विषयमाथि गम्भीर, सघन र विहङगम विचार विमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठकसामु छोड्न चाहन्छ ।’

उहाँले त्यसका लागि दुई विकल्पसमेत अघि सार्नुभएको छ । वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूहरूसँग रहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘हाम्रासामु दुई विकल्प हुन सक्दछन् । एक नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने,’ प्रतिवेदनमा भनिएको छ, ‘दुई- विचार, नीति, कार्यक्रम मिल्ने निकटम् शक्तिहरूसँग सहकार्य, धुव्रीकरण, एकीकरण गर्दै जाने ।’ प्रतिवेदनमाथि छलफलका लागि अध्ययन गर्न विभिन्न समूह बनाइएको छ । समूहगत छलफलपछि बैठकले एउटा निष्कर्ष निकाल्ने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुने गरी अध्यादेश ल्याएपछि २०७७ वैशाख १० मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जसपा गठन भएको थियो । पछि ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई समूहबीच मतान्तर देखियो । अन्ततः गत भदौमा पहिलोपटक जसपा विभाजन भयो । ठाकुर-महतो पक्षले लोसपा गठन गरेका थिए ।

ADVERTISEMENT

जसपा क्षेत्रीय दलमै सीमित भयो : भट्टराई
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिष्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको बताउनुभएको छ । देशभर पार्टीको संगठन विस्तार गर्ने हुटहुटी नहुँदा पार्टी क्षेत्रीय दलकै रूपमा सीमित भएको उहाँको आरोप छ । ‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेश आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्व र संवेदनशीलतालाई आत्मसात गर्दै एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो,’ उहाँले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेस, कम्युनिष्टजस्ता परम्परावादी मूलधार दलहरूको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो । तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो ।’ पार्टीले मधेश आन्दोलनको गरिमालाई विस्तार गर्ने कि इतिहासमा सीमित गरी त्यसको ब्याज मात्रै खाने भन्ने प्रश्न महत्वपूर्ण रहेको उहाँको भनाइ छ । जसपा संघीय भट्टराईले कार्यकारिणी समिति अध्यक्ष यादवमाथि विभिन्न समस्याहरू देखाउनुभएको छ । बाबुरामले यादवमा वैचारिक, संगठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या, सुशासन र डेलिभरीको मुद्दाप्रति बेवास्ता र भूराजनीतिक सोचमा भिन्नताजस्ता समस्या देखिएको आरोप लगाउनुभएको छ । यति हुँदाहुँदै पनि भट्टराईले यादव पक्षलाई वीरगञ्जको बैठक स्थगित गरेर वार्ता गर्न आह्वानसमेत गर्नुभएको छ ।

कांग्रेस र कम्युनिष्ट एकै सिक्काका दुई पाटा
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिष्ट एउटै सिक्काका दुई पाटाजस्तै बन्न पुगेको टिप्पणी गर्नुभएको छ । विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले दुवै दलले वर्तमान संविधानलाई संसारको उत्कृष्ट संविधान भन्दै दीपावली गरेको स्मरण गर्नुभयो । कांग्रेसले अभ्यास गरिरहेको नवउदारवादी अर्थनीतिभन्दा फरक एमाले, माओवादी र एस माजवादीले कुनै तात्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न नसकेको उहाँको भनाइ छ ।

उहाँले नेपालका सबै कम्युनिष्ट घटक दलहरू विभिन्न झुण्डमा रहे पनि एउटै चरित्रका रहेको उल्लेख गर्नुभएको छ । उहाँले कम्युनिष्टलाई ‘पाखण्डी’को संज्ञा दिनुभएको छ भने कांग्रेसको विचारलाई ‘खच्चड’ भनेर टिप्पणी गर्नुभएको छ । ‘कम्युनिष्टका सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । यी समूहहरू बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन । केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो,’ प्रतिवेदनमा भनिएको छ, ‘भन्ने एउटा गर्ने अर्कोजस्तो पाखण्डी चरित्र प्रदर्शनमा उस्तै छन् । दस्तावेजमा कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा ‘समाजवाद’ अहिलेसम्म कहीँ कतै देखिएको छैन । कांग्रेसले भन्ने गरेको प्रजातन्त्र पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्र मात्र हो ।’

२३० केन्द्रीय सदस्य उपस्थित, प्रतिनिधिसभाका १० सांसद आफ्नो पक्षमा रहेको दाबी
जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले उनीहरूले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा २३० केन्द्रीय सदस्य सहभागी रहेको दाबी गरेको छ । कुल ४९९ केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये मंगलबारको बैठकमा ४६ प्रतिशत उपस्थित रहेको नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो । विस्तारित बैठकमा उपस्थित रहेको संख्या कुल केन्द्रीय समितिको ४६ प्रतिशत हो । उहाँका अनुसार प्रतिनिधिसभाका १० जना सांसदको समर्थन पनि भट्टराई पक्षलाई रहेको छ । ‘हामीसँग १० जना सांसदहरूको समर्थन रहेको छ । कानुनी अड्चनको कारण अहिले खुल्न सक्नुभएन,’ उहाँले भन्नुभयो, ‘कानुनी अड्चन हटेपछि उहाँहरू खुल्नुहुन्छ ।’ राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संघीय संसद्मा ४० प्रतिशत सदस्यले दल विभाजन गर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?