काठमाडौं । ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट भन्ने नाराका साथ डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभका लागि एनसेल, युकेएड र एसिया फाउण्डेसनसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले सहकार्य गरेका छन् । आयोजकका अनुसार कन्क्लेभमा सात सेसनमा ५० भन्दा बढी विशिष्ट र विज्ञ वक्ता रहेका छन् ।
प्रधानमन्त्रीले उद्घाटन र समापन पावर संवादमा केपी शर्मा ओलीको सहभागिता रहने कन्क्लेभमा सञ्चारमन्त्री र अर्थमन्त्रीको समेत उपस्थिति रहने आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो । कन्क्लेभमा डिजिटल नेपालका लागि नवीनतम प्रविधि तथा इनिसिएटिभ्स प्रस्तुति र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ ।
कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्क्युजन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसिप र डिजिटल रूपान्तरणमा अबको दिशालगायतका विषयमा सेसन र प्रस्तुति रहने बताइएको छ ।
कन्क्लेभमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपसहित पाँच सय बढीको सहभागिता रहने आयोजकको अनुमान छ ।






