काठमाडौं । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नाराका साथ ५ जुन अर्थात् बुधबार विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइने भएको छ । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ वातावरण दिवस मनाइने भएको हो । राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।
वातावरण दिवसकै अवसरमा फोहोरमैला व्यवस्थापन संघ नेपालद्वारा आयोजित फोहोरमैलासम्बन्धी दुर्ईदिने सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताउनुभएको थियो । सम्मेलनले फोहोरमैला व्यवस्थापनका लागि कस्तो नीति नियम बनाउँदा उचित हुने भन्नेबारे सरकारलाई सल्लाह र निचोड प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । आयोजक संस्था क्रियसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको विषय सबैको सरोकारको विषय भएको भन्दैै छलफलभन्दा पनि ठोस कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण आवश्यक हुने उहाँको भनाइ थियो ।
फोहोरमैला व्यवस्थापनमा द्विपक्षीय र बहुपक्षीय एजेन्सीबाट लगानी विषयमा आयोजित पहिलो सत्रमा विश्व बैंकलगायतका प्रतिनिधिले फोहोरमैला व्यवस्थापन क्षेत्रमा लगानीबारेमा प्रकाश पारेका थिए । छलफलमा सहभागी विज्ञहरूले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको भन्दै नीतिगत सुधारमा जोड दिएका थिए । पहिलो सत्रमा विश्व बैंक, इसिमोड र एफएचआईका तीन सय ६० प्रतिनिधिले छलफल सत्रमा भाग लिएका थिए भने दोस्रो सत्रमा सञ्चार जगत्ले फोहोरमैला व्यवस्थापनको विषयलाई कसरी उठान गरिरहेका छन् भन्ने विषयमा नागरिक दैनिकका प्रधान-सम्पादक गुणराज लुईंटेल र लोकान्तर डट कमका प्रधान-सम्पादक विमल गौतमले प्रकाश पार्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता पूर्वमन्त्री गणेश साहले गर्नुभएको थियो ।
सोही अवसरमा फोहोरमैला व्यवस्थापन संघ नेपालको नेतृत्वमा ललितपुरमा प्रभातफेरीसमेत आयोजना गरिएको थियो । शहरी क्षेत्रमा फोहोरमैला संकलन, सडक तथा सार्वजनिक स्थल सरसफाइ, पुनःप्रयोग, न्यूनीकरण, प्रांगारिक मल उत्पादन तथा अन्तिम व्यवस्थापन कार्यमा क्रियाशील संस्थाको छाता संगठनका रूपमा संघले फोहोरमैला व्यवस्थापन तथा शहरी सरसफाइका सन्दर्भमा विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts