बागलुङ । संघीयतापछि स्थानीय सरकारले कृषिमा आधुनिकरणको नाममा धमाधम मिनी टेलर हलो अनुदानमा वितरण गरे । गोरुको पालनपोषण गर्न आजित भएका किसानले ठूलो राहत मान्दै मिनी टेलर हलोको सहायताले खेतबारी जोत्न थाले । वर्षभरी गोरुलाई जस्तो पालन पोषण गर्न नपर्ने र थोरै लागतमा खेतबारी जोत्न सहज हुँने भन्दै किासनले धमाधम मिनी टेलर हलो भित्राए ।
आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज पनि भयो, सस्तो पनि पर्यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो । बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा मिनीटेलर हलोले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानहरुले समेत पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको चमुवा फाँटमा रोपाईमा व्यस्त रतन बहादुर सुनारले बताउनुभयो । चमुवा फाँटमा अहिले पाँच हलगोरु तीन दिनदेखि खेत रोपाईमा प्रयोग भइरहेका छन् ।
“मिनी टेलर हलोले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समेत समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो मिनी टेलर हलोले जोत्दा बाउसेलाई समेत समस्या हुने देखियो, हेर्दा छिटो र छरितो भएपनि दीर्घकालिन रुपमा गोरले जोत्दा नै खेतियोग्य जमिनलाई राम्रो भएको हामीले महशुस गर्यौ” सुनारले भन्नुभयो “चमुवा क्षेत्रमा मिनी टेलर हलो नआउदै १० हलगोरु थिए, मिनी टेलर हलो आएपछि धेरै गोरु बिक्रि गरे, पालेकाले समेत हल गोरु पाल्न नसक्दा एउटा गोरु पाल्न थाले, पछि मिनी टेलर हलोले जोत्दा भन्दा गोरुले जोत्दा राम्रो बाली भएको पाइयो, मिनीटेलर हलोलाई आवश्यक पेट्रोलको भाउ समेत दोब्बर भयो, त्यसैले पुनः गोरुले खेत रोप्न थालियो ।”
गोरुको महत्व बढ्न थालेपछि चमुवामा अहिले पाँच हल गोरु छन् । चमुवा फाँटको एक महिना लामो रोपाई गोरुकै सहायताले गर्ने योजना रहेको छ । छ दिनको मेलो रोपाईका लागि खेत तयारी गर्नुभएका शेर बहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न थालिएको जानकारी दिनुभयो ।
“चमुवा फाँटमा जेठको १० गतेबाट रोपाई शुरुभयो, असार १५ सम्म निरन्तर रोपाई चल्छ, पाँच छ दिनको मेलो एकै दिनमा सक्नेगरी पाँच हल गोरु र १५ जना खेताली, ६ जना बाउसे तैनाथ छन्, यहाँ काम गराएको पैसा दिनु पर्दैन, आज हाम्रोमा भोली अर्काकोमा खेत रोप्न जाने हो, गोरु तित्तिने भए भन्ने चिन्ता थियो, फेरी पाँच हल गोरु जुटाइयो, मिनी टेलर हलो र गोरुले जोत्दा लागत बराबर पर्न गएपछि गोरुनै पाल्न थालिएको छ ।”
पेट्रोलको मुल्य दोब्बर हुनु र पटक पटक उपकरण विक्रिदा समस्यामा परेका किसानहरु मिनी टेलर हलो छोडेर पुन गोरु पाल्न थालेको बताएका छन् । गोरु लोप हुँन थालेपछि पछिल्लो एक वर्ष यता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपाकिलाले गोरु पाल्ने किसानलाई प्रोत्साहन समेत गर्न थालेका छन् । एक हल गोरु पाल्ने किसानलाई रु. १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
यस्तै बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु. चार लाख बजेट कार्यान्वयनमा लैजान थालेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । कृषिमा आधुनिकरणका कारण गोरु लोप हुँन थालेपछि गोरु पालने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढ्न थालेको छ । थ्रेस मेसिन र ठूलो ट्याक्टरले उत्पादन लागत घटाउने भएपनि पेट्रोलको मुल्य बढ्न थालेपछि मिनी टेलर हलोको भने प्रयोग बिस्तारै घट्न थालेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts