काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीका लागि आग्रह गर्नुभएको छ । नेपालका लागि बेलायती राजदूत रोब फेनसँग शुक्रबार भएको भेटमा उहाँले नेपालमा वैदेशिक लगानीको सम्भावनाका साथै सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनबारे पनि जानकारी गराउनुभयो ।
दुई देशबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुर्ई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको अवस्थाबारे पनि उहाँले राजदूतलाई जानकारी गराउनुभएको थियो ।
महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रिया सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको जानकारी दिँदै ढकालले राजदूत फेनलाई नेपालमा जलविद्युत् क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताउनुुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्णरूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्र छन् ।’
सो अवसर महासंघका उपाध्यक्ष हेमराज ढकाल, लगानी फोरमका सभापति मनोज पौडेलले पनि नयाँ लगानीका अवसरबारे जानकारी गराउनुभएको थियो । राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा महासंघलाई धन्यवाद दिँदै दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राख्नुभएको थियो । सोहीक्रममा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गर्दै नेपालले उक्त सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि राजदूतलाई आग्रह गर्नुभएको थियो । सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपालले निर्यातमा ड्युटी फ्री सुविधा गुमाउने उहाँको भनाइ थियो ।






