
काठमाडौं । गत फागुन तेस्रो साता एक्कासि सत्ता समीकरण फेरिँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बेखबरजस्तै हुनुहुन्थ्यो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको तत्कालीन सत्ता गठबन्धनमा रहनुभएका उहाँ एक्कासि नयाँ समीकरण बनेपछि ‘जिल्लिनु’ भएको थियो । आफूसँग कुनै सरसल्लाह नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण बनाएको भन्दै केही समय घुर्कीसमेत लगाउनुभयो । नयाँ समीकरणमा बस्ने कि कांग्रेस सहितको विपक्षी गठबन्धनमा सामेल हुने ? दोधारबीच उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समानान्तर संवाद गर्नुभएको थियो । विपक्षी गठबन्धन नबन्ने देखेपछि उहाँ ‘लत्रिएरै’ भए पनि नयाँ समीकरणमा सामेल हुनुभयो । नयाँ समीकरणमा सामेल भएको तीन महिना पुग्नै लाग्दासमेत उहाँको दोधार हटेको छैन । नेपाल एमाले-माओवादी सहितको नयाँ सत्ता गठबन्धनमा सामेल भए पनि विपक्षी गठबन्धन सँगको संवाद पनि टुटेको छैन । यसबीचमा उहाँले कांग्रेस सभापति देउवालाई तीनपटक भेटिसक्नु भएको छ ।
देउवासँग उहाँको पछिल्लो (बुधबार साँझ) भेट अहिले चर्चामा छ । जुन ‘वन टु वन’ पनि थिएन । बुधबार साँझ उहाँ कांग्रेस सभापति देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी हुनुभएको थियो । देउवासहित विपक्षी गठबन्धनको बैठकमा सहभागी भएसँगै एकपटक फेरि उहाँको ढुलमुले नीतिको चर्चा हुन थालेको छ । बुधबार कांग्रेस सभापति देउवाले मधेश प्रदेश सरकार केन्द्रित छलफलका लागि एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीलाई घरमा डाक्नुभएको थियो । त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरद्सिंह भण्डारी पुग्दै गर्दा नेपाल पनि नेता मेटमणि चौधरीलाई लिएर पुग्नुभएको थियो ।
छलफल मूलतः मधेश सरकार निर्माणमा केन्द्रित भएको नेताहरूले बताएका छन् । एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको छ । तथापि, एकीकृत समाजवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुनाले मुख्यमन्त्री यादवसँग ३० जेठ भित्रको समयावधि छ । यसअघि ५ वैशाखको साँझ पनि उहाँले कांग्रेस सभापति देउवा सहितका नेताहरूलाई भेट्नुभएको थियो । उहाँको भेटसँगै विपक्षी गठबन्धन बन्न लागेको चर्चा भएको थियो । तर, यही बीचमा सत्तारूढ जसपा नेपाल विभाजित भएपछि त्यो सफल हुन सकेन । प्रतिनिधि सभामा जम्मा १० सिट रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको महत्वाकांक्षा भने ठूलो छ । उहाँले दुवैतिर ‘प्रधानमन्त्रीको बार्गेनिङ’ गरिरहेको चर्चासमेत हुँदै आएको छ ।
पार्टीभित्रै दोहोरो दबाब, चेपुवामा नेपाल
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीभित्र स्पष्टै रूपमा दुई धार छन् । नेपाल एमालेबाट छुट्टिएर आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहनु भएको छ । जसका लागि उहाँले सत्तामा पनि रहिरहने र प्रतिपक्षसँग पनि सिरानी थापिराख्ने दोहोरो रणनीति अपनाएको टिप्पणी हुँदै आएको छ ।
पार्टीका बैठक र ठूला निर्णयमा समेत दुईथरी धारणा आउने गरेका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपाललाई निरन्तर चुनौती दिइरहनु भएको छ । नेता खनाललाई पनि अध्यक्ष नेपालको ढुलमुले नीति मन परेको छैन । उहाँ निरन्तर वाम शक्तिहरू एक ठाउँमा हुनुपर्ने पक्षमा हुनुुहुन्छ । तर, अध्यक्ष नेपाल भने घरी यता र घरी उता छलफल गरिरहनु भएको छ । अध्यक्ष नेपाल सत्ता समीकरणमा सहभागी भएर पनि निरन्तर कांग्रेससँग उठबस गरिरहनु भएको छ । कांग्रेस सभापति देउवाले राखेको विपक्षी दलको बैठकमा गएपछि उहाँमाथि झन् शंका बढेको छ । अध्यक्ष नेपाल र नेता खनालबीच मात्रै होइन पार्टीको तल्लो तहसम्मै दुई धार छ । अध्यक्ष नेपाल बूढानीलकण्ठ पुगेको भोलिपल्ट (बिहीबार) बिहानै नेता खनाल बालुवाटार पुगेर आफ्नो पार्टी यही सरकारको पक्षमा दृढ रहेको वचन दिनुभयो । ‘हामी यही सरकारको पक्षमा छौँ । वाम सहकार्य सुदृढ बनाउनेबारे छलफल भएको छ,’ बालुवाटारबाट फर्केपछि उहाँले भन्नुभयो, ‘यो समीकरण अलि बढी आयु लिएर आएको छ । सरकारलाई हाम्रो दृढ समर्थन रहनेछ ।’
त्यसो त एकीकृत समाजवादीले एमाले-माओवादी सहितको समीकरण छाडे पनि अहिले सत्ताको गणितमा फेरबदल हुनसक्ने अवस्था छैन । केही प्रदेश सरकारमा भने सरकार फेरबदल हुनसक्छ । सहकार्य थालेको तीन महिना कट्दासमेत एमाले अध्यक्ष ओली सँगको सम्बन्ध सुध्रिएको छैन । यी दुई नेता अझै पनि एक–अर्काविरुद्ध आक्रोश पोख्दै आइरहेका छन् । अध्यक्ष नेपाल ओली सँगको सहकार्यमा कम्फर्टेबल नभएको निष्कर्षको साथ अघि बढ्न खोज्दा नेता खनाल पक्षधर संघदेखि प्रदेशसम्म वाम मोर्चालाई नै निरन्तरता दिनुपर्ने पक्षमा अडिग छन् । नेता झलनाथ खनालले वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने बताउनुभएको छ । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उहाँले संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम एकतालाई सृदृढ बनाएर लैजाने बताउनुभएको हो ।
माधवजीको यताउता गर्ने बानी छ तर, सत्ता समीकरण केही हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गर्नुभएको छ । बिहीबार ‘श्रमाधान रोजगार मेला’को उद्घाटन गर्न विराटनगर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गर्नुभएको हो । उहाँले नेपालको यताउता गर्ने बानी भने रहेको टिप्पणी गर्नुभयो । तर, आफूसँग कुरा हुँदा उहाँले समीकरणभन्दा बाहिर नरहेको जवाफ दिएको प्रचण्डले बताउनुभयो । ‘माधवजी पहिलादेखि नै उता पनि, यता पनि दुवैतिर जोडिने जस्तो देखिएको त थियो । मैले त्यसलाई त्यति असहज ठानेको छैन,’ बूढानीलकण्ठमा आयोजित विपक्षी गठबन्धनको बैठकमा नेपाल सहभागी भएको प्रसंगबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भन्नुभयो, ‘तर, बिहीबार बिहान मेरो कुरा हुँदा समीकरणभन्दा बाहिर छैन भन्ने कुरा क्लियर गर्नुभएको छ ।’ मधेश प्रदेशमा पनि समीकरणभन्दा बाहिरबाट अर्को सरकार नबन्ने उहाँले दाबी गर्नुभयो । ‘समीकरणभन्दा बाहिर मधेशमा अर्को सरकार बन्दैन । अहिलेको जुन समीकरण छ त्यही सरकार बन्छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
‘फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ’
प्रधानमन्त्री प्रचण्डले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउनुभयो । ‘अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ । समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा एउटा ठूलो शक्ति सञ्चयको अपेक्षा गर्दछ । देशभित्र मात्रै होइन विश्वभरका सबै न्यायप्रेमी जनसमुदायसँग एउटा ठूलो एकताको अपेक्षा राख्दछ,’ उहाँले भन्नुभयो, ‘अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ । किनभने क्रान्तिको बाटो सरल रेखामा जाँदैन । रणनैतिक रूपमा कतातिर सोच्दै छौँ भन्ने बारेमा ध्यान दिनुपर्छ । राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रूपमा हामी अघि बढिरहेका छौँ ।’
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभयो ।
दोहोरो भूमिकाले उहाँलाई नै क्षति पुर्याउँछ : भण्डारी
नेकपा एमालेका नेता दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका देखाइरहेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहनुभएका भण्डारीले नेपालले कांग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाउनुभयो । दोहोरो भूमिकाले स्वयं नेपाललाई नै क्षति पुग्ने भण्डारीको भनाइ थियो । ‘सत्तामा बसेर प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयं उहाँलाई नै क्षति पु¥याइरहेको छ । उहाँको पार्टी, विचार र अस्थिरताले यो खालको संकट धेरै लामो रहँदैन । चाँडै निकास पाउँछ,’ भण्डारीले भन्नुभयो, ‘सत्तामा पनि रहिरहने प्रतिपक्षसँग पनि सिरानी थापिराख्ने कुरो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ ।’ मन्त्री भण्डारीले अध्यक्ष नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच