काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको जनाएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै बजेटले आशा जगाएको महासंघ अध्यक्ष रणजित पोदारले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले स्थापनाकालदेखि आइसिटी क्षेत्रलाई प्राथमिकता दिन बारम्बार लबिङ गर्दै आएका थियौं ।
पछिल्लो बजेटले भने यस क्षेत्रमा सकारात्मक तरंग ल्याएको छ, बजेटमा प्रस्तुत कार्यक्रम कार्यान्वयन हुने हो भने देश साँच्चिकै रूपान्तरणको बाटोमा लाग्नेछ ।’ यसपटकको बजेटमा नेपाललाई सूचना प्रविधि हबका रूपमा विकास गर्नेगरी विभिन्न कार्यक्रम घोषणा गरिएको छ । यसअन्तर्गत १० वर्षमा ३० खर्ब बराबरको आइटी सेवा निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष रोजगारी तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । उक्त महत्वाकांक्षी लक्ष्य राखेर सरकारले आइटी क्षेत्रलाई विशेष प्राथमिकता दिएको अध्यक्ष पोदारको विश्वास छ ।
काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवनसमेत उपयोग गरी इन्टरनेट, बिजुली, सुरक्षालगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने र आइटी कम्पनीका लागि तीन वर्षसम्म वर्क स्टेसनका लागि निःशुल्क स्थापना उपलब्ध गराउने योजना सकारात्मक भएको महासंघले जनाएको छ । काठमाडौंमा सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालन गर्न संरचना निर्माण गर्ने योजनासमेत रहेको छ । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले विगतभन्दा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै बजेट स्वागतयोग्य रहेको बताउनुभएको छ । अधिकारीका अनुसार सूचना प्रविधि क्षेत्रमा लाभांश कर दिने योजना पनि स्वागतयोग्य छ ।
त्यस्तै स्टार्टअप फण्ड, स्टार्टअप बोर्डको अवधारणाले आइटी क्षेत्रका नवउद्यमीलाई प्रोत्साहन मिल्नेछ । सूचना प्रविधिमा आधारित उद्यमशीलतामा जोड दिने सरकारको योजना राम्रो हो । बजेटमा सार्वजनिक क्षेत्रमा सूचना प्रविधिको पहुँच, डिजिटल करेन्सी, सूचना प्रविधिमा आधारित ज्ञान पार्कलगायतलाई पनि समेटिएको र स्वदेशी सफ्टवेयरको प्रवद्र्धन गर्ने योजना पनि स्वागतयोग्य रहेको क्यान महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सूचना प्रविधिमा सकारात्मक कार्यक्रम ल्याउँदा ल्यापटपमा पाँच प्रतिशत अन्तःशुल्क राखिएकोमा भने क्यानले असन्तुष्टि व्यक्त गरेको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइनु न्यायोचित नहुने क्यानको जिकिर छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा