श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा चिनी मिलका तर्फबाट हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवर्द्धन महाशाखा प्रमुख रहनुभएको छ ।

मन्त्री भण्डारीले बजेट अगाडि सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले उद्योगलाई अन्यत्र सार्नुभन्दा सोही स्थानमा सञ्चालन गर्न सुझाव दिनुभयो ।

एक हप्ताभित्र सो उद्योगका समस्याको टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सरोकारवालासित आग्रह गर्नुभयो । “बन्द उद्योग सञ्चालन गर्ने सरकारको उदेश्य छ, हामी यो चिनी मिललाई बन्द गर्न वा सार्न भन्दैनौँ, बरु सञ्चालनका लागि के गर्न सकिन्छ त्यसमा मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।

मिल सञ्चालनका लागि गर्नुपर्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग आवश्यक सहजीकरणका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ठाउँ सारेर कुनै फाइदा हुँदैन, बरु त्यही ठाउँमा सञ्चालनको वातावरण बनाउन म तयार छु, प्रधानमन्त्री र अर्थमन्त्रीसँग यस विषयमा कुरा गर्नुपरे सरोकारवालासहित म पनि छलफलका लागि जाउँला ।”

छलफलमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, कल्याणी खड्कालगायतले बन्द उद्योग सञ्चालन गर्नका लागि मन्त्री भण्डारीलाई मन्त्रालयका तर्फबाट आवश्यक पहलकदमीका लागि आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँहरुले उक्त उद्योग अन्यत्र सारिए रौतहटका किसानले चर्को आन्दोलन गर्ने चेतावनी दिइसकेकाले अहिले रहेकै ठाउँमा सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले मिल अन्यत्र सारेर लग्न नदिइने पनि बताउनुभयो । सभापति खानले सोही स्थानमा उद्योग सञ्चालनका लागि स्थानीय किसानबाट हुने सबै किसिमको सहयोग जुटाउने प्रतिबद्धता जनाउनुभयो । उद्योग बन्द हुँदा धेरैको रोजगारी गुमेको र त्यही स्थानमा सञ्चालन हुँदा स्थानीय जनताले थुप्रै अवसर पाउने उहाँहरुको भनाइ छ ।

छलफलमा उद्योग सचिव कृष्ण राउत, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लगायत स्थानीय सरोकारवाला र उद्योगका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

विसं २०४९ सालमा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द अवस्थामा रहेको छ । झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गर्नुभएको छ । जग्गाको भने लिलाम गरिएको छैन ।

अग्रवालले मिल अन्यत्र जिल्ला सार्न खोजेपछि स्थानीय किसान सङ्घर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् । किसानले सोही ठाउँमा मिल सञ्चालन गर्न दबाब दिँदै आएका छन् । मिल सञ्चालनका विषयमा विभिन्न चरणमा छलफल तथा वार्ता गरिए पनि सार्थक हुन सकेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *