काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आफ्नो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्नुपर्ने माग गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
उहाँले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूप्रति आक्रोशसमेत व्यक्त गर्नुभएको छ । महरले वर्तमान सत्ता गठबन्धनका राजनीतिक दलहरूका केही शीर्ष नेताहरूको विगत देखिकै जनविरोधी हर्कतबाट जनता पीडामा बस्न बाध्य भएको भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘खर्बौंको सहकारी रकमको ठगी, खर्बौंकै सरकारी जग्गा (गिरीबन्दु टी-स्टेट) लगायतका काण्डमा ठूला माछाका नाममा स्थापितहरू स्पष्ट रूपमै जनता स्वयंले किटान गरिसकेका छन् । अहिले सरकारमा संलग्न यी श्वेत अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित कांग्रेस, संसद् र सडकमा संघर्षरत छ ।’
नेता महरले कम्युनिष्ट र नयाँ दललाई लक्षित गर्दै भन्नुभएको छ, ‘संसद्लाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणामा विश्वास राख्नेहरू र पपुलिजमका नाममा कुनै राजनीतिक आइडियोलोजी बनाई नसकेकाहरूबाट संसदीय व्यवस्थाको गरिमा बढाउन पूर्णसाथ समर्थन रहने कुरामा जनताको तहबाट शंका आशंका छँदै छ ।’
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्नुपर्ने माग गर्दै उहाँले भन्नुभएको छ, ‘वर्तमान समसामयिक विषयवस्तुलाई जनमानसमा लैजान र जनविरोधी कार्यको भण्डाफोर गर्नका लागि साझा धारणा बनाउन लामो समयदेखि बस्न नसकेको नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न जोडदार माग गर्दछु ।’






