१३२ केभी बुर्तिबाङ सवस्टेशनको काम अन्तिम चरणमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सवस्टेशन अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रशारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरदेखि सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन वि.सं. २०७८ सालदेखि निर्माण सुरु भएको हो । ढोरपाटन नगरपालिका-२ खल्टुबोटमा निर्माण भइरहेको सवस्टेशनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको १३२ बुर्तिबाङ सवस्टेशन आयोजनाका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।

वि.सं. २०७६ सालमा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो । मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन वि.सं. २०७८ चैत १२ गते परीक्षण गरि सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सवस्टेशन भने आगामी बैशाख १९ गते प्रमुख परीक्षण गर्ने तयारी रहेको चौधरीले बताउनुभयो । गुल्मीकै पौँदीअमराई र बागलुङको बुर्तिबाङक सवस्टेशन अगामी असारमा परीक्षण गर्ने गरि काम भइरहेको उहाँको भनाइ छ । ‘१३२ केभी बुर्तिबाङ सवस्टेशन’का निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरि ४० करोडमा मुडभरी/जोसी/गौरा जेबीलाई जिम्मा दिएको उहाँ बताउनुहुन्छ ।

लाइन विस्तारका लागि करिब लाइन ८३ करोडको लागतमा सिक्माकोन/एमएसपील जेबीलाई जिम्मा दिइएको चौधरीको भनाइ छ । अहिले सवस्टेशनसँगै टावर निर्माण गरि लाइन तान्ने काम पनि अगाडि बढेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा असारमा परीक्षण गर्न सकिने अपेक्षा रहेको चौधरी बताउनुहुन्छ । कपिलवस्तुदेखि बुर्तिबाङ ८६ किलोमिटर रहेको भन्दै डबल सर्किटको तार विस्तार हुने छ ।

प्रमुख चौधरीले भन्नुभयो - “सवस्टेशन बनाउने र लाइन तान्ने निर्माण कम्पनीहरुले धमाधम काम गरि रहेका छन्, असारसम्म कुनै प्राबिधिक अवरोध नभए परीक्षण गर्ने योजना छ, निर्माण कम्पनीको समयावधि पनि असारसम्म मात्रै हो, समान सबै आएको छ, अब फिल्डको काम मात्रै बाँकी छ, पौँदी अमराई र बुर्तिबाङ एकै पटक परीक्षण हुन्छ, काम पनि एकै गतिले भएको छ, सन्धिखर्क र तम्घासको सवस्टेशन परीक्षणपछि अहिले निरन्तर संचालन भइरहेका छन् ।”

ADVERTISEMENT

सदरमुकाम बागलुङ बजारका आसपासमा केही वर्ष अगाडिनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि पश्चिम बागलुङ भने जोडिन सकेको थिएन । अघिल्लो तीन वर्ष अगाडिदेखि विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ । अहिलेसम्म निसीखोला र तमानखोला केन्द्रीय लाइनले जोडिन सकेका छैनन् । यद्यपी प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको गाउँ-गाउँसम्म अहिले विद्युतीय पोल गाड्ने र तार तान्ने काम भने गरि रहेको छ । हालसम्म जल विद्युतकै भरमा रहेका पश्चिम बागलुङवासी अब केन्द्रीय प्रशारण लाइनले जोडिने भएका छन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पाँच वर्ष अगाडिसम्म यहाँका दुर्गम बस्तीहरुमा विद्युतको पहुँच नपुगेको भन्दै अहिले जलविद्युतबाट एउटा चिम भए पनि बाल्न पाएको बताउनुभयो । बर्खाको समयमा बाढीले विद्युतको नहर बगाई दिँदा अन्धकारमा बस्नु पर्ने र हिउँमा पानी कम भएर विद्युतनै प्रवाह नहुने समस्याले आजित बनेका नागरिकका लागि ‘१३२ केभी बुर्तिबाङ सवस्टेशन’ले ठूलो राहत दिने अध्यक्ष बुढा मगरको भनाइ छ ।

“बुर्तिबाङ बागलुङकै दोस्रो ठूलो व्यापाकरीक केन्द्र हो, यस आसपासमा धेरै गाउँहरु छन्, यहाँ पनि विद्युत आपूर्तिमा समस्या छ, ग्रामीण क्षेत्रमा त बाह्रै महिना निरन्तर विद्युत आपूर्ति हुन सकेको छैन” अध्यक्ष बुढा मगरले भन्नुभयो - “‘१३२ केभीको बुर्तिबाङ सवस्टेशन’ संचालनमा आयो भने पश्चिम क्षेत्रमा विद्युतको समस्या हुने छैन, साना तथा मझौला उद्योग संचालनमा पनि समस्या हुने छैन भने ठूला-ठूला कलकारखान संचालनमा सहज हुने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?