नेपाली पत्रकारितालाई राजनीति र कर्पोरेट स्वार्थबाट सबैभन्दा ठूलो खतरा छ (भिडियाेसहित)

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 10 mins

काठमाडाैं । राजनीतिज्ञ र पत्रकारिता क्षेत्रमा संलग्नहरुले राजनीतिक र कर्पोरेट स्वार्थका कारण नेपाली पत्रकारिताको विश्वास गुम्दै गएको भन्दै यी दुई आग्रहबाट पत्रकारिता क्षेत्र मुक्त हुनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालले शुरु गरेको मिडिया टकका लागि पत्रकार तीर्थ कोईरालासँग कुरा गर्दै पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की र पत्रकार पुरुषोत्तम दाहालले स्वार्थ र दलीय आस्थाबाट पत्रकारिता माथि उठेमात्र व्यवसायिक बन्ने बताउनुभएको हो ।

पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेता कार्की र पत्रकार दाहाल दुवैले पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले पत्रकारिता बचाउन राजनीतिक संयन्त्रको महत्वपूर्ण भुमिका हुने बताउँदै दलहरुलेसमेत पत्रकारिता बचाउन प्रण गर्नुपर्ने बताउनु भयो । कार्कीले पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारितालाई दलगत आस्थाभन्दा माथि उठाउन अब प्रयास हुनुपर्ने उहाँको भनाइ छ ।

पत्रकार दाहालले दलपिच्छेका पत्रकार संगठन र अमुक पार्टीको हकहितका लागि धेरैजसो पत्रकार लागेका कारण पत्रकारितामा संकट गहिरिँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलैपिछेका पत्रकार संठठन भए । पत्रकार महासंघ चाहीँ महागठवन्धन बन्यो । महासंघमा पत्रकारको हकहितको भन्दा अमुक पार्टीको प्रतिनिधित्व गर्ने प्रचलन बस्यो जुन सच्चिनुपर्छ । छाता बाहेकका पत्रकारको संगठन हुनुहुँदैन ।’

कोईरालासँगको कुराकानीका क्रममा नेता कार्कीले विगतमा जस्तो नेतासँग बोल्दापनि ‘हुकुम होस्’ त भन्ने खालको पत्रकारिताले धेरै फड्को मारेको भएपनि मुद्दामा आधारित पत्रकारिता भने अझै फष्टाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

‘राजनीतिको प्रभाव पत्रकारितामा पनि पर्छ । हिजो मिसन पत्रकारितामा प्रभाव अवस्य थियो । तर आज राजनीतिले पनि कमाण्ड गर्न सकेन । पत्रकारिताले पनि यसमा कम काम गरेको छ,’ उहाँले भन्नुभयो ।

नेता कार्कीले पत्रकारिता पेशाप्रति विश्वास घट्दै जानुमा राजनीतिक संयन्त्रमात्र नभएर पत्रकारसमेत जिम्मेवार रहेको दाबी गर्नुभयो ।

‘संसदमा समेत नेताका आफ्ना पत्रकार छन् । आफ्नो मान्छे बोल्न थालेपनि फोटो शुरु हुन्छ आफ्नो कथा आफैँ लेखाउने पकेट जर्नालिजम मौलाएको छ ।’ उहाँले भन्नुभयो, ‘नेताका आफ्ना मिडिया छन् जसले आफ्नै कुरामात्र बोल्छन् । नेपालमा यो खाले स्वतन्त्रताको हद नाघेको छ कतै नटिक्ने हो कि भन्ने चिन्ता छ ।’

उहाँले कर्पोरेट हाउसहरुको एकाधिकार मिडियामा कायम हुने खतरा पनि उत्तिकै देखिन थालेको भन्दै सरकारले जनताका पक्षमा लेख्ने मिडियालाई प्रोत्साहित गर्ने हो भने जनताले पनि मिडियाको विश्वास गर्ने अवस्था बन्ने बताउनु भयो ।

‘तर मिडियाले विषयवस्तुमा स्थायी दृष्टिकोण नै बनाएनन् । एकसाता अघि एउटा होटल खराब हुन्छ, त्यही होटल अर्को हप्ता आरामदायी हुन्छ कन्टेन्टमा, यसरी विस्वास गुम्दैछ पत्रकारिताको’ कार्कीको बुझाइ छ ।

राज्यका सबै अंगमाथि प्रश्न उठेका बेला मिडियाले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बेलामा मिडियाले ठिक बोल्छ भनेर जनतालाई विश्वास दिलाउने गरी पत्रकारिता गर्न जरुरी भएको भन्दै उहाँले यसमा मिडिया गम्भीर बन्नुपर्ने बताउनु भयो ।

उहाँले समानुपातिक विज्ञापन नीति लागू हुने र लोककल्याणकारी विज्ञापनको पारदर्शी वितरण भयो भने पनि पत्रकारिता बाँच्न सक्ने भन्दै भाषण पत्रकारिता र सिंहदरबार केन्द्रित विषयवस्तु मात्र पत्रकारितामा आउन नहुने बताउनु भयो ।

ADVERTISEMENT

‘दूरदराजका जनताका सवाल पत्रकारितामा कम आयो । स्थानीय विषयवस्तु कम भए । छापेबापत भन्दा नछापेबापत पत्रकारले बढी पाउन थाले । गम्भीर ढंगले पत्रकारिता भएन र भाइरलको पछि लाग्दै गयो भने पत्रकारिता अन्नतः मर्छ,’ उहाँले भन्नुभयाे ।

अन्तर्वार्ताका क्रममा पत्रकार पुरुषोत्तम दाहालले मिडिया समाजलाई नेतृत्व दिनेभन्दा समाजजस्तै बन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

‘मिडियाका राम्रा पक्ष पनि छन् । मिडियाले प्रविधिमा फड्को मारेको छ । तर कन्टेन्टमा कमजोरी छ । पत्रकारितामा बेथिति पनि छन्,’ दाहालले भन्नुभयो, ‘आज नेताका अघि बसेर पत्रकार खुलेर कुरा गर्न डराउँछन् । नेताको घरमा एउटा अदव पालना गर्नुपर्ने अवस्था छ । यो मानसिक अवस्थाबाट पत्रकारिता र राजनीति दुवै मुक्त भएका छैनन् ।’

राजनीतिको मियो खराब भए त्यसका असर सबैतिर पर्ने बताउँदै उहाँले हाल पत्रकारिता खण्डित हुने अवस्थामा पुगेको बताउनु भयो ।

‘१२ सय एफएम मात्र छन् । यसको श्रोत जुटाउने हैसियत हामीसँग छ । २०० वढी टिभी छन् । कसरी चलाउने ? बेलामा तलव दिएका छैनन् । किनकी श्रोत जुटाउनै समस्या छ, दाहालले भन्नुभयो ।

देशमा उद्योग भएन भने मिडिया संस्थागत रुपमा चल्न नसक्ने बताउँदै उनले मिडिया खोल्नुअघि अनुसन्धान पनि नहुने र चिया पसल खोलेजस्तो मिडिया खुल्नुमा राज्यको नीतिपनि दोषी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राज्यको दृष्टिकोण नै गलत छ । मिडियाले दलको होइन, विचारको राजनीति गर्नुपर्छ । पहिलो विचार स्वतन्त्रता हो स्वतन्त्रता खण्डित हुनेगरी पत्रकारिता गर्नुहुँदैन । यो क्रम जारी छ । यसलाई हटाउनुपर्छ,’

मिडिया कमिसनमा चलेको गम्भीर आरोप लगाउँदै उहाँले मिडिया हाउसहरु कमिसन खाएर बाँचेको आरोप पनि लगाउनु भयो ।

‘काम नपाएपछि पत्रकार बन्ने, पत्रकारलाई सल्लाहकार राख्ने चलन बढ्यो । हरेक पालिकामा एउटा सल्लाहकार पत्रकार छ । उसले त्यहीबाट समाचार ब्लक गर्छ । त्यही भएर केही पत्रकारलाई छाडे भन्ने हो भने पत्रकारहरु जिविकाको आधार पत्रकारिताको आम्दानी बन्न सकेन ।’ उहाँले भन्नुभयो ।

मिडिया हाउसले उद्देश्यअनुसारकै काम गरेमात्र पत्रकारको हैसियत सुधार हुने बताउँदै उहाँले नेपाली मिडिया उद्योग मिडिया खोलेर बाहिर लगानी गर्न थालेपछि बिग्रिएको दाबी पनि गर्नुभयो । उहाँले अरुको स्वार्थमा लाग्दा पत्रकारिताको स्वार्थ मर्दै गएको बताउँदै राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा परेकाले यसलाई बचाउन पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *