काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यको लागि सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच सहमति जुट्ने संकेत देखिएको छ । सदनको गतिरोध अन्त्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रमुख प्रतिपक्षीसँग गम्भीरतापूर्वक कुराकानी भएको बताउनुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेसका शीर्षनेता सँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले संसद्को अप्ठ्यारो फुकाएर नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने दाबी गर्दै भन्नुभयो, ‘मैले ढोका खोल्नैको लागि प्रमुख प्रतिपक्षीसँग गम्भीरतापूर्वक आइतबार कुराकानी गरेको छु । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास छ भने सोमबार बेलुकासम्म हामी एउटा निष्कर्ष पुगेर नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबीसमेत गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठनको मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको दाबी गर्नुभयो । प्रधानमन्त्री सँगको छलफलमा कांग्रेसले पहिले जे कुरा उठाउँदै आएका थियौँ सोही कुरा दोहोर्याएको जानकारी दिँदै प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘हाम्रो मागप्रति प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ । संसद्मा कसरी प्रस्तुत हुने भन्ने हाम्रो सोमबार १ बजे बस्ने संसदीय दल कार्यसमितिको बैठक र २ बजे संसदीय दलको बैठकबाट निर्णय गर्छौं ।’ सदनमा जारी गतिरोध अन्त्यको लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्रीनिवास बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँग डेढ घण्टा छलफल गरेपछि कांग्रेसले छानविन समिति गठन गर्न प्रधानमत्री सकारात्मक रहेको दाबी गरेको हो ।
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्नुभएको छ । संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपहिले राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएको हो । राष्ट्रपति पौडेलसँग भेट गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो राष्ट्रपति शीतलनिवास पुग्नुभएको थियो । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटघाटमा राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो । संघीय संसद्मा राष्ट्रपतिले जेठ १ मा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद्मा प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरिरहेको अवस्थामा नीति तथा कार्यक्रम कसरी प्रस्तुत हुन्छ ? भन्ने अन्योलताबीच राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुभएका हो ।
शेखर र गगनबीच छलफल
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच आइतबार बिहान छलफल भएको छ । आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा दुई नेताबीच भेटवार्ता भएको हो । नेताद्वय कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसद्मा कांग्रेसले जारी राखेको अवरोध, पार्टीका आन्तरिक गतिविधि लगायतबारे कुराकानी भएको बताइएको छ । महामन्त्री थापाले आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका क्रममा भएका कुराकानीबारे पनि कोइरालालाई जानकारी गराउनुभएको थियो । यसअघि शनिबार कांग्रेस नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि छलफल गरेका थिए ।
सभामुख र दलका प्रमुख सचेतकहरू बीचको छलफल निष्कर्षविहीन
सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरू बीचको छलफल बिना निष्कर्ष टुंगिएको छ ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाउनुभएको थियो । १ जेठमा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । आइतबार पनि सहकारी ठगी प्रकरणमा मुछिनुभएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति गठनको विषयमा सत्ता र प्रतिपक्ष दल अडानबाट पछि नहटेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
कांग्रेसले समितिका नाममा सरकार माग्यो : बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले संसदीय समितिका नाममा नेपाली कांग्रेसले सरकार मागेको आरोप लगाउनुभएको छ । आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक बीचको बैठकपछि बर्तौलाले कांग्रेसको माग सम्बोधन नहुने दाबी गर्दै भन्नुभयो, ‘उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नुभएको हो । त्यो सम्भव छैन । कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन ।’
प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्नुपर्ने राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक बीचको छलफलपछि शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिका आधारमा प्रचण्डलाई कारबाही गरिनुपर्ने बताउनुभएको हो । सहकारीको बचत हिनामिनाका आरोपित जिबी राईलाई तत्कालीन सरकारले भगाएको भनी गृहमन्त्रीले अभिव्यक्ति दिएको उल्लेख गर्दै शाहीले भन्नुभयो, ‘देशको गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्नैपर्यो । सभामुखलाई अनुरोध गर्न चाहन्छौँ । अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ ।’
सरकारले सोमबार दिउँसोसम्म छानविन समिति बनाउने विश्वास छ : कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरोधको निकास प्रधानमन्त्री प्रचण्डले नै दिनुपर्ने बताउनुभएको छ । आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक बीचको बैठकपछि लेखकले सोमबार दिउँसो सम्ममा सरकारले संसदीय छानविन समिति बनाउने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘मलाई विश्वास छ, सोमबार दिउँसो सम्ममा सरकारले, सत्तापक्षले संसदीय छानविन समिति गठन गर्ने कुरालाई अगाडि ल्याउनेछ । बल नेपाल सरकारको कोर्टमा छ, कसरी डिल गर्छ त्यसमा भरपर्छ ।’
कांग्रेसले उठाएका विषय संवादबाटै समाधान गर्नुपर्छ : परियार
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएका विषय संवादबाटै समाधान गर्नुपर्ने बताउनुभएको छ । सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले भन्नुभयो, ‘संसद्मा प्रमुख प्रतिपक्षीले उठाएको एउटा विषय छ, त्यो विषयमा हामी संवादमा छौँ, छलफल गरिरहेका छौँ । उहाँहरूले जे भन्नुभयो त्यही त हुँदैन । तर पनि संवादबाट टुंग्याउनुपर्छ र समस्या समाधान हुन्छ भन्नेमा विश्वस्त छौँ ।’
सहकारी ठगीमा संसदीय छानविन समिति उपयुक्त छैन : कानुनमन्त्री गिरी
कानुनमन्त्री पदम गिरीले सहकारी ठगीमा संसदीय छानविन समिति उपयुक्त नभएको जिकिर गर्नुभएको छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतकको बैठकपछि कानुनमन्त्री गिरीले सहकारी ठगीको विषयमा प्रश्न उठाउने कुरा स्वाभाविक भए पनि छानविन समिति गठन उपयुक्त नभएको दाबी गर्दै भन्नुभयो, ‘सहकारी समस्याबारे संसदीय छानविन समिति बनाउनुपर्यो । संसद्लाई छानविनमा लगाउनुपर्यो । त्यो नहुँदासम्म संसद् चल्दैन भन्ने कुरा अनुपयुक्त र गैरसंसदीय कुरा हो । कांग्रेस त्यस ढंगले प्रस्तुत हुनुहुँदैन । संसदीय समिति बनाएर सबै सहकारीका हिसाब हेर्ने भन्ने कुरा उपयुक्त छैन । सरकारको उपप्रधानमन्त्री रवि लामिछानेले बचतको अपचलन गरेको विषयलाई निरन्तर रूपमा कांग्रेसले उठाइराख्ने । तर, त्यस विषयमा उपप्रधानमन्त्रीले म जवाफ दिन्छु भन्दा रोष्ट्रममा पनि जान नदिने कुरा गैरसंसदीय शैली हो ।’
कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै छ । कांग्रेसले आज (सोमबार) दिउँसो १ बजेका लागि संसदीय दल कार्य समितिको बैठक बोलाएको छ । यस्तै, आज नै दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन सरकारलाई थप दबाब दिनको लागि रणनीति तय गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । गृहमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समिति गठन नभएसम्म संसद् अवरोध जारी राख्ने कांग्रेसले संस्थागत निर्णय गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा