काठमाडौं । पछिल्लो समय शोधनान्तर बचतमा निरन्तर सुधार देखिएको छ । शोधनान्तर बचत बढ्दो क्रममा रहेको छ । तर, अन्य आर्थिक सूचकमा भने खासै सुधार आउन सकेको छैन । रेमिट्यान्स आयका साथै निर्यात पनि घट्दो क्रममा रहेको छ भने निर्यात पनि बढ्न सकेको छैन । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले मात्रै बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिना अर्थात् चैतमा शोधनान्तर बचत तीन खर्ब ६५ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ७४ अर्ब २८ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा दुर्ई अर्ब ७५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैतमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैतमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले घटेर चार अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ४८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६२ करोडले धनात्मक थियो ।
रेमिट्यान्स आय गत वर्षभन्दा घट्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख २९ हजार चार सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ८७ हजार आठ सय ३९ र दुई लाख १७ हजार नौ सय ५९ रहेको थियो ।
मूल्य वृद्धिदर ४.६१ प्रतिशत
२०८० चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ । २०८० चैतमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६, तराई ४.५८, पहाड ५.३३ र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.५७, ७.६८, ७.०१ र ७.४७ प्रतिशत थियो ।
साढे १० खर्बको व्यापारघाटा
आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले घटेर एक खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.३ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ६.२ र २ प्रतिशतले घटेकोे छ भने चीनतर्फको निर्यात दुई सय ३२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोशाकलगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलंैचा, चिया, जुटका सामानलगायतको घटेको छ । नौ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामललगायतको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा कुल वस्तु व्यापारघाटा २.८ प्रतिशतले घटेर १० खर्ब ५३ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो ।
आम्दानीभन्दा खर्च बढी
चालु आर्थिक वर्षको नौ महिनामा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । कुल खर्च नौ खर्ब नौ अर्ब ३९ करोड भएको छ । तर, खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा ३.६ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा चालु खर्च छ खर्ब ४४ अर्ब तीन करोड, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ६७ अर्ब ९९ करोड रहेको छ ।
नेपाल सरकारको कुल राजस्व परिचालनतर्फ प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरी सात खर्ब ४८ अर्ब चार करोड भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३.४ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts