
काठमाडौं । जापानकी परराष्ट्रमन्त्री खामिखावा योको आज (आइतबार) नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किनुभएकी परराष्ट्रमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै आज नेपाल आउन लाग्नुभएको हो । सद्भावना भ्रमण भनिए पनि उहाँको आगमनलाई ‘अर्थपूर्ण’ मानिएको छ । ‘जापानबाट हुने उच्चस्तरीय भ्रमणलाई नेपाल सरकारले महत्वसाथ तयारी गरिरहेको छ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभयो । भ्रमणका क्रममा योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधि मण्डलको तहमा भेटवार्ता गर्नुहुने छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा वार्ता प्रतिनिधिमण्डल गठन गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता हुनेछ । ‘द्विपक्षीय सम्बन्धबारे छलफल हुनेछ । आगामी सहकार्यका विषयमा पनि कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतकुमार राईले भन्नुभयोे ।
सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ समारोह आयोजनाबारे पनि भेटघाटका क्रममा छलफल गर्ने तयारी रहेको उहाँले बताउनुभयो । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । परराष्ट्रमन्त्री सँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा आजै काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ ।
जापनिज युनिभर्सिटी अलुम्नी-नेपाल (जुआन) का अध्यक्ष सुनीलबाबु श्रेष्ठ जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको उच्च महत्व रहेको बताउनुहुन्छ । ‘जापानमा अहिले एक लाख ४० हजारको हाराहारीमा नेपाली समुदाय रहेको बताइन्छ । चिनियाँ समुदायपछि सबैभन्दा बढी नेपाली छन्,’ उहाँले भन्नुभयोे, ‘जापानमा वृद्धवृद्धाको जनसंख्या बढी छ, नेपालमा युवा जनसंख्या छ । दुई मुलुकबीच समन्वय गरेर यसलाई कसरी उपयोग गर्ने भन्ने विषय महत्वपूर्ण हुनसक्छ ।’
परराष्ट्रमन्त्री खामिखावाले अप्रिल २६ देखि मे ५ सम्म नेपाल, श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरियार फ्रान्सको भ्रमण गर्ने कार्यक्रम छ । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।
जापानका लागि पूर्वराजदूत डा. मदनकुमार भट्टराईका अनुसार जापानबाट अहिलेसम्म तीनजना विदेशमन्त्रीले नेपाल भ्रमण गरिसकेका छन् भने कामीकावा चौथा हुुनुहुन्छ । सन् १९७७ मा इचिरो हातोयामा, सन् २०१२ मा कोइचिरो गेम्बा र सन् २०१९ मा तारो कोनोले विदेशमन्त्रीको हैसियतमा नेपाल भ्रमण गरिसक्नु भएको छ ।
पूर्वराजदूत भट्टराईले परिवर्तित विश्व परिवेशमा नेपालले जापानसँग सम्बन्धलाई नयाँ दिशामा लैजान प्रयास गर्नुपर्ने बताउनुभयो । जापानसँग कृषि, शिक्षा, स्वास्थ्य क्षेत्र, पर्यापर्यटन, टनेल इञ्जिनियरिङ जस्ता विषयमा सहकार्यका लागि नेपालले प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।
जापानी विदेशमन्त्रीको भ्रमण दुई मुलुकको विकास साझेदारीको दृष्टिले महत्वपूर्ण रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बताउनुहुन्छ । ‘हाम्रो विकास साझेदारमध्ये जापान महत्वपूर्ण मित्रराष्ट्र हो,’ उहाँले भन्नुभयो, ‘यस भ्रमणले दुई मुलुकको सम्बन्धलाई थप बलियो बनाउने आशा गरेका छौँ ।’
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक मृगेन्द्र कार्की अहिलेको विश्व परिवेशमा जापानी विदेशमन्त्री योकोको भ्रमण अर्थपूर्ण रहेको बताउनुहुन्छ । ‘दक्षिण एसियाली देशको भ्रमण राजनीतिक रूपमा प्रभाव पार्न हो भन्ने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा भारत, चीन तथा अमेरिकाको प्रभाव छ । जापानले ‘हामी पनि नेपालको स्पेसमा सक्रिय छौँ’ भन्ने सन्देश दिन यो भ्रमण हुन लागेको जस्तो देखिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच