काठमाडौं । आज १३५औँ विश्व मजदुर दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा यो दिवस मनाउँदै आएका छन् । यसवर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइँदै छ । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदै छ ।
नेपालमा विसं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो । तर, २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो । उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाइन्छ ।
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा एक करोड १० लाख ३८ हजार मानिस कुनै न कुनै किसिमको रोजगारमा संलग्न रहेको देखाएको छ । यसमध्ये कृषि, वन र माछापालनमा ५० प्रतिशत, सामान्य वा प्राथमिक पेशामा २३ प्रतिशत, सेवा तथा वस्तु बिक्रीमा करिब ६ प्रतिशत संलग्न छन् । श्रमिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न दलका अध्यक्ष एवं नेताहरूले शुभकामना दिएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts