रुसी सेनामा भर्ति भएका तनहुँका नौ यवा अझै सम्पर्कविहीन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

तनहुँ । रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावकलगायतका परिवार चिन्तामा परेका हुन् ।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका-९ मा रहनुभएकी आमाले बताउनुभयो । “रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो”, नाम गोप्य राखिदिन आग्रह गर्दै आमाले भन्नुभयो, “छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन ।”

रुसी सेनामा भर्ती भएका आफ्ना सन्तानलाई सुरक्षित रुपमा स्वदेश ल्याइदिन पहल गर्न परिवारजनले जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन परेको केन्द्रका परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो ।

रुसी सेनामा व्यासका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका तीन, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक जना गरी नौ युवा सम्पर्कविहीन भएकाले खोजी गरि सकुशल स्वदेश फिर्ता गरि दिन माग गर्दै निवेदन परेको उहाँले बताउनुभयो । सम्पर्कविहीनहरूको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको आवश्यक सम्पूर्ण कागजात पठाइसकिएको केन्द्रले जनाएको छ । विचौलियामार्फत रु पाँच लाखदेखि छ लाखसम्म तिरेर ‘भिजिट भिसा’मार्फत रुसी सेनामा भर्ती गराइएकोसमेत परामर्शदाता तिवारीको भनाइ छ ।

ADVERTISEMENT

केन्द्रका जिल्ला संयोजक लुना रानाले तनहुँबाट अन्य व्यक्तिसमेत रुसी सेनामा भर्ती भएको हुनसक्ने आँकलन गरिएको बताउनुभयो । नेपाल सरकारले रुसी सेनामा भर्ना हुन प्रतिबन्ध लगाएकाले निवेदन दिनेको सङ्ख्या न्यून रहेकोसमेत उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन राहदानी बनाउन आएका सबैलाई अनिवार्य रुपमा  परामर्श लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा कसैले पनि ठग्न नसकुन् भनेर आफूहरुले अनिवार्य रुपमा परामर्श सेवा सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

“रुसी सेनामा भर्ति भएकाको खोजी गरिदिन निवेदन परेको छ”, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भन्नुभयो, “हामीले आफ्नो स्थानबाट सकुशल फिर्ता गर्न आवश्यक पहल गरेका छौँ, तर राज्यले बन्देज लगाएको र जानकारी नभएका देशहरुमा कसैलाई पनि नजान अनुरोध गरेका छौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *