काठमाडौं । दार्चुलाको टाटे नगरपालिका-३ का ४७ वर्षीय गणेश दत्त बडू सुन तस्करी प्रकरणमा पुनः पक्राउ परेका छन् । एक किलो ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद घटनामा बडूसहित सातजना पक्राउ परेका हुन् । बडू यसअघि २०७४ भदौ १९ मा धोवीचौरबाट बरामद भएको ८८ किलो सुनमा पनि जोडिएका थिए । तत्कालीन समयमा पक्राउ परेर जिल्ला अदालतको आदेशमा तीन लाख धरौटी बुझाएर छुटेको बडूले प्रहरी बयानमा खुलाएका छन् । तर, प्रहरीले खोजी गर्दा उक्त प्रमाण भेटिएको छैन ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा बडू पछिल्लो घटनाका मुख्य योजनाकार रहेको बताइएको छ । चिनियाँ नागरिकले दिएको सुन ल्याएर बिक्रीका लागि राखेको बडूले प्रहरी बयानमा खुलाएका छन् । काठमाडौं महानगरपालिका-२४ दुछेंननी टोलबाट पक्राउ परेका बडूसँगै उनका छोरा आयुष पनि पक्राउ परेका छन् । आयुष भर्खरै २१ वर्षका छन् । उनी स्नातक तह पढ्दै गरेका विद्यार्थी पनि हुन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बडूको घर बाफलमा छ । उनका दुई छोरी र आमा पनि छन् । बडूका बाबु–छोरासहित पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने अमोल विभुते, उनका भाइ ऋषिकेशप्रसाद विभुते, गणेश सतिश बाल्टे, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल छन् । सुन तस्करीका लागि खरिद/बिक्री गर्न बडूले काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा लामो समयदेखि कोठा भाडामा लिएको पाइएको छ ।
चिनियाँ नागरिकले पठाउने सुन गणेशदत्तले ‘वितरण’को जिम्मा लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बडूलाई चिनियाँ नागरिकले एक पटकमा डेढदेखि दुई केजीसम्म सुन बेच्ने जिम्मा दिने गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एक पटकमा पाँच केजीसम्म वितरण गर्ने जिम्मा लिएको अनुसन्धानबाट खुलेको छ ।’ सुन तस्करीमा संलग्न चिनियाँहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू फरार छन् ।
टुक्रा बनाएर भारत तस्करी
चिनियाँ सुन तस्करले पठाउने सुन न्युरोडमा टुक्रा बनाइन्छ । २५० ग्रामको टुक्रा बनाएर भारतीय नागरिकहरूले पैदलमार्ग हुँदै भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वरिष्ठ उपरीक्षक राठौरले भन्नुभयो, ‘टुक्रा सुन कम्मर पेटी र जुत्तामा लुकाएर लाने गरेको देखिन्छ ।’ आरोपीहरूले सुन तस्करी गर्न काठमाडौं-२४ स्थित बाबाछोरी सिंहको घर भाडामा लिएका थिए । सो कोठामा सर्च अपरेसन चलाउँदा गणेशदत्त बडूको साथमा पाँचा सुन फेला परेको हो ।
यस्तै, नजिकै रहेको भरतराज खरेलको डेराबाट आयुष बडू र भरतराज खरेल पक्राउ परे । सुन भारततर्फ पठाउने अन्तिम तयारी हुँदा सूचना चुहिएपछि उनीहरू पक्राउ परेका हुन् । आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसएसपी राठौरले जानकारी दिनुभयो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार गोप्य रूपमा बडूले कोठा भाडामा लिएका थिए । ‘घरबेटीलाई कहिलेकाहीँ अफिसको मिटिङ गर्ने हो भन्दै बडूले कोठा भाडामा लिएका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भन्नुभयो, ‘तर पटक–पटक भारतीय नागरिकहरू आउने/जाने गरेको देखेपछि स्थानीयले प्रहरीलाई सुराकी दिएपछि अनुसन्धान अघि बढेको हो ।’
पैसा ल्याएर डिलिङ गर्दै गर्दा भारतीय पक्राउ
सुरुमा प्रहरीमा सूचना आउँदा भारतीय नागरिकहरू लगातार आउजाउ गरेकाले शंकास्पद योजना बनाएको हुनसक्नेतर्फ इंगित थियो । जब प्रहरीले नजिकबाट नियाले उनीहरूको धन्दा सुन तस्करीमा रहेको खुल्यो । भारतीय नागरिकले प्रयोग गर्ने मोटरसाइकललाई समेत पिछा गरेर प्रहरीले उनीहरूको रेकी सुरु ग¥यो । पक्राउ परेकामध्ये अमोल, ऋषिकेश र गणेश लामो समयदेखि कोटेश्वरमा डेरा गरी बस्दै आएका थिए । उनीहरूले बडूसँग मिलेर यसअघि पनि सुनको कारोबार गरेको आशंका प्रहरीको छ । गणेशका बाबुछोरा, दिनेश र भरतले चिनियाँ नागरिक सँगको सेटिङमा काठमाडौंमा सुन ल्याउने र त्यसको बिक्रीका लागि अमोल, ऋषिकेश र गणेशले डिल गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ । उनीहरूले नै भारतीय गिरोहबाट पैसा ल्याएर बिहीबार राति डिल गर्दै गर्दा डिएसपी सुरक्षा केसी नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको जानकारी अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले दिनुभयो ।
प्रहरीले अहिले तत्कालका लागि सुन र पक्राउ परेका व्यक्तिहरूलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ । विभागले आफ्नो कारबाही सकेपछि उनीहरूविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने जानकारी अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले राजस्वलाई पत्र पठाउँदा संगठित अपराधमा पनि मुद्दा चलाउने राय व्यक्त गरेका छौँ ।’ प्र्रहरीले यो घटनामा चिनियाँ गिरोहको पनि खोजी गर्ने जानकारी रेग्मीले दिनुभयो । योसँगै यो गिरोहले यसअघि गरेका सुन तस्करीका घटनाबारे पनि थप अनुसन्धान गर्ने अनुसन्धान कार्यालयले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts