काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई हटाउने चलखेलमा लाग्नुभएको छ । पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अर्बौं भ्रष्टाचार गरेको उजुरीमा आयोगले छानविन गरेपछि उहाँ संवैधानिक निकायका पदाधिकारी नै हटाउने चलखेलमा लागिरहेको खुलेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता र प्राविधिक कमजोरी व्यापक देखिएपछि अख्तियारले छानविन अघि बढाएको थियो । त्यसो त विमानस्थल निर्माण आयोजनाका तात्कालीन प्रमुख प्रदीप अधिकारी र ठेकेदार कम्पनी सिएमसीबीचको सेटिङ र मिलेमतोका कारण समस्या र आर्थिक अराजकताको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाउँदै दोषीलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको थियो । तर, दोषीलाई कारबाही गर्नुको साटो अनियमिततामा मुछिएका अधिकारी आयोगका पदाधिकारी हटाउने प्रपञ्चमा लाग्नुभएको हो ।
त्यसो त अधिकारीले आयोगका पदाधिकारीलाई बिचौलियाहरू लगाएर प्रलोभन दिनेदेखि राजनीतिक नेतृत्वमार्फत दबाबसमेत दिन थाल्नुभएको छ । उहाँले पोखरा विमानस्थलमा गरेको नांगो भ्रष्टाचारमा अख्तियारले गहन छानविन सुरु गरी बिहीबारदेखि बयान लिइरहेका बेला आयोगका पदाधिकारीलाई नै हटाउने दाउमा लाग्नुभएको हो ।
अख्तियारले तीनवटै विमानस्थल निर्माणमा भएको अर्बौं भ्रष्टाचारको छानविन तीव्र बनाएपछि उहाँ निकै हतास भएर संवैधानिक निकायका पदाधिकारीका विरुद्धमा विचाराधीन मुद्दामा प्रभाव पार्नका लागि शक्तिकेन्द्रदेखि बिचौलियाहरूको शरणमा पुगिरहेको सूचना सरकारका विभिन्न अंगले पाएका छन् । अदालतबाट संवैधानिक निकाय विशेषतः अख्तियारका पदाधिकारीको नियुक्ति खारेज गराउने र आफू अनुकूलका आयुक्त र प्रमुख आयुक्त नियुक्ति गराउने खेलमा डिजी अधिकारी लाग्नुभएको हो ।
त्यसो त पोखरा विमानस्थलको निर्माणमै अर्बौं भ्रष्टाचार गर्नुभएका उहाँले बालुवाटारलाई प्रभावमा पारी पर्यटनमन्त्री सुदन किरातीलाई मन्त्रीबाट हटाउन उहाँको समेत संलग्नता भएको मानिएको छ । माओवादी केन्द्रका सबै मन्त्री दोहोरिने तर किराती मात्र हटाउन सफल भएकोमा उहाँले भोज नै गरेको समाचार मिडियामा आए । उहाँले राजनीतिक दलका शीर्षनेताका वरिपरिका सबैलाई आफ्नो पक्षमा पार्नुभएको थियो र पारिरहनु भएको छ ।
संवैधानिक नियुक्ति खारेज गराउँदै आफू अनुकूलका नियुक्ति गराउने दाउमा डिजी अधिकारी
त्यसो त संवैधानिक निकायमा भएका विभिन्न नियुक्तिहरूका विरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । उक्त मुद्दालाई अगाडि बढाएर संवैधानिक नियुक्ति खारेज गराउने दाउमा डिजी अधिकारी हुनुहुन्थ्यो ।
यसमा आफू अनुकूलका पदाधिकारी नियुक्ति गराउने डिजी अधिकारीको रणनीति थियो । त्यसका लागि उहाँले अदालतले मुद्दा खारेज नगर्दै भने अख्तियारमा नियुक्ति हुने पदाधिकारीको सूचीसमेत बनाउनुभएको थियो । उहाँको सूचीमा अख्तियारको प्रमुख आयुक्तमा पूर्व–मुख्यसचिव शंकरदास वैरागी खनाल, आयुक्तहरूमा पूर्वकानुन सचिव धनराज ज्ञवाली, नेपाल प्रहरीका पूर्वआइजिपी धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका पूर्वआइजिपी शैलेन्द्र खनाल, पूर्वगृहसचिव महेश्वर न्यौपाने रहेको स्रोतको दाबी छ ।
अधिकारीले अख्तियारमा नियुक्ति गर्ने पदाधिकारीको सेट नै तयार गरे पनि अदालतले पेसी तीन महिना सारेपछि उहाँ निकै हतास हुनुहुन्छ । अख्तियारले बिहीबारदेखि लगातार बयान लिएपछि उहाँ झन् आत्तिनुभएको छ ।

शंकरदास वैरागीसँगको निरन्तरको बसाइ
डिजी अधिकारी संवैधानिक निकायका नियुक्ति खारेज कसरी गराउन सकिन्छ, न्यायालयमा कसरी प्रभावमा पार्न सकिन्छ भनेर दैनिकजसो राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा शंकरदास वैरागीसँग घण्टौँसम्म छलफल गर्नुहुन्थ्यो । वैरागीलाई मुख्यसचिवबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा सल्लाहकारमा नियुक्ति दिनुभएको थियो । वैरागी मुख्यसचिव हुँदै प्राय: दैनिकजसो उहाँ भेट्न जानुहुन्थ्यो ।
सुरक्षा सल्लाहकार भएपछि पनि उहाँ प्रायः सुरक्षा परिषद्को कार्यालयमा वैरागीसँग घण्टौँ बसेर छलफल गर्ने गर्नुहुन्थ्यो । सुरक्षा सल्लाहकार कार्यकारी पद नभए पनि डिजी अधिकारी त्यहाँ किन जान्थे, घण्टौँ के–के छलफल गर्थे ? स्रोत भन्छ, ‘उनी अख्तियारका पदाधिकारीको नियुक्ति खारेज गराउने एकमात्र मिसनमा लागेका थिए, त्यही भएर वैरागीकोमा उनी बारम्बार जाने गर्दथे ।’
पोखरा विमानस्थलको निर्माणमै त्रुटि
त्यसो त १२ अर्बमा निर्माण हुने पोखरा विमानस्थलको लागत अस्वाभाविक बढाएर २४ अर्ब पु-याउनुभएका डिजी अधिकारीले अर्बौं भ्रष्टाचार त गर्नुभयो नै निर्माणमै त्रुटि देखिएका तथ्यहरू पनि बाहिरिएका छन् । चीन सरकारको चर्को ब्याजमा ऋण लिएर बनाएको पोखरा विमानस्थलको निर्माणमै त्रुटि भएपछि सञ्चालनमा आएको एक वर्षसम्म अन्तर्राष्ट्रिय उडान नै हुन सकेको छैन । पोखरा विमानस्थलको १२ अर्ब लागत बढाएर २४ अर्ब पु-याए पनि निर्माणमा चरम लापरबाही भएकाले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले उडान सञ्चालनमा रुचि देखाएका छैनन् ।
पोखरा विमानस्थलको लागत अस्वाभाविक रूपमा वृद्धि गरी २४ अर्ब रुपैयाँ पु-याइएको बारेमा अख्तियारले छानविन गरिरहेको छ । अर्कोतिर नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक अधिकारीले ठेकेदार कम्पनीसँगको मिलेमतोमा धावनमार्ग धसाएर बनाएकै कारण १० मिटर बढी डाँडा काटिएको मात्रै छैन जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले करिब चार अर्ब ३४ करोड रुपैयाँ खर्चिएर बनाएको खानेपानीको ट्यांकी पनि भत्काउनुपर्ने अवस्था नित्याइएको छ ।
मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइँदा ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्ठेपानी डाँडा ४० मिटर काट्नुपरेको छ भने पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकीसमेत भत्काउनुपर्ने भएको छ । यो पानी ट्यांकी ३१ मिटर अग्लो हुनेगरी निर्माण भइरहेको थियो । तर, प्राधिकरणले विमानस्थल बनाउँदा गरेको गम्भीर लापरबाही तथा आर्थिक अपचलनको शिकार पानी ट्यांकी हुन पुगेको छ ।
पोखरा विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट बोइङ–७३७ र न्यारोबडी जहाजले पूर्ण क्षमतामा उडान गर्न नसक्ने भएकाले पनि अन्तर्राष्ट्रिय उडान गर्न व्यावसायिक हवाई कम्पनीहरूले रुचि देखाउन सकेका छैनन् । विमानस्थलको निर्माणमै त्रुटि नै त्रुटि भएकाले अन्तर्राष्ट्रिय उडान गर्न हवाई कम्पनीहरूले चासो नराखेको खुलेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ दुई प्रतिशत ब्याजमा र दुई अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गर्दा ठूलो आर्थिक चलखेल गरिएको विषयलाई अख्तियारले गम्भीर रूपमा लिएको छ भन्ने संकेत कागजात नियन्त्रणमा लिएपछि पुष्टि भएको छ ।
आयोजना प्रमुख अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङ कम्पनीलाई दिनुभएको थियो । सिएएमसी इञ्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाउनुभएको थियो । प्रदीप अधिकारीको सेटिङमा क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभी राखिएको थियो । क्षमादेवीका राजकुमार बस्नेतसँग अधिकारीको सेटिङ चल्दै आएको छ । पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले केही महिनाअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको चार अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिनुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा समेत ठूलो चलखेल गरी सेटिङमै दिएको विषयमा पनि अख्तियारमा उजुरी छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा