बागलुङ । तमानखोला गाउँपालिका भौगोविक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । बागलुङको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौँ अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । वि.सं. २०७० सालमा पहिलो पटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दुरीमा रहेको बोङ्गादोभान सिंगो तमानखोलाको प्रवेश द्वारनै हो ।
बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका-३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गादोभानबाटै पुग्नु पर्छ । दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ । बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ-बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको हो । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नती नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् ।
भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । अग्ला-अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक पनि साह्रै साँघुरा र अप्ठ्यारा छन् । साँघुरा सडकका कारण समय-समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यान समेत गुमाउने गरेका छन् । बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताउनुभयो । सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उहाँको भनाइ छ ।
सांसद कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताउनुभयो । पालिकाको बजेटले नभ्याउने, केन्द्र र प्रदेशबाट बजेट नपर्दा अहिलेसम्म विकासमा पछि परेको उहाँ बताउनुहुनछ । प्रदेश सरकारमा आफूले ठूलो कसरत गरेपछि मात्रा बजेट व्यवस्थापन गर्न सफल भएको कुँवरको भनाइ छ । तीन वर्षमा सक्ने गरि ठेक्का अगाडि बढ्ने भन्दै यस वर्ष पाँच करोडको काम हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो - “अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन, अब तमानखोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउँछने छन्, यो बहुवर्षे योजना हो, एकै वर्षमा सकिदैन, तीन वर्षसम्म सक्नु पर्नेछ, यस वर्ष पाँच करोड विनयोजन भएको, बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ, योसँगै बोङ्गादोभान-खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक पनि स्तरोन्नतीका लागि डिपीआर गरेका छौँ भने घट्टबोट र धोमइघाटमा मोटरेवल पुल निर्माणका लागि पनि डिपीआर भएको छ ।”
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधानले सडक कालोपत्रे गर्न नसकिएको बताउनुभयो । पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट चाहिने तर पालिकाको बजेटले नपुग्ने हुँदा वर्षौँदेखि यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको उहाँको भनाइ छ । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल बनेका छन् ।
ढोरपाटन नगरपालिका-३ को हुँद्राफेँदीखोला र तमानखोलाको बालिबाङखोलामा पुल नबन्दा बर्खामा यातायता ठप्प हुने स्थिती थियो । तीन वर्ष अगाडि हुँदाफेँदी र दुई वर्ष अगाडि बालिबाङखोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात संचालन हुन थालेको अध्यक्ष बुढा मगरले बताउनुभयो । अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दुरीमा पनि धेरै भाडा तिर्नु पर्ने स्थिती रहेको उहाँको भनाइ छ ।
“सडक कालेपत्रे गर्न त हामीले चाहेर पनि सकिदो रहेनछ, एक किलोमिटर सडक कालोपत्रे गर्न लाखौँ रकम चाहिँदो रैछ, यति लामो सकड कालोपत्रे गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दो रहेनछ,” अध्यक्ष बुढा मगरले भन्नुभयो - “विगतमा माथिल्लो सरकारबाट निकै कम बजेट आयो, त्यसले कामनै गर्न सकिएन, यस वर्ष गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेर काम अगाडि बढाउन थालेको छ, यसले यहाँका नागरिकलाई सहज बनाउने छ ।”
सडक कालोपत्रेको काम पूर्वधार विकास कार्यालयमार्फत हुने छ । गण्डकी प्रदेश अर्थमन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दीपेश रिगलले जानकारी दिनुभयो । अब तत्काल कार्यालयले सडकको काम अगाडि बढाउने भन्दै ठेक्का प्रक्रियामा गएर काम गर्ने उहाँको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts