बागलुङ । बागलुङका १० पालिका मध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिका बाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी कोरिडोर त कोही सालझण्डी-ढोरपाटन सडकले जोडिएका हुन् । राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नती गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी कोरिडोर पर्छन् । दुवै तफै नाका खोलेर यस वर्षदेखि स्तरोन्नतीको काम गर्न थालेको हो ।
मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङ तर्फबाट एक दशक अगाडिनै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी कोरिडोरसँग जोड्न उर्लेनीमा गत वर्ष मात्रै ट्रयाक खोलिएको थियो । दुई वटा राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो । दुवै तर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरवाह लगायतका सहरहरुमा पुग्न सहज हुने भएको छ । गाउँपालिकाले दुई तिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतीसमेत गर्न थालेको छ । यस सडकलाई स्तरोन्नती गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा दुई करोड २० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ ।
बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । राजमार्गको पहुँचभन्दा टाढा हुँदा यहाँका नागरिक हरेक अवसरबाट वञ्चित हुने हुँदा पालिकाले लगानी गरेर दुई वटा राजमार्गसँगको पहुँच बढाएको उहाँको भनाइ छ । यो सडकले बरेङमा थुप्रै संभावनाको ढोका खेलेको अध्यक्ष शर्मा बताउनुहुन्छ । बुटवल तथा काठमाडौँ जानका लागि धेरै फेरो लगाएर पुग्नु पर्ने बाध्यताको समेत अन्त्य हुने शर्माको भनाइ छ ।
उहाँले भन्नुभयो - “गलकोट तर्फको खण्ड धेरै वर्ष अगाडि खुलेको थियो, जसले मध्यपहाडी लोकमार्गमा पुग्न सहज बनाएको थियो, जैमिनी तर्फ खुलेको थिएन, करिब दुई किलोमिटर सडक गत वर्ष खुलाइयो, दुवै तर्फ सडक खुलेपछि दुई वटा राष्ट्रिय राजमार्ग जोडिए, अब यहाँका नागरिकलाई देशका ठूला सहरमा जान समस्या हुने छैन भने यहाँका किसानले उत्पादन भएका वस्तुहरु बजारीकरण गर्नसमेत सहज हुने छ, अब बरेङ पनि राष्ट्रिय सडकबाट टाढा भएन ।”
यो सडक करिब २० किलोमिटर छ । सडक स्तरोन्नतीको लागि रेसुङ्गा दर्शन अर्जुन/श्रीकृष्ण जेबीले जिम्मा लिएको छ । गत पौष महिनामा सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ७० प्रतिशत काम सकेको गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिनुभयो । यस वर्ष सडक फराकिलो बनाउने, ठाउँ-ठाउँमा ढलान गर्ने, पक्की नाली र ग्राभेल गरिने उहाँको भनाइ छ । निमार्ण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा अब ग्राभेल मात्रै गर्न बाँकी रहेको इन्जिनियर थापाले बताउनुभयो । निर्माण कम्पनीले वि.सं. २०८१ बैशाख ३१ गतेसम्म काम सक्नु पर्ने उहाँको भनाइ छ ।
“निर्माण कम्पनीले धमाधम काम गरि रहेको छ, अब धेरै काम बाँकी धैन, ग्राभेलिङ गर्न मात्रै छ, सडकलाई सराकिलो बनाउनेदेखि नाली बनाउनेसम्मको काम सकियो, यहि रफ्तारमा काम गर्दै गयो भने समयमै सकिने संभावना छ,” इन्जिनियर थापाले भन्नुभयो - “काम थालेको पुसबाट हो, अहिले पनि कामदार परिचालन छन् ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts