विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यबद्धताका लागि आग्रह गरेको छ । संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरू मिलेर अघि बढी निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहलका लागि आग्रह गर्नुभएको हो ।
उहाँले हाल उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको भन्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्बन्ध विकास गर्न निजी क्षेत्रका संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले उद्योग व्यवसायमा छाएको सुस्तता अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्था एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य भन्दै उहाँले आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्या समाधानका लागि निजी क्षेत्रका संस्थाले गर्दै आएको पैरवी आगामी दिनमा सामूहिकरूपमा गरी राज्यको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो । विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले व्यापार व्यवसाय दयनीय अवस्थामा रहेको भन्दै समस्या समाधानका लागि सहकार्य गर्न विराट व्यापार संघ संस्थागतरूपमा सदैव तत्पर रहेको बताउनुभयो । समस्यै समस्याको भुमरीमा जेलिएका व्यावसायिक क्षेत्रबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने उहाँको भनाइ थियो ।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सवलीकरणका लागि सामूहिकरूपमा पहल गरी व्यावसायिक विकासका पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने बताउनुभएको संगठनले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements