नेपाली कांग्रेसको सिद्धान्तमाथि भाष्यका रूपमा सुदूरपश्चिमको डडेल्धुराबाट पहिलोपटक गोदावरी महासमिति बैठकको अवसर पारेर खरो, खारिएको र अनिवार्य अनुभव गरिएको विचार प्रस्तुत भएको छ । लोकतान्त्रिक राजनीतिमा उदीयमान युवा प्रतिभा नैनसिंह महरले सुदूरपश्चिमबाट पहिलोपटक नेपाली कांग्रेसका सदस्यहरू र शुभेच्छुकहरूको मथिंगल घुमाउने गरी विचारको सौगात दिएका छन् : दृष्टि पत्रका रूपमा ।
(क) निरंकुशताबाट उन्मुक्तिको खोजी :
लोकतान्त्रिक समाजवादी सिद्धान्त साम्यवादले पैदा गरेको निरंकुशतन्त्रबाट आहत देश र जनता अनि पुँजीवादी वैयक्तिक शोषणले उत्पन्न गरेको भयावह दुष्कृतिविरुद्ध विकास भएको दर्शन हो । यो दर्शन आर्थिक सामाजिक रूपान्तरणमा मात्रै सीमित छैन । यो दर्शन मानवता, मनुष्यत्व र मानवीय भावनाले ओतप्रोत स्वतन्त्रता र संवेदनाबाट निःशृत दर्शन पनि हो । बिनास्वतन्त्रता आजको मानिस, मानिस प्रमाणित हुन सक्दैन । महज मेसिनमा रूपान्तरित हुन्छ । भलै युरोपबाट लोकतान्त्रिक समाजवादको विकास भए पनि यो सिद्धान्त पूर्वीय चिन्तनचेतसँग सन्निकट छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःख भाग्जना’, योभन्दा समाजवादको परिभाषा उत्कृष्ट भेटिँदैन । तर, पनि राज्य प्रणालीमा भएको तुलनात्मक परिवर्तन, प्रयोग, फरक भूगोलमा बसोवास गर्ने फरक सभ्यता र संस्कृतिका वाहक, फरक आर्थिक र सामाजिक अवस्थाले फरक देखिएका, स्रोत र साधनको प्रयोगमा फरक स्थितिमा रहेका नागरिकहरूको सोच पनि फरक रहेको छ ।
(ख) नेपाली समाजवादको भाष्य बिपीको देन :
वैज्ञानिक समाजवादको सपना जति देखिए वा देखाए पनि जननायक बिपी कोइरालाले भन्नुभए जस्तो पुँजीवाद र साम्यवाद फरक बाटो र दिशाउन्मुख भएर यात्रा गरेको देखिन्छ तर ती दुवै पुग्ने स्थान अर्थात् गन्तव्य यौटै हो । प्रकारान्तरले आधुनिक समाजवादका भाष्यकार जर्मन दार्शनिक कार्ल माक्र्सको विचारमा भिन्न कोणबाट भारतीय दार्शनिक महात्मा गान्धीले पूर्वीय दृष्टिकोण थप्नुभएको छ । भौतिकवादी माक्र्स र अध्यात्वादी गान्धी दुवै नै मानव मुक्तिका पक्षधर हुन् । यौटा विपरीतहरू माथि पूर्ण नियन्त्रण गर्ने, वर्ग संघर्षको पासोमा पारी भौतिक उन्मूलन गर्ने र अर्को मानव स्वतन्त्रता र जीवनलाई सम्मान गर्दै मुक्तिको कामना गर्ने । यी दुई बीचको अन्तर यही नै हो । नेपालमा लोकतान्त्रिक समाजवादको भाष्य गर्ने प्रथम विचारक बिपी कोइराला हुनुहुन्छ भने त्यसपछि सिके प्रसाईँको व्यावहारिक भाष्य बेजोड छ । सिकेपछि प्रदीप गिरिको भाष्य गर्ने कला अद्भूत थियो । बौद्धिक साहित्य प्रदान गर्ने डा. यज्ञप्रसाद अधिकारी हुनुहुन्छ । नेपाली कांग्रेसमा ढुण्डीराज शास्त्री, रामचन्द्र पौडेलपछि लोकतान्त्रिक समाजवादको व्याख्या गर्न डा. शोभाकर पराजुलीदेखि ऋषिकेश तिवारीको उद्यमशीलता र उत्पादनशीलताको सिद्धान्त पनि महत्वपूर्ण छ । अर्को धारबाट नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको योगदान स्मरणीय छ । साम्यवादी आन्दोलनमा मोहन विक्रम सिंहदेखि मदन भण्डारी हुँदै मोहन वैद्य, पुष्पकमल दाहाल अनि डा. बाबुराम भट्टराईहरू साम्यवादको तिलस्मी सपनाबाट झल्याँस्स हुँदै स्वतन्त्रता र सामाजिक आर्थिक रूपान्तरणको प्mयुजन खोज्न लाग्नुभएको छ ।
(ग) सिद्धान्त र अर्थभन्दा आचरण माथि :
सिद्धान्तको विवेचना भाष्य जे गरे पनि अक्षरभन्दा माथि त्यसको अर्थ हुन्छ र अर्थभन्दा माथि व्यवहार र आचरण हुन्छ । नेपाली कांग्रेसका लागि सिद्धान्त, विचार, अर्थ र आचरण व्यवहार सबै एकमुष्ट आवश्यक छ । अहिलेसम्म अत्यन्त पछाडि परेको भूगोलबाट विचार निर्माण र प्रस्तुति हुन सकेको थिएन । दाङबाट केही हदसम्म बलदेव मजगैँयाले विचार र व्यवहारको संयोजन गर्न खोज्नुभएको हो । पल्लाछेउमा पुगेर राजनीतिक चेतना व्यापक थियो । तर, पुस्तकाकारमा विचार संयोजन भएको थिएन । डडेल्धुराबाट राजधानी आएर सक्रिय नेतृत्वमा पुगेको युवाले विचारमा नवीन धार निर्माण गर्ने तहसम्मको प्रस्तुति गर्नु प्रशंसनीय छ । सिके प्रसाईँले ‘शेरे पश्चिम’ नामकरण सहितको विशेषण दिइएका शेरबहादुर देउवाको तालुमा निरन्तर आलु फलिरहेको छ । उहाँ बोल्नुहुन्न । विचार र दृष्टिकोण भनेको त कुन चराको नाम हो, ज्ञान भए पनि प्रकट गरेको सुनिँदैन । तर, ०४६ को परिवर्तन होस् कि, ०६३ को परिवर्तन, हरसमयमा उहाँ नेतृत्वमै बस्न सफल हुनुभएको छ । विचार वा योगदानभन्दा पनि पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइरालाको निरंकुश शासकीय चिन्तनविरुद्ध, प्रतिरोधमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले स्थापित गरेको व्यक्तित्व हो देउवा । देउवाको जिल्लाबाट वा त्यस क्षेत्रबाट कोही पनि प्रखर प्रतिभा कांग्रेसमा नदेखिनुको कारण हो : देउवा गिरिजा प्रसादको असल शिष्य र व्यावहारिक उत्तराधिकारी जस्तो प्रमाणित हुनु ।
(घ) देउवारूपी वटवृक्षमा धेरैजना टाक्सिन बाध्य :
कर्णालीपारि दोधरा चाँदनीसम्मको माटोमा होस् कि, ताप्लेजुङको शिरदेखि र केचनाकवल सम्मको गहिराइ सबैतिरका कांग्रेसजनले देउवाको लोहा मानेर खुम्चिरहेको अवस्था छ । अलिअलि कतै झिना स्वरहरू राजधानीमा नसुनिने होइन, तर प्रभावकारी छैनन् । देउवाको त्यो विशाल वटवृक्षले टक्साएको क्षेत्रबाट धेरै टाक्सिएकाको घेरो चिर्दै नैनसिंह महरले विचारको पिलपिले बत्ती होइन निकै टाढाबाटै देखिने र अनुभव गर्न सकिने गरी हजारवाटको वैचारिक बिजुली नै बाल्न पुगेका छन् । महरले नेपाली कांग्रेसको गोदावरी महासमितिको मुखमा प्रस्तुत गरेको दृिष्ट पत्रमा एक सयभन्दा बढी विषयहरू उल्लेख छन् । ती मुद्दाहरू, ती विषयहरू पुस्तक लेख्न मात्रै होइन कार्यान्वयन कसरी गर्न सकिन्छ ? भन्ने सूत्रसहित छन् । महरले मेरो हृवाट्स एपमा पुस्तकको पूरा रूप पठाउँदै भनेका थिए : दाजु यो मेरो सानो प्रयास मात्रै हो । हेरिदिनु होला, पढिदिनु होला । अरू केही गर्नु पर्दैन ।
(ङ) महरको जाँगर, सुदूर सम्भावनाको दृष्टिपत्र :
महरले अरू केही नगर्न भने पनि मैले यस अघिका उनका कृति पढेको छु । उनी नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदैदेखि उनीभित्र रहेको प्राज्ञिक जाँगर मैले अनुभव गरेको हुँ । साथीहरूसँग सम्वाद गर्न, आम नागरिकहरूसँग उचित व्यवहार गर्न, पार्टीमा निष्ठासाथ लाग्न र सीमान्तकृत विभेदमा परेकाहरूको उत्थान गर्न, नेपालको राष्ट्रियतालाई मजबुत गर्न, वर्तमान राजनीतिक प्रणालीलाई सशक्त, जनमुखी बनाउन, आवश्यक सुधारका सम्भावनाहरू पहिल्याउन महरको विचार, चिन्तन र कलम लागिपरेको देखिन्छ । अनेक युवा नेताहरू छन् जो देशलाई नयाँ दिशा दिने दाबी गर्छन् तर त्यो नयाँ दिशा कुन हो ? भन्ने प्रश्नको उत्तरमा ठोस विचार दिन सक्दैनन् वा दिन चाहँदैनन् ।
एकपटक युवा भएर तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका घनश्याम भुसालले विचार बहस गर्दै सिंगो कृति अर्थ राजनीतिबारे प्रकाशित गर्नुभएको थियो । राष्ट्रको मूल्य, सांस्कृतिक पहिचानको आधारका रूपमा वामपन्थी लेखक लोककृष्ण भट्टराईले निकै भीमकाय कृति लेख्नुभएको छ । त्यसो त डा. चैतन्य मिश्रको कृति बेजोडभित्र पर्छ । तर, कुनै राजनीतिक दलका सन्दर्भमा विचार आन्दोलन उठाउने शैलीका कृति निकै कम छन् । राप्तीबाट निमबहादुर ओलीले एकपटक निकै जाँगर चलाएका थिए, कांग्रेसका लागि । उनको त्यो जाँगर कति फलदायी भयो, थाहा भएन । तर, महरको यो दृष्टिपत्र आजको लोकतान्त्रिक आन्दोलन र खासगरी नेपाली कांग्रेसका लागि महत्वपूर्ण दस्तावेज हो । महरले एक लाख ३७ हजारभन्दा बढी सुझावका आधारमा १२६ पृष्ठको दृष्टिपत्र महासमितिमार्फत पार्टी पंक्तिमा पुर्याएका छन् । अब अर्को महाधिवेशनसम्म उनले यही विचार पत्रमाथि विमर्शको योजना बनाएको जानकारी दिँदै मसँग भनेका थिए ः त्यसबेला पाएका सुझावहरूका आधारमा पुनः परिमार्जन हुनेछ ।
(च) दृष्टिपत्रले सुदूर दृष्टि बनाओस्, शुभकामना
बिपी विचारको अनुशीलन गर्दै देउवाको जमिनबाट उदाएका महरको विचारले भोलिका दिनमा कांग्रेसलाई उचित मार्ग प्रदान गरोस्, वर्तमान राजनीतिक प्रणालीलाई सबल बनाओस्, कांग्रेसमा विचारका साथ नेतृत्व पुस्ता निर्माण गरोस्, नेपाली जनता र नेपालको भविष्य समुज्जवल पार्ने आचरण विकास गरोस् र लोकतान्त्रिक संस्कृतिलाई जनतासम्म पुर्याउने काम गरोस्, शुभकामना छ ।







Breaking news with related posts