मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको फेब्रुवरी १६ मा जेलमै मृत्यु भएपछि अब उहाँकी पत्नीले राजनीतिमा आउने संकेत गर्नुभएको छ । नाभाल्नीको मृत्यु पुटिनकै कारण भएको दाबी गर्दै नाभाल्नीकी श्रीमती युलिया नवलनायाले राजनीतिमा आउने संकेत गर्नुभएको हो ।
युलियाले नाभाल्नीको युट्युब च्यानलमा एक भिडियो सार्वजनिक गर्दै नाभाल्नीको मृत्युका लागि पुटिनलाई जिम्मेवार ठहर गर्नुभएको छ । युलियाले नाभाल्नीको मृत्युको खबर रुसी सरकारी स्रोतबाट आएकाले उक्त खबरमै शंका व्यक्त गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पुटिनविरुद्ध दृढतापूर्वक उभिन आग्रह गर्नुभएको छ । युलियाले पछिल्लो दुई वर्षदेखि नाभाल्नीलाई नदेखेको पनि बताउनुभएको छ । नाभाल्नीलाई आर्कटिकको जेलमा राखिएको थियो । आफ्नो श्रीमानको मृत्युको खबर पाएपछि युलियाले म्युनिख सुरक्षा सम्मेलनमा भन्नुभयो, ‘यदि यो सत्य हो भने पुटिन, उनको सरकार र उनका सहयोगीहरूले हाम्रो देश, मेरो श्रीमान् र मेरो परिवारलाई जे जे गरे, त्यसको जिम्मेवारी लिनुपर्छ । त्यो दिन चाँडै आउँदैछ ।’
समाचार अनुसार युलियाले भन्नुभएको छ, ‘म यस दुष्टलाई परास्त गर्न सम्पूर्ण विश्वलाई एकजुट हुन अपिल गर्छु ।’ नभाल्नीको मृत्युको बारेमा रूसी जेल अधिकारीहरूले शुक्रबार औपचारिक जानकारी दिएका थिए ।
उहाँले नाभाल्नीको कामलाई अगाडि बढाउने प्रतिज्ञा गर्दै देशको लागि लड्न तयार रहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो लडाईमा तपाईंहरू सबैले मलाई साथ दिनुहोस् भन्ने म चाहन्छु । म चाहन्छु कि तपाईं सबैले हाम्रो भविष्य नष्ट गर्न खोज्ने व्यक्तिको विरुद्ध आवाज उठाउनुहोस् । मलाई थाहा छ हामी के गर्न लागेका छौं असम्भव देखिन्छ, तर हामीसँग अर्को विकल्प छैन । हामीले यो प्रयास गर्नुपर्छ । म चाहन्छु कि हाम्रा दुवै बच्चाहरू स्वतन्त्र रूसमा बसोस्, जुन स्वतन्त्रताका लागि नाभाल्नीले आफ्नो जीवन दिनुभयो । उनीहरूको बलिदान खेर जानु हुँदैन ।’
२०२१ देखि रुसमा हिरासतमा रहनुभएका नाभाल्नी आर्कटिकको सबैभन्दा चिसो जेलमा कैद हुनुहुन्थ्यो, जहाँको तापक्रम माइनस २८ डिग्रीसम्म झर्ने गर्दछ । नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुनुहुन्थ्यो । हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आउनुभएको थियो । उहाँ भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि हुनुहुन्थ्यो । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उहाँ उम्मेदवार बन्न खोज्नुभएको थियो तर उहाँलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । नडराई बोल्ने ब्लगरका छवि बनाउनुभएका उहाँलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उहाँका केही समर्थक साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए ।






