काठमाडौं । आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तीव्रता दिँदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । उक्त सुधारसँगै ती क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मधेश प्रदेशका दुर्ई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकलाई थप सुधारिएको मोबाइल ब्रोडब्याण्ड र कनेक्टिभिटी पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ । फोरजी सेवामा सुधार भएका क्षेत्रमा औरही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहारपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायत रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट ग्राहकले फाइदा लिन सक्ने भएका छन् । देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा फोरजी सेवा सुधार गरेको थियो ।
साथै कम्पनीले तीनवटा डबल मजा प्याक पनि सञ्चालनमा ल्याएको छ । ग्राहकले प्याकको भ्यालिडिटी समाप्तिअघि फेरि सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्त गरी फाइदा लिन सक्नेछन् । मधेश प्रदेशमा एनसेलले चारवटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षा कोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ । त्यसैगरी धनुषाधाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन वमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा एनसेलले पाँचवटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने एडप्ट ए स्कुल कार्यक्रममार्फत् छवटा विद्यालयलाई कक्षाकोठा निर्माण, खानेपानीको सुविधा, फर्निचर, शौचालय निर्माण र शैक्षिक सामग्री उपलब्ध गराएको छ । व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत हालसम्म देशभर विभिन्न सामाजिक कार्यमा एक अर्ब ८० करोडभन्दा बढी योगदान गरिसकेको कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता