काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँग आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको रूपान्तरणमा बाधक भएको टिप्पणी गर्नुभयो । हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रूपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरूपका रूपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरूलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्ने प्रधानमन्त्रीले बताउनुभयो । ‘सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठिक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ,’ उहाँले भन्नुभयोे, ‘यसपटक नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव केन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिम रूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसद्मा पढ्नुहुन्छ ।’
देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रधानमन्त्रीले बताउनुभयो । यसपटक संकटको निकास दिने जिम्मेवारीमा आफू रहेको बताउनुभयो । ‘म संकटको बेला प्रधानमन्त्री भएँ । देशलाई संकटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु,’ उहाँले भन्नुभयोे, ‘तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी हामीले छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाईकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।’ राष्ट्रिय योजना आयोगको समन्वयमा सम्पन्न ‘सोह्रौँ योजना र आगामी वर्षको नीति तथा कार्यक्रममाथि विज्ञहरूको सुझाव लिने कार्यक्रम’मा विभिन्न क्षेत्रका विज्ञहरूले सरकारले निर्दिष्ट गर्नुपर्ने कार्यदिशाका बारेमा सुझाव दिएका थिए ।
यसैबीच, ‘प्रचण्ड’ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने पनि जानकारी दिनुभयो । आठौँ नुवाकोट महोत्सवलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो । ‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिति तथा पर्यटकको आगमन वृद्धि भएको छ’, प्रधानमन्त्रीले प्रचण्डले भन्नुभयो, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्दत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।’ बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले नुवाकोट दरबारको पुनर्निर्माणमा सरकारले ध्यान दिने बताउनुभयो । सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।






